:– नरेन रिजाल –:
राजनीति विचार हो, सेवा हो, परोपकार हो । यसलाई पेशा ब्यवसाय वा आम्दानीको माध्यम बनाइयो भने राष्टूमा तनाव, सिर्जना हुन्छ । वर्तमान नेपालको राजनीति पेशा र दलालको अखडाको रूपमा तनाव, झगडा, दुव्र्यवहार, व्यविचार, हिंसाको रूपमा विकसित भइरहेको छ । वर्तमान परिप्रेक्ष्यमा वैचारिक सिद्धान्त र निष्ठाको राजनीतिको कमी हरेक नेतामा देखिएको छ । विगतका चुनावहरू गहकिला एजेन्डा भन्दा गहकिला नोटहरूमा विक्रि भएको प्रमाणहरू यदा(कदा सुनिएको थियो । व्यस्तै आउँदो चुनाव पनि विना एजेन्डा लहैलहैमा उर्लिरहेको युट्युवका तस्विरहरूले देखाइरहेका छन् । यो आउँदो चुनावका लागि हालसम्म देखिएका ब्यक्ति, कार्यकर्ता, पार्टी र प्रवृतिहरुका बैचारिक र सैद्धान्तिक अभावहरु धेरै छन् ।
१) राजनैतिक चेतनाको कमि :– जनता जनता नै हुन् । आफ्नो ठाउँमा सबै किसिमका सुविधाहरू हुन् भन्ने चाहना सबैमा हुन्छ । त्यसैले जसले ति चाहना(हरु प्रति आश देखाउँछ वा माहोल बनाउँछ, त्यतातिर उनिहरुको झुकाव बढ्नु स्वभाविक हो । तर यहाँ जनतामा हैन नेतामा राजनैतिक सोच चिन्तनको कमि देखिएको छ । नेताले जनता सामु आफ्नो पार्टीको विचार, सिद्धान्त, लक्ष्य, क्षमता प्रस्तुत गर्नु पर्नेमा त्यसको विपरित प्रतिद्वन्दिको आलोचना गर्ने, खुट्टा तान्ने, खुइल्याउने प्रवृत्ति र द्वन्द सिर्जना गर्ने, भड्किला, अपाच्य, असहिष्णु शब्द प्रयोग गरेको पाइन्छ । त्यसले नेतृत्वमा नै राजनैतिक चेतना कम छ भन्ने वुझ्न सकिन्छ ।
२) निष्ठाको राजनितीको अभाव :– कुनै पनि सिद्धान्त प्रति श्रद्धा राख्नु, विचार मान्नु निष्ठा हो । यहाँ नेतृत्व वर्गमा त्यो निष्ठाको अभाव देखिन्छ । सिद्धान्त प्रति गहिरो अध्ययनको कमि, मपाँइत्व बढ्नु, होहल्लामा मस्त रहनु, हावादारी कुराको प्रचार प्रसारमा लाग्नु नै निष्ठा भन्दा पर हुनु हो । नेतामा त्यहि कुराको कमि देखिन्छ । जनता सामु गरेका प्रतिज्ञालाई आत्मसाथ गरेर प्रजातान्त्रिक घोषणा पत्रको मान्यता अनुसार सेवा भावले कार्य गर्ने हो भने हाम्रो देशको मुहार फेर्न धेरै समय लाग्दैन ।
३) सस्तो लोकप्रियता ः( कसैलाई पनि लोकप्रिय बन्न लामो समयको संघर्ष चाहिन्छ । हाल धेरै जसो पार्टी नेताहरूमा सस्तो लोकप्रियताको लागि ठूलो महत्वकांक्षाले ठाउँ ओगटेको छ । अण्डा कोरल्नु अगाडि चल्ला नगनेकै राम्रो जस्तो लाग्छ । यो अलोकतान्त्रिक पद्धतीले दिगो संदेश दिन सक्दैन । यसमा हामी जनता सजग भएर काम गर्नुपर्ने हुन्छ । हल्ला वा सामाजिक सञ्जालको भरमा मात्र विश्वास गर्नु, आकर्षित हुनु भनेको सस्तो लोकप्रियतामा फस्नु हो । त्यसैले यथार्थता बुझ्नु जरुरी हुन्छ ।
४) विगतका संस्कारको प्रभाव :– प्रजातन्त्र र गणतन्त्र पछि देशले धेरै अस्थिर सरकार र नेतृत्वको सामना गरेको छ । भ्रस्टाचार र विभिन्न काण्डहरू भोगेको छ। नेता र पार्टीमा गाली गलौज निच व्यवहार खुट्टा तान्ने प्रवृति नभएको होइन । यस्तो संस्कारको अन्त्य जेन जी आन्दोलन पछि समाप्त होला भन्ने लागेको थियो तर जेन जी को आन्दोलन नै औचित्यहिन सावित भए जस्तो छ । आउदै गरेको चुनाव लाई हेर्ने हो भने विगतको विचार, सोच, ढाँचा भन्दा फरक हाल(सम्म नयाँ देखिएको छैन । हुन त अझै केहि समय बाँकी छ तापनि शैलि र संस्कारमा खासै अन्तर आउँला जस्तो लाग्दैन ।
५) बाहिरी प्रभावको कारणः– विश्व परिवेशमा आएका विभिन्न परिवर्तनहरुको छिटा हाम्रो जस्तो देशले पनि भोग्नु पर्ने नियती हुन्छ । हाम्रो देशमा पनि त्यस किसिमका बाछिटाहरू आए र आइरहन्छ पनि । केहि समय अगाडि भएको जेन जी आन्दोलन पनि त्यसकै परिणाम हो । उत्तरी प्रभाव होस् वा दक्षिणी प्रभाव होस् वा पश्चिमी होस, यसमा हामी अछुतो रहन सक्दैनौ । त्यसले हुरि चलाउँछ, उडाउँछ, डढाउँछ, सखाप पार्छ । नेपाल जस्तो अस्थिर राजनीति भएको देशमा त झन दोस्रो, तेस्रो देशहरूको आँखा पर्नु स्वभाविक हो । पाश्चात्य शिक्षाको प्रभाव र थोपरिएको दर्शनले हामीलाई उभो लगाउँदैन । हामी स्वतन्त्र छौं, हामी हाम्रो अधिकार, र दायित्वलाई अरुको प्रभावमा नपरी एकत्रित भएर निर्णय लिन जब सम्म सक्दैनौं हामी अरुको जालमा परिरहन्छौं ।
६) दिर्घकालिन सोचमा कमि :– जसले नेतृत्व गर्न चाहन्छ उसको दिर्घकालिन सोच हुन आवश्यक हुन्छ । विना योजना गरिएका कार्यहरू क्षणिक सफल होलान् तर दिर्घ कालिन हुँदैनन् । नेपालमा सञ्चालित विकास योजनाहरू समयमा सम्पन्न हुन नसक्नु, बार्षिक बजेटको सानो हिस्सा मात्र खर्च हुनु भनेको विकासको गति नहुनु हो । यसले त्यो देशको दक्ष जनशक्ति, क्रयशक्ति, क्षमता, दूरदर्शिता, आर्थिक गतिविधि माथी प्रश्न खडा गर्छ । त्यसैले नेतृत्वकर्ताहरूमा लामो सोन्च हुन जरूरी हुन्छ ।
आगामी चुनावमा हामी त्यस्ता नैतिक, निष्ठावान, दुरदर्शी, क्षमतावान जनताको मर्म बुझ्ने जुझारू नेता छानौं ताकी नैतिक पतन, अदुरदर्शि र जनतासँग भाग्ने नहोस् । अस्तु ।

Author

You may also like