दमक/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी क्षेत्रमा चुनावी चहलपहल बढ्दै गएको छ । सहरका चोक–चोकमा ब्यानर, पोस्टर, सभा र भेटघाटले निर्वाचनको माहोल तातेको देखिन्छ । तर यसका विपरीत ग्रामीण भेगमा भने चुनावी माहोल लगभग शून्यजस्तै छ । गाउँका स्थानीयबासीहरू टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमार्फत सहरका गतिविधिको चर्चा मात्र सुन्न बाध्य छन् । उम्मेद्वारहरू तथा राजनीतिक दलहरूको ध्यान सहर केन्द्रित हुँदा गाउँसम्म चुनावी गतिविधि पुग्न सकेका छैनन् ।
ग्रामीण क्षेत्रमा उम्मेद्वारको प्रत्यक्ष उपस्थितिको अभावले मतदातामा चुनावप्रति उत्साह कम देखिएको छ । सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन् । राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू पनि औपचारिक प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन थालेका छन् । तर ग्रामिण भेग अझै आफ्नै दैनिकीमा व्यस्त छ ।
झापा कमल ६ का खेमप्रसाद आचार्य अझै सम्म कुनै पनि उम्मेद्वार गाउँ सम्म आई नपुगेको बताउँछन् । उनले भने, ‘यहाँ राजनीतिक गतिविधि त भई रहेका छन् तर उम्मेद्वारहरुनै चाँहि आएका छैनन् ।’ केहि दलले वडा देखि टोल स्तरीय सम्म समितिहरु गठन गर्ने, जनपरिचालन गर्ने लगायतका काम गरेको तर सघन रुपमा चुनावी कार्यक्रमहरु नदेखिएको उनले जनाएका छन् । ग्रामिण क्षेत्रका बासिन्दा अहिले खेतीको काममा समेत व्यस्त छन् । मकै गोड्ने, आलु खन्ने तथा तरकारी खेतीका काममा किसानहरु व्यस्त रहेका कारण समेत चुनावी चहल पहल न्युन देखिन्छ ।
अझ सिमावर्ती गाउँहरु त सुनसाननै छन् । भारतसँग सिधा जोडिएको सीमावर्ती क्षेत्र कचनकवलमा बसोबास गर्ने स्थानीय मतदाताले निर्वाचन हुँदैछ भन्ने जानकारी त पाएका छन्, तर ‘को–को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल रहेको बताएका छन् ।
कचनकबल गाउँपालिका–५ का पूर्णकुमार गणेश भन्छन्, ‘समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिलेपहिले चुनाव लडेर गएका नेताहरूको नाम त थाहा छ, तर यसपालि नयाँनयाँ को आउँदैछन् भन्ने थाहा छैन ।’
उनका अनुसार अहिलेसम्म न त पुराना दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवारी दिएका कुनै व्यक्ति नै स्थानीय बस्तीमा आइपुगेका छन् । “भोट माग्न त चुनाव नजिकिँदा आउँलान् भन्ने आशा छ”, उनी भन्छन्, “तर अहिलेसम्म त कोही देखिएका छैनन् ।” कचनकबल–५ कै इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजाम पनि यही गुनासो दोहोर्याउँछन् । उहाँहरूका अनुसार राष्ट्रियस्तरमा चर्चामा रहेका राजनीतिक दल, तिनका शीर्षनेता र समग्र राजनीतिक घटनाक्रमबारे दुर्गम बस्तीका मतदातासमेत जानकार देखिए पनि, आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसँग भने सम्पर्क हुनसकेको छैन ।
स्थानीय इद्रिस मियाँ भन्छन्, “रेडियो, मोबाइल र फेसबुकबाट काठमाडौँलगायत चर्चामा रहेका निर्वाचन क्षेत्रमा नेता के गर्दैछन् भन्ने थाहा हुन्छ । तर यहाँबाट चुनाव लड्ने मान्छे को हो भन्ने नै थाहा छैन । उम्मेदवार आफैँ नआउँदा कसरी चिन्ने ?” सीमावर्ती क्षेत्रका मतदातामा राजनीतिक दल र उम्मेदवारप्रति देखिएको यो दूरीको मुख्य कारण भने निर्वाचनमा देखिँदै आएको पुरानै प्रवृत्ति भएको उनीहरूको बुझाइ छ । “चुनावका बेलामा मात्रै बाचा गर्छन्, भोट माग्न आउँछन्, जितेपछि फर्केर हेर्दैनन्”, जमालुद्दिन मियाँको गुनासो छ । उनका अनुसार स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, स्वच्छ खानेपानी, सिँचाइ र रोजगारीजस्ता आधारभूत समस्या वर्षौदेखि उस्तै छन् ।
यस क्षेत्रका मतदाताहरूले चुनावी उम्मेदवारसँग ठूला भाषणभन्दा पनि आफ्ना दैनिक जीवनसँग जोडिएका यथार्थ समस्या समाधानको अपेक्षा गरेका छन् । तर अहिलेसम्म उम्मेदवारहरू नै गाउँ नपुगेकाले आफ्नो आवाज कसरी राख्ने भन्ने अन्योल उनीहरूमा देखिन्छ । यद्यपि, केही मतदाता भने मतदानको दिन अझै समय बाँकी रहेकाले उम्मेदवारहरू ढिलोचाँडो आइपुग्ने विश्वास व्यक्त गर्छन । “अहिले औपचारिक प्रचार सुरु भएको छैन । समय आएपछि उम्मेदवार आउने नै छन्”, पूर्णकुमार गणेश भन्छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आगामी फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ ।

Author

You may also like