दमक÷ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नंं ५ दमकमा भएको सर्वपक्षिय छलफलमा निर्वाचन आचारसंहिता पालना नभएको गुनासो आएको बताउँदै यसलाई गम्भीर रूपमा लिएर आचारसंहिता पालना गर्न र गराउन लाग्ने प्रमुख निर्वाचन अधिकृतसहित सरोकारवालाहरूले प्रतिबद्धता पनि जनाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । दुबै जनालाई पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मी सङ्ग्रौला लगायतले पनि चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
झापाका प्रमुख निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले निर्वाचनको कार्यक्रम सार्वजनिक भएर निर्वाचन अधिकृतको कार्यालय बसेपछि ३ पटक राजनीतिक दलका प्रतिनिधिहरूसँग तथा सर्वपक्षीय छलफल भइसकेको बताए । ‘‘आचारसंहिता पालना नभएको विषयमा गुनासो आएका छन् र त्यस्तो अवस्था पनि देखिन्छ,’’ उनले भने, ‘‘आचारसंहिता पालना गर्न हाम्रो अनुरोध छ र पालना नभए अब कारबाही सुरु गर्छौ ।’’
झापामा अन्य क्षेत्रहरूका कारबाही सुरु भइसकेको र आचारसंहिता पालना गराउन सचेत गराइएको लामिछानेले जनाए । झापामा राजनीतिक दलहरूले तड्कभड्कसहित घरदैलो अभियान गर्दै आएका छन् । ठाउँठाउँमा प्रचार सामग्रीहरू राख्ने कार्य पनि भएको भन्दै छलफलमा सहभागीहरूले आपत्ती जनाएका थिए ।
यसैगरी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आचारसंहिता पालना गर्न आग्रह गर्दै यो राजनीतिक दल र उम्मेदवारहरूका लागि नै भएको बताए । आचारसंहिता पालना गरेर भयरहित अवस्थामा निर्वाचन गराउन सबैको साथ र सहयोग आवश्यक भएको उनको भनाई छ । आचारसंहिता अनुगमन अधिकृतहरूद्वारा आचारसंहिता पालना भए नभएको विषयमा अनुगमन भइरहेको र त्यस आधारमा अघि बढ्ने उनले उल्लेख गरे । उनले भने, –‘झापा ५ लाई विशेष चासोका साथ हेरिएको जनाउँदै सबैको साथले मात्र निर्वाचन स्वच्छ र भयरहित बन्नेमा हामी विश्वस्त छौं ।’ नेकपा एमालेका नेता रोमनाथ ओली, संविधान सभा सदस्य दीपक कार्की, नेपाली कांग्रेस दमकका कार्यवहाक सभापति प्रेम भट्टराई, नेकपाका तिर्थराज बस्नेत, राप्रपाका टंकप्रसाद पाठक लगायतले आचारसंहिता कसैलाई लाग्ने र कसैलाई नलाग्ने हुनेजस्तो अवस्था देखिएको भन्दै सरोरकारवालाहरूको ध्यानकर्षण गराएका थिए ।