लेख विचार/वहस

लोप नहुन् हाम्रा लोकबाजाहरु

हामीलाई आनन्द दिने, दुःख – सुख बाँढिचुढी गरेर मन बहलाउने हाम्रा गीत संगीतहरु नै हुन् । गीत संगीत जीवनका आलोक हुन् । जीवनलाई खुसी तुल्याउने हाम्रा गीत संगीतहरु नै हुन् । मन भुलाउने, जागृत गराउने, मनलाई शान्ति प्रदान गर्ने संगीतका धुनहरु हुन् ।

हाम्रो लोकसंस्कृतिलाई हिजोको पुस्ताले जोगाएर गयो तर नयाँ पुस्ताले अहिले जोगाउन सकेको देखिएन । किनकि, पश्चिमी संस्कृतिले देशमा कलियुग पो आउने हो कि भन्ने प्रतित भएको छ जनजनलाई । हिजो विवाह बन्धनदेखि पुराण, पाटी, उत्सव सबैमा लोक संस्कृति झल्किने गरिको बाजागाजा बज्थ्यो । आज ती सबै लोप हुँदै जानु भनेको हामी सम्पूर्ण नेपालीहरुको पहिचान झल्क्नुमा ह्रास हुनु हो । यो पुरानो पुस्तालाई चिन्ता छ । तर नयाँ पुस्तालाई भनें त्यतिसाह्रो चिन्ता छैन । तपाईं हिजोआज पुराणमा जानुहोस, बिहे र ब्रतबन्धमा जानुस्, लोकबाजाका धुन बजेको देख्न गाह्रो पर्छ । देखेपनि अर्काले गाएको लय र धुनमा जस्ताको तस्तै नक्कल गरेका पश्चिमी धुन सुन्न सक्नुहुन्छ अनि त्यसैमा कम्मर मर्काइ मर्काइ नाचेको र गीत गाएको भेट्नु हुन्छ । आखिर किन हामीले हाम्रो लोकबाजाको खासै संरक्षण गर्न सकिरहेका छैनौं, के कारणले र किन ? यसको सवालजवाफ नयाँ पुस्ताले दिनै सक्दैन । किनकि नेपालमा लोकबाजा र संस्कृति दिनानुदिन लोप हुँदै गएको छ । यो लोकबाजाको गरिमा छ त्यो के हो भने हिजो घरघरमा गइ सहनाई बजाउदा घरको रोग, बाधा, भूतप्रेत टाढा रहने धार्मिक मान्यता यसले बोकेको थियो । आधुनिक गीतसंगीत र नयाँ प्रविधिका वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने दमाहा, झ्याली, ट्याम्को, नरसिंगा, सहनाई सहितका पञ्चेबाजाले नेपाली संस्कृतिको मौलिकपना बोकेको हुन्छ । चासो घट्दै गएको छ । बढ्दो आधुनिक परिवेश र विदेशी कलाप्रतिको बढ्दो रुचिले हिजोआज गाउँघरका लोकबाजा हराउँदै गएका छन् । लोकबाजा संरक्षणमा वास्ता नगर्दा गाउँघरका पन्चै बाजाको मौलिकता हराउने क्रम नेपालभरी छ । चाडवाडका बेला घरघरमा लोक बाजा बजाउदै हिँड्ने लोकबाजाका शिल्पी अहिले कहिँ कतै मात्र फाट्टफुट्ट भेटिन्छन् । बर्षौदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोक पञ्चेबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेको छ भने एकातिर चासोमा कमी हुनु र अर्काेतिर गाउँघरमा पञ्चेबाजा बजाउन जान्नेको संख्या निरन्तर घट्दै जानु भनेको लोकबाजाको रौनकता घटदै जानु हो । बिहे, कर्मकाण्ड, ब्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, मेला, विभिन्न पूजा पाठ लगायत धार्मिक एवम् सामाजिक सांस्कृतिक मूल्य मान्यतामा नयाँ प्रविधिले गर्दा मौलिकतामा लोकबाजा ओझेल पर्दै गएको यसका संरक्षणहरुको गुनासो बढदो छ ।

हिजो दशंैमा पिङ राख्ने, विभिन्न लोकबाजाका धुन र लोकभाका प्रचलनमा थिए । क्लाट बाजा (यससलाई कालो बाजा पनि भनिन्छ) ले दशै आएको संकेत दिन्थ्यो । दशैं सुरु भएपछि क्लाट बाजामा मालश्रीका धुनले गाउँबस्तीमा बेग्लै रौनकता दिन्थ्यो । कुनै शुभ कार्य हुँदैछ भन्ने पूर्व संकेत गर्ने पञ्चेबाजा बिस्तारै हिजोआज लोप हुँदैछ । गीतमा धुन बज्छ तर सामुहिक प्रस्तुति भने देखिन्न । अहिले उत्सवमा पञ्चेबाजा होइन, ठूल्ठूला डिजे साउण्ड सिस्टमले वातावरण नै घुलमिल बनाइदिन्छ । आज पञ्चेबाजा सहित नेवारी समुदायको लाखे नाच, माझी समुदायको लदिपूजा लगायतका जाती र समुदाय विशेषका संस्कार, पर्व र कला संस्कृतिलाई जोगाउन अहिलेको नयाँ पुस्ताहरुले सकेनन् ।

हरेक समुदायको संस्कार र संस्कृति जोगाउन स्थानीय सरकार लाग्नुपर्ने हो तर त्यो पनि हुन सकेन । बिडम्बना यहाँ छ । नेपाल प्रशस्तै मौलिक बाजा भएको देश हो । सृष्टिको प्रारम्भदेखि नै मनोरञ्जनका साथै समयसंग विभिन्न ताल बाद्य यन्त्रको अविष्कार गरेका मानवले सफलता प्राप्त गर्दै आएको देखिन्छ । मादल, सारङ्गी, मुर्चुङ्गा,टुङ्ना, डम्फु, बाँसुरी जस्ता ठेट नेपाली बाजाहरुले नेपाल र नेपाली संस्कृतिको अस्तित्व राख्दै आएका छन् । नेपाली लोकबाजामा नेपाली ढुकढुकी बोलेको हुन्छ कथा ब्यथा बोलेको हुन्छ । समग्रमा भन्नुपर्दा लोकबाजाले राष्ट्रिय पहिचान पनि गराएको छ । नेपाली लोकबाजाहरु कुनै फुकेर बजाइन्छन् भनें कुनै रेटेर बजाइन्छन् । त्यसैगरी कुनै ठटाएर बजाइन्छन् । नेपालमा अहिलेसम्म १५६ वटा लोकबाजाहरु पत्ता लागेको छ भनें ती लोकबाजाहरु संग्रहालयमा राखिएको तर ती मध्ये धेरै चाँही गाउँ र सहरमा बजाउन बजाउन छोडिएको छ । तर यदाकदा यस्ता लोकबाजा बजिरहँदा हाम्रो उमेर समूहका लोकबाजाप्रेमीहरु यति खुसी हुन्छौ कि यी बाजाहरु अहिलेका नयाँ पुस्ताले संरक्षण गर्न सक्छन् या सक्दैनन् ? यो चिन्ताको बिषय हो । यसका लागि सम्पूर्ण सरोकारवाला पक्षहरुले लोकबाजाहरुको संरक्षणका निम्ति एकजुट हुनु अपरिहार्य छ ।

आज मेलाहरुमा स्थानीय बाजा नहँुदा मेलाको रौनकतामा समेत कमी हुँदै गएको छ । दमाहा बाजाको छुट्टै महत्व रहेपनि युवा पुस्ताले बजाउने चासो नदिँदा मेलाको महत्वमा खल्लोपन आएकोमा जनचासो बढ्न थालेको छ, पुराना पुस्ताको । हिजोआज बजारमा बग्रेल्ती आधुनिक बाजा आएपछि युवा पुस्ताहरुले दमाहा बजाउन खासै चासो देखाउन छाडेका छन् । बाजा बजाउने पेशागत रुपमा रहेका समुदायलाई राज्यले उचित संरक्षण र हौसला दिन नसकिरहँदा नयाँ व्यवसायतिर लागेको देखिन्छ । हिजोका दिनमा दिवा र रात्री शुभविवाह लग्न हुँदा यी बाजाहरुको कति हाइहाइ थियो । आज लोप हुन लागिरहँदा समेत स्थानीयदेखि संसदीय फाँटमा पदासिन नेताहरु समेत यसको संरक्षण र सम्वद्र्धनका निम्ति जुटेको देखिन्न । यतिमात्र होइन नेपाल गणराज्य भर कतै – कतै भने लोकबाजाको कसरी संरक्षण गर्ने ? यो सम्म ज्ञान बोध गरेर पुरुष र महिलाहरू विभिन्न संघसंगठनका व्यक्तिहरुले छुट्टै तालिमको व्यवस्था गरेर यसलाई प्रवद्र्धन गरेको देखिन्छ । यो एउटा सह्राहनीय कार्य हो । यसलाई चौतर्फी तालिम दिन सकेमात्र लोकबाजाहरुको संरक्षण गर्न सकिन्छ । राज्यले ‘बाजा हाम्रो पहिचान हो, लोक संस्कृति हो, विविधता हो, गरिमा हो, परिचायक हो’ भन्ने कुरालाई राज्यले कदापि भुल्न हुन्न । लोकबाजाको रक्षा र जगेर्नाकालागि समाजकै सचेत समूहले अगुवाइ गर्नु आवश्यक छ । नागरिक समाज, अधिकारकर्मी, राजनीतिक समूह, सामाजिक संघ – संस्थाले नेपाली समाजको मौलिकतालाई स्थापित गरी राख्न तर्फ ध्यान दिनुपर्छ । लोकबाजा र लोकभाकाको संरक्षणकालागि दीर्घकालीन योजना बनाउने, नागरिकलाई मौलिक बाजाका बारेमा सचेत गराउने तर्फ आवश्यक सचेतनामूलक कार्यक्रम पनि गर्नु जरुरी छ । आधुनिक प्रविधिको विकासले लोकबाजाको अभ्यासलाई केही सजिलो बनाएजस्तो देखिएपनि लोकबाजा बजाउने र लोकभाका गाउने अभ्यास बिना आधुनिक प्रविधिले पनि स्रोत पाउन सक्दैन । यसर्थ आधुनिक माध्यमको प्रयोग गरिरहँदा धरातलको रूपमा रहेको लोकबाजा बजाउनुपर्ने कामलाई जीवन्तताकोलागि गम्भीर भएर ध्यान दिनु जरुरी छ । नयाँ पुस्तामा पश्चिमा गीत र संगीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता विविध कारणले पनि रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बासुरी, खैजेडी, डम्फू, मौरीबाजा, सारङ्गी, पियानो जस्ता बाजाहरु हिजोआज लोपहुँदै गएका छन् । कुनैबेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजाहरु क्रमशः हराउँदै गएपछि मौलिक धुन पनि हराउँदै गएकोमा लोकगीत र लोक संगीतका पारखीहरुले समेत चिन्ता र जनचासोको रूपमा लिइरहेका हुानाले यसको संरक्षणका निम्ति सबै एकजुट भएर हराउँदै गएको लोकबाजाहरुको लोप हुनबाट जोगाउनका निम्ति सबै लोकबाजा प्रेमीहरु जुटांै ।

You may also like