विराटनगर । कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ ।
संविधान दिवस मूल समारोह समितिको आयोजनामा सभागृहबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरी सहिद मैदानमा पुगेर सम्पन्न भएको थियो ।
प्रभातफेरीमा विभिन्न समुदायका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । सहिद मैदानमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्की, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, सरकारी निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन् ।
संविधान दिवसका अवसरमा सनिवार स्थानीय शहीद रंगशालामा आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु प्रदेश सरकारको प्राथमिकता हो भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख परशुराम खापुङ थिए ।