नेपालमा जलवायु परिवर्तन, जलवायु संकट, वातावरणीय समस्या, वातावरणीय प्रदूषण, हिमताल विस्फोट, जल प्रलय, वातावरण चक्रमा असन्तुलनको अवस्था लगायतका शीर्षकहरूमा केन्द्रित रहेर पत्रपत्रिकाहरूमा प्रकाशित लेखहरूमा छापिएका सारगर्भित विचारहरू बाट जनचेतना फैल्याउने कार्यहरू निरन्तर रूपमा भइरहेको छ ।
देशका संघीय सरकार, प्रादेशिक सरकार, र स्थानीय सरकारका सरोकारहरू पनि देशभित्रको वातावरणीय सुरक्षा चक्रलाई कसरी जोगाउने र सुरक्षित बनाउने भन्ने कुरामा केन्द्रित भइरहेको पाइएको छ । विश्वको वातावरणीय र पर्यावरणीय अवस्थालाई सुधार गर्न तथा क्षति र नोक्सानीहरूलाई अधिकतम रुपमा घटाउनका लागि र वातावरणीय सन्तुलन जोगाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा स्थापित विश्व जलवायु सम्मेलनले विश्व भरिकै सरकार प्रमुखहरूको अगुवाइमा र वातावरण वैज्ञानिकहरूको सल्लाह र सुझाव अनुसार विभिन्न किसिमका प्रस्तावहरू पारित गरी त्यसै बमोजिम विश्वभरिका सरकारहरूलाई वातावरण जोगाउन निर्देशन दिने कार्य प्रत्येक वर्ष नियमित रुपमा गर्दै आजसम्मको अवस्थामा आइपुगेको छ ।
संयुक्त राष्ट्र संघकै अगुवाइमा जलवायु सम्मेलन आयोजना गरिएकोले सबै देशका सरकारहरूको सुझाव अनुसार यसले सार्थक परिणाम दिने गरी निष्कर्षहरू निकाल्दछ र वातावरणीय सन्तुलनलाई जोगाउनुपर्ने कुरामा निरन्तर रुपमा आशावादी भइरहेको आश्वासन दिइरहेको देखिन्छ। तर आश्चर्यको कुरो जलवायु सम्मेलनले अनुमोदन गरेका प्रस्तावहरूलाई सम्मेलनका आयोजक धनी र विकसित राष्ट्रहरुले आफ्नो देशमा लागू गर्न स्वयम् नै हेलचक्र्याई गरिरहेका देखिन्छन् । जुन कारणले गर्दा वातावरणीय सन्तुलनको अवस्था अझ दिनप्रतिदिन बिग्रिँदै गइरहेको घटनाहरू विश्वमा डरलाग्दो ढंगले बढ्न थालेको कुराप्रति संवेदनशील हुनु जरुरी छ ।
विश्वको बदलिँदो वातावरणीय अवस्था र जलवायुको नियमित चक्रको परिवर्तन हुने संकेतले विश्वका धनी देशहरू पनि झस्किने अवस्था सिर्जना हुन थालेको छ । विश्वका अतिकम विकसित देश हरू तथा विकासशील अवस्थामा रहेका देशहरु भित्र प्राकृतिक संकटको अवस्था यति धेरै विकराल भइसकेको छ कि त्यसलाई सम्हाल्न र पुनर्नवीकरण गर्न पुस्तौ पुस्ता लाग्न सक्ने अवस्था सिर्जना हुँदै गइरहेको छ । प्राकृतिक स्रोत साधनहरूको दोहन अत्याधिक मात्रामा भइरहेको छ ।
औद्योगिक रासायनिक फोहोर र प्रदूषणले गर्दा वायुमण्डलमा मिथेन ग्यास र कार्बन डाइअक्साइड ग्यास लगायतका हानिकारक ग्यासहरू लगातार बढ्दै गइरहेको छ तथा जलवायु परिवर्तनको अवस्थाले सृजना गरेको संकटहरू बहुआयामिक रूपले वृद्धि हुन थालेको छ । हाम्रो वायुमण्डलमा रहेको पृथ्वी , जल, आकाश, वायु , अग्नि, लगायतका सबै पञ्चतत्वहरू यति धेरै संकटमा परेको छ कि संसारको अस्तित्व नै रहन्छ कि रहन्न भन्ने कुरा बारे पनि बहसहरू प्रारम्भ भइसकेको छ ।
हामी बस्ने पृथ्वीवासी हरूले नै जानीजानी यति धेरै मात्रामा वातावरणीय क्षति पुर्याइ पु¥याइरहेका छौँ कि त्यसलाई भन्नु साध्य छैन । वातावरण तातिँदैछ। वातावरण प्रदूषित हुँदैछ । वातावरण विनाश हुँदैछ। वातावरण यसरी नै बिग्रिँदै गयो भने कुनै दिन मानिस लगायत यस ब्रह्माण्डका सबै जीवनचक्र हरु सर्वनाश हुँदै धर्तीबाट हराउँदै जानेछन् भन्ने कुरा बारे यथार्थ ज्ञान हुँदाहुँदै पनि हामीले धर्तीको हरियो वातावरणलाई समेत जोगाउन सकिरहेका छैनौ ।
आज नेपालको वनसम्पदा तीव्ररूपमा विनाश हुँदै गइरहेको छ । हिमाल र पहाडी क्षेत्रहरूमा सदियौंदेखि रहँदै आएको बोटबिरुवा र वनस्पतिको हरियाली वनविनाशले गर्दा धेरै जसो ठाउँहरूमा समाप्त भइसकेको छ । सधैँजसो सेताम्यै देखिने हिमाल कालो देखिन थालिएको छ । तराई मधेस क्षेत्रकै शिवालिक क्षेत्र अहिले वातावरणीय विनाशको उच्चतम जोखिमको बिन्दुमा पुगिसकेको छ । चुरे भाबर क्षेत्र उजाडिएका छन् । चुरे क्षेत्रको सिरानमाथिसम्म मानव बस्तीहरू सघन रूपमा विस्तारित हुँदै गइरहेको छ ।
चुरे विनाशले गर्दा सम्पूर्ण तराई मधेशका क्षेत्रहरूको जैविक विविधता र प्राकृतिक विविधता उत्पादनको अवस्था, सिमसार क्षेत्रको अवस्था, सबै विनाश हुने र तत्पश्चात् सर्वनाश हुँदै जाने स्थितिहरु निम्तिन थालेको छ । हामीले चुरे क्षेत्रलाई जोगाउन सकेनौं भने माथिल्लो पहाडी क्षेत्रहरूबाट आउने बाढीहरूले चुरे क्षेत्रको अस्तित्वलाई नै धरापमा पार्ने र सम्पूर्ण मधेश तराई क्षेत्रको कृषि प्रणालीलाई मरुभूमिकरण गर्दै जाने र ध्वस्त पार्दै जाने अवस्थाहरु सिर्जना हुन लागिसकेको छ । यसलाई रोक्न हामी नै तत्पर हुनुपर्दछ। सरकारले संरक्षण गर्न खोजेको राष्ट्रपति चुरे बचाउ अभियान लगातार असफल हुँदै गइरहेको देखिएको छ। विश्वकै वातावरण धेरै तातिँदै जानाले र विश्वको तापक्रम प्रत्येक वर्ष १ डिग्री बढ्दै जानाले धरती लोककै वातावरणीय अवस्थामा ठूलो पराकम्पन चल्न थालेको छ ।
वातावरणीय असन्तुलनको अवस्थाले कृषि प्रणाली पनि परिवर्तन हुन थालेको छ । बालीनालीको उत्पादकता लगातार रूपमा घट्दै गइरहेको छ। खाद्यान्नको क्षेत्रमा नेपालको परनिर्भरता लगातार बढ्दै गइरहेको छ । नेपालको अन्नभण्डार मानिने तराई मधेस क्षेत्रमा पालैपालो सुक्खा, अनिकाल, बाढी, पहिरो ,जल जमाव, खडेरी पर्ने, अनावृष्टि हुने, खण्डवृष्टि हुने जस्ता समस्याहरूले गर्दा खेतीपाती गरेर जीवनयापन गर्ने किसानहरूको जीवन निर्वाह गर्ने क्षेत्र नै सखाप हुने अवस्थाले झन् नेपालको डरलाग्दो तस्बिर प्रस्तुत गरिरहेको छ ।
नेपालको मधेस तराई क्षेत्र भित्र भूमिगत जलको अपार सम्भावना भएपनि अहिले चर्को घामको कारणले गर्दा र धर्तीको हरियाली सकिँदै जाने कारणले गर्दा धर्तीभित्रको पानीलाई पनि सुकाइसकेको अवस्थामा पानीको सतह दिनप्रतिदिन तल तल पुग्दै गइरहेको छ । तराई मधेश क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू खासगरी सप्तरी सिराहा धनुषा महोत्तरी सर्लाही बारा पर्सा रौतहट कपिलवस्तु लगायतका जिल्लाहरूहरूका मानिसहरूलाई खानेपानीसम्मको पनि अभाव हुने स्थिति देखिन थालिएको छ । इनारहरूमा पनि पानी हुँदैन। चापाकल बाट पानी आउँदैन । पोखरीहरु बर्सातकालमा पनि भरिँदैन। यस्तो अवस्थामा हरियो वन नेपालको धन र नेपालको अन्न भण्डार भनिने तराई क्षेत्र पूर्ण रुपमा प्राकृतिक संकट र वातावरणीय संकट को अवस्था झेल्न बाध्य र विवस भइरहेको छ ।
हालसालै नेपालको रसुवा जिल्लामा हिमताल विस्फोट बाट निस्केको जल प्रवाहले जल प्रलयको रूप धारण गर्दा त्यहाँबाट निस्केको पत्याउनै नसक्ने बाढीले यति धेरै मात्रामा जनधनको क्षति र हानि नोक्सानी पुर्याइसकेको छ कि त्यसलाई सही रुपमा आकलन गर्न पनि सरकारलाई मुस्किल परिरहेको छ । नेपालको जलविद्युत आयोजना ध्वस्त भइसकेको छ । भोटे कोशीमा आएको बाढीले रसुवागढीदेखि लिएर नवलपरासीसम्मका बस्तीहरूलाई बगाएर लगिसकेको छ । अर्थतन्त्र ध्वस्त भइसकेको छ । मानिसहरूका लासहरूलाई समेत निकाल्न र पत्ता लगाउन सकिएको छैन । बाढीमा हजारौं मानिसहरू मरेको र बेपत्ता भएका छन् ।
बाढी प्रभावित व्यक्तिहरूको लागि सहयोग पु¥याउन नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत गुहार लगाइरहेका छन् । नेपाल सरकारलाई विश्वभरिकै ठुलठुला राष्ट्रहरूबाट सहयोगहरू प्राप्त भइरहेको छ । तर त्यतिले पनि समस्याहरूको समाधान हुने अवस्था देखिँदैन ।
यो सामान्य बाढी र हिमताल विस्फोट मात्र होइन यो घटना प्रकृतिले सुनियोजित ढंगले नेपाल माथि गरेको अन्याय हो । अहिले नेपाल सरकार तथा नेपालका बौद्धिक वर्ग तथा वातावरण विशेषज्ञहरूले जलवायु क्षतिपूर्तिको माग समेत अन्तर्राष्ट्रिय स्तरबाट गर्न थालेका छन् । जलवायु सम्मेलनले वातावरणलाई जोगाउन सहयोग गरेका मुलुकहरूलाई जलवायु क्षतिपूर्ति दिने वाचा र प्रतिबद्धता जनाएका छन् । जलवायु क्षतिपूर्ति तिर्ने प्रतिबद्धता अनुसार जुन मुलुकले जति प्रतिशत वातावरणलाई क्षति पुर्याएका छन् ती मुलुकले त्यही आधारमा वातावरण बाट क्षति पुगेका मुलुकहरूलाई वातावरणीय क्षतिपूर्ति शीर्षक अन्तर्गत जलवायु क्षतिपूर्ति रकमहरू उपलब्ध गराउने कार्य गर्नुपर्दछ ।
नेपालले विभिन्न चरणहरूमा वातावरणीय क्षतिपूर्ति रकमहरू पटकपटक पाइरहेको अवस्था पनि देखिएको छ । तर विचारणीय पक्ष के रहेको छ भने वातावरणीय क्षतिपूर्तिबाट प्राप्त भएको रकमहरूलाई हाम्रो सरकारले वातावरण जोगाउन सदुपयोग गरेको छ कि छैन भन्ने कुरामा पनि चासो राख्नु जरुरी छ ।
नेपालले थोरै मात्रामा भएपनि वातावरण बिगार्ने काम गरिरहेकै छ । नेपालका सहरी क्षेत्रहरू खासगरी झन् बढी प्रदूषित हुँदै गइरहेको छ । नेपालमा नेपालीहरूकै कारणले गर्दा पनि कति धेरै मात्रामा कार्बन डाइओक्साइड ग्यास र ओजोन लेयर लाई समेत क्षति पु¥याउने कार्यहरू भइरहेको छ त्यसको बारेमा पनि हेक्का राख्नु र विश्व वातावरण संरक्षणमा नेपालले पनि महत्वपूर्ण भूमिका खेल्नु जरुरी छ ।

Author

You may also like