:— गोपाल झापाली –:
दमक/ जनअभिमत तथा मतदान बाट कायम भएको पद र जिम्मेवारी छोडेर नयाँ पदमा हाम्फाल्नेहरुको ठुलै संख्या देखिन थालेको छ । यस अघि पटक पटक सत्तामा पुगेका दल र तिनका नेता–कार्यकर्तामा मात्रै होईन, निर्वाचन गराउने मुख्य अभिभारा लिएको वर्तमान नागरिक सरकारका मन्त्रीहरु दलिय राजनीतिको मोह भन्दा टाढा देखिएनन् ।
पछिल्लो पटक सोमबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । यसैगरी, सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले पनि राजीनमा दिइसकेका छन् । स्वतन्त्र तथा युवा अगुवाको रुपमा दलिय आस्था विहिनको नागरिक सरकारमा उनलाई चुनाव गराउने दायित्व सहित मन्त्रीको जिम्मेवारी थियो । तर उनमा जागेको दालिय राजनीतिको मोहले परिवर्तनले दिएको जिम्मेवारी अवधी भरि टिक्न दिएन । रास्वपाको तर्फबाट आगामी चुनावमा उम्मेदवारी दिने तयारीका लागि उनले उम्मेदवारी दर्ताअघि नै मन्त्री पद छोडेका हुन् । त्यसो त नागरिक सरकारकै जिम्मेवारीमा रहेका मन्त्री कुलमान घिसिङ्ले यस अघिनै जिम्मेवारी छोडेर बाटो तताई सकेका छन् । दलिय प्रतिनिधी बिहिनको सरकारमै बसेर दलिय राजनीतिमा लागेका कारण यस अघिनै प्रधानमन्त्री सुशिला कार्कीले राजनीति गर्ने भए सरकार छोड्न भनि सकेकी थिईन् । उनको सुझाव अनुसारनै घिसिङ् सरकारबाट बाहिरिनेमा पहिलो भए भने बल्दु दोश्रो हुन पुगे ।
प्रदेश तहमा मुख्यमन्त्री भई सकेकाहरुमा पनि संघीय सांसदको मोह देखिएको छ, त्यो पनि प्रदेश सभाको सदस्य बहालनै रहेको समयमा । यसै क्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन् । आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन् । उम्मेद्वारी दर्ता सम्ममा यस्ता बहालवाला जिम्मेवारीहरु छोडेर प्रतिनिधी सभाको चुनावी मैदानमा जाने अरु पनि थप हुने सम्भावना देखिन्छ ।
फड्को हान्ने मोह
संघीय व्यवस्थामा तीन तहका सरकार छन् । नागरिकको सवै भन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । यहाँ पनि जनताकै मतबाट निर्वाचित जनप्रतिनिधीहरु रहन्छन् । तर केहि चर्चित जनप्रतिनिधीहरु भने स्थानीय तहको जिम्मेवारी पूरा गर्न आफुलाई प्राप्त जनमत अनुसारको जिम्मेवारी पूरा नगरि उपल्लो तहको सरकार चलाउने गरि चुनावी मैदानमा हामफालेका छन् ।
यस लाईनमा देखिएका छन्, काठमाडौँ महानगरका
एक तह….मेयर बालेन्द्र साह (बालेन), चितवनको भरतपुरम महानगरपालिकाकी मेयर रेणु दाहाल र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) । संघीय संसदहुँदै केन्द्रिय राजनीतिमा स्थापित हुने मोहले आफ्नो अवधी भन्दा अघिनै उनीहरुले स्थानीय तहको जिम्मेवारी छोडी सकेका छन् । नगरप्रमुखहरुको कुरो मात्रै होईन, स्थानीय तहको निर्वाचनबाट जिम्मेवारी पाएका उपप्रमुख तथा वडाध्यक्षहरु पनि वडाको जिम्मेवारी छोडेर संघीय निर्वाचन तर्फ मोडिएका छन् । यहि क्रममा धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले पदबाट राजीनामा दिए । उनको राजीनामा कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघाले स्वीकृत गरेका छन् । राजीनामा दिएपछि वडाध्यक्ष भट्टराईले निवर्तमान नगरप्रमुख हर्क साम्पाङलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि जितको शुभकामना दिएका छन् । नगर प्रमुख साम्पाङले पनि पदबाट राजीनामा दिएका छन् । अब उनीहरु आपसका प्रतिष्पर्धीको रुपमा चुनावी मैदानमा देखिने अनुमान छ ।
यस्तै ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न पालिका उपाध्यक्षबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट ओखलढुंगा जिल्लाको प्रत्यक्षतर्फ टिकट पाएकी थापाले गाउँपालिका अध्यक्ष अशोक कार्कीलाई राजीनामा बुझाएकी हुन् ।
स्थानीय तहका जनप्रतिनधीहरुको कार्यकाल अझै दुई वर्ष (२०८४ सम्म) बाँकी छ । २०७९ मा पाँच वर्षका लागि घरआँगनको सरकार बनेर सेवा दिने भन्दै प्रतिज्ञा गरेका उनीहरूले सांसद बन्ने मोहमा घरआँगनका नागरिकको मतलाई अवमूल्यन गरेको भनेर पनि टिप्पणी हुने गरेको छ ।
राष्ट्रिय सभाबाट प्रतिनिधीसभा
राष्ट्रिय सभालाई माथिल्लो संसद भनिन्छ । खासगरि कानून बनाउने सवालमा यो सदनको महत्वपुर्ण भुमिका मानिन्छ । प्रतिनिधीसभाबाट आएका नीति, कानूनहरुलाई परीक्षण र सन्तुलन कायम गरि थप परिपक्क बनाउन यसले काम गर्छ । तर प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदको जनसम्पर्क बढि हुने, बढिले चिन्ने र एक किसिमले भन्ने हो भने फुर्तीफार्ती बढि हुने भएकाले संघीय संसदकै यहि सदन पनि कतिपयलाई साँघुरो लाग्दछ । त्यसैले राष्ट्रिय सभामा हुँदा छँदाको जिम्मेवारी छोडेर प्रतिनिधीसभा तर्फ हामफाल्नेहरु यस पटक देखिएका छन् । त्यसैले राष्ट्रियसभाबाट समेत तीन जनाले राजिनामा दिएर प्रत्यक्ष निर्वाचत तर्फ लाग्ने मोह उजागर गरेका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिई सकेका छन् । श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।