शिक्षकको कुटाइबाट विद्यार्थीको आँखा ज्योति गुम्यो
बेलबारी/ बेलबारी–९ स्थित डाँगीहाट बजारमा रहेको डाँगीहाट लिटिल बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल मणिकुमार तामाङको कुटाइबाट एक विद्यार्थीको देब्रे आँखाको ज्योति गुमेको तथ्य बाहिरिएको छ ।
१३ वर्षीय आर्यन थारू, जो सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छन्, उनलाई केही महिना अघि कक्षा सञ्चालनको क्रममा कुटपिट गरिएको थियो। उक्त घटनामा भाटाले लागेको चोटका कारण आर्यनको देब्रे आँखा पूर्णरूपमा काम गर्न छाडेको चिकित्सकको निष्कर्ष छ । पीडित परिवारका अनुसार, प्रारम्भमा विद्यालयले उपचार खर्च व्यहोर्ने र घटना बाहिर नल्याउने सर्तमा पीडित पक्षलाई सम्हाल्ने प्रयास गरेको थियो । तर, लामो समय उपचार गरेपनि दृष्टि फिर्ता नआएपछि परिवारले यो घटना सार्वजनिक गर्न बाध्य भएको बताइएको छ ।
आर्यनका बाबु वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । आमाले भने, “विद्यालयले सबै उपचार खर्च दिने, पढाइ पूरा गराउने र घटना बाहिर नल्याउने सर्त राखेको थियो । त्यसैले यसबारे हामी लामो समय चुप लाग्यौं ।”
विद्यालयका प्रिन्सिपल मणिकुमार तामाङले आफूबाट गल्ती भएको स्वीकारेका छन् । “मबाट कमी कमजोरी भएको हो । माफ गर्नुहोला,” उनले छोटो जवाफ दिएका छन् ।
लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् । गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै लामिछानेले आइतबार निवदेन दर्ता गरेका हुन् । उनले आफूलाई प्रचलित कानुनविपरित थुनामा राखिएको निवेदनमा उल्लेख गरेका छन् । हाल लामिछाने रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो । उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो । यसअघि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।
जनमत पार्टीका कोषाध्यक्ष यादव पक्राउ
सप्तरी/ ठगी तथा अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरी ललितपुर ल्याउन थालिएको छ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जीसमेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनको विषयमा जनमत पार्टीमा आर्थिक विषयलाई लिएर विवाद समेत भएको थियो ।
गैरसरकारी संस्था बन्द हुँदै
दमक/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अन्ताराष्ट्रिय सहयोग नियोग (युएसएड)का कार्यक्रम रोक्दा नेपालको स्वास्थ्य सेवामा सक्रिय एनजीओ र आइएनजीओ बन्द हुन थालेका छन् । विशेषगरी युएसएडको बजेट लगेर स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै आएका ती एनजीओ र आइएनजीओ अहिले अमेरिकी सरकारले एडको बजेट रोकिदिँदा बन्द हुने अवस्थामा पुगेका हुन्।
पाठ्यपुस्तक सबैतिर पुगेको दावी
काठमाडौं/ नयाँ शैक्षिक सत्र सुरू भएसँगै सरकारले वैशाख १ गतेबाट देशभर नयाँ भर्ना अभियान चलाएको छ । यही शैक्षिक सत्रको लागि सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै नयाँ पाठ्यपुस्तक छापिसकेर ७७ वटै जिल्लामा चैत १२ गतेदेखि २५ गतेसम्म बिक्रीवितरण गरिसकेको छ । तर यतिखेर भइरहेको शिक्षक÷कर्मचारीहरूको आन्दोलनका कारण सम्बन्धित ठाउँमा पुस्तक पुगे पनि अधिकांश विद्यालयले लिएका छैनन्। शिक्षकहरूले विद्यालय नै बन्द गरेर चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा छन् ।
सदनमा रहनेले निषेधित तोड्नु उचित होइन– प्रचण्ड
दमक/ पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्न गरिने काम आन्दोलन नभई अपराध भएको दावी गरेका छन् । विराटनगरमा आइतबार एक मिडियाको वार्षिकोत्व कार्यक्रममा सो कुरा बताएका हुन् । मुलुक निरंकुशतातिर जान नसक्ने उल्लेख गर्दै उनले प्रतिगामीहरूले दलहरूको कमजोरी देखाएर खेल्न खोजेको बताए । प्रचण्डले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चुनौती दिएकोप्रति उनले असन्तुष्टि प्रकट गर्दै भने– ‘राप्रपा सदनमा पनि छ तर निषेधित क्षेत्र तोड्छु भनेर भन्न मिल्दैन। त्यो नमिल्ने कुरा हो । त्यो सफल हुन्न ।’