– ‘व्यंग्यनारान पाँडे’
ऐेंसेलु झाँगे आज सफा भएर आएकाे थियाे । धाेएर सुकाउँदा राम्राे नसुकी उठाएर सिरानेमुनि काेचेकाले हुनसक्छ, कच्याककुचुक देखिने भए पनि र केहीमा धुँवा लागेकाे खैराे नमेटिएकाे भए पनि सँधैभन्दा सफा कपडामा थियाे आज ऐंसेलु झाँगे !
घुँडासम्म लतरङ्ग मुगाकाे दाैरा, घुँडा-घुँडामा खुइलिएकाे नीलाे काेरियन जीनकाे गाेलीगाँठाभन्दा केही छाेटाे, डा. बाबुराम ब्राण्डकाे काने टाेपी (कान पछाडि पारेकाे) र त्यसमाथि बिहारी ब्राण्ड राताे गाम्छा बेरेकाे, खुट्टामा टाएरकाे चप्पल लगाएकाे थियाे उसले । निधारमा माथिदेखि तलसम्मै ठाडाे अनि कानका दुवै लाेति मुन्तिर र किल्किलेमा गाेलाे राताे टिकाे थियाे ! आज बिहानै दाह्री काटेकाे थियाे क्यार, जाडाेले हात कमेर हाेला, जताततै राैं भुसुक्कै छुटेका देखिन्थे । कति दिन हाे कि कति हप्तादेखि नमाझेका दाँत आज माझेछ र काप-कापका कत्ला यथावत् भए पनि मूल दाँतहरू सेता देख्न पाएकाे पहिलाेपल्ट थियाे जस्ताे लाग्याे पाँडेलाई । र, मुख्य कुराे चाहिँ आज ऊ सँधैं झैं कैलु बिहारीकाे लुकुबा ‘दारू दुकान’ नगई आएकाे छ्याङ्गै थियाे । र, सँधैकाे भन्दा अर्कै पाराकाे ‘भलाे शैली’-काे फुर्ति पनि उसमा सवार भएकाे अनुमान हुन्थ्याे ।….
ऊ सरासर पाँडेनेर आई नपुग्दै, सिँढीबाटै ठूलाे स्वरमा भन्याे -“अइबादन छ हए पाँडेजी !”…
पाँडेले पनि लगालगी हाँस्तै रेस्पाेन्स गर्याे -” हन आज त ‘चिटिक्ककाे बाउन्’ भएर पाे आएछाै त ? कतै कसैकाे सुद्धाइँ-उद्धाइँ, न्वारान्-बर्तमन, पुराण-उरान छ कि र कमाइ हुने भएर जुनी फेरेर पाे आयाै त हँ ? ल ठीक छ !”
उसले अनुहार खुम्च्याएर प्याच्च भन्याे -“के एत्राकाे सेटारिङ गर्छाै मलाई ? मलाई ‘आतेपाते’ पेसाे गर्ने कम्रेट हरिरामे जइसाे बाउन देख्याै कि क्या हाे हन ? छक्क पर्नु !” …
पाँडे सम्हालियाे । केही बाेलेन ।
उसले अनि बलैले मुड सपार्दै भन्याे -“आज चइँ म एउडा गुट निउज सुनाउन आइराँछु , बित्थाकाे प्यारप्यार गर्न हाेइन । अरू दशाेडा टपिकमा डिसस्स गर्ने फुर्सुत हाेस् न तपइँसित बाज्ने नै फुर्सुत हाेस् ।”
त्यति भनेपछि घाेक्राे फुलायाे अनि बाटाेतिर एकछिन एकाेरियाे र फेरि पाँडेतिर कुन्द्रे आँखाले हेर्दै भन्याे – “आज म तपइँकामा आउने जडुली के पराे भन्लाउ भने – हामेरू हामेरका ‘बा मउसुप’-काे पाटीका भक्तिमा पर्लाद जइसइ भक्त कार्रेकर्ता हम् भन्ने किल्लेरै छइँछ । एसखेप चइँ एस चइँ पाटीका बा मउसुप समेत हामेरका जम्मइँ माने टाेटलका टाेटलै उमेदारहेरू काेइ पनि नहार्ने लच्छिन आकाेआकै छ । तेइ शुब सन्धेसकाे पिउर इन्फाेरमिसन तपइँलाई सुनाम् भन्ने इन्ट्यान्सिन लेराकाे, तपइँ चइँ उल्टै किर्तङ्न भ-र बाउन् र साउन् भन्-र डाहुन् पाे गर्छाै ! …रै भा पनि…”
उसले फेरि एकछिन् मुन्टाे निहुरायाे र भन्याे -” हामेरलाई एसबाजीकाे भाेटाँ अरू कुराे कथुरेर पार लाग्ने छाँट उत्ति छैन – फ्याक्-ट र साँच्चाे चइँ कुराे । के गर्णे, अस्ति पाओर हाताँ हुँदा छिप्पेकाे राँगाेले कल्कलाउँदी पाडी देखे जइसाे उन्मतिएर मात्तिनु हुन्थेन ! तेसैकारन अैले अनपत्यारिलाे भया हम् भन्ने अैले झल्झली मसुस भइरछ ! रइ भा पनि उइ बिट्टिस गाेराहरकाे ‘पास इजिकल्टु पास’ उखान जपेर खुट्टाे कमाइया छैन केरे !”
ऊ भन्दै गयाे -” अस्ति मात्तै रासाेप्पाका उमेदार बाल्यान्ध्र साहाले काेनि कुन पर्साइँ जइसा भस्टचारी गरेर कुस्त धनी भका मान्छेकाे गाडी चढेकाे टपिकमा हामेरले नि अघाउन्जी कचेडा, गेजु, गुल्चे, ओरेइँ र पाटीका बाउबलीका रेड्याइँ र झडप-सिँघाैरी इत्तेदिका बलमा बखेडा नारेरै उधुमचटै गरियाे तर उत्ति दिनलाई काम दे-न साला ताे टपिकले । एलेक्सिनमा च्वाट्टै बाजी मार्ने हामेरकाे साे-उक्त रन्निति तुइएर फ्यात्तै भाे पढ्के !” …
पाँडे खत्खताएर एक प्याराग्राफ जति हाँस्याे र भन्याे -“अनि अघि त शुभ खबर सुनाउन आ’काे भन्थ्याै त ? कुराे त पिरलाे परेकाे पाे सुनाउँदैछाै त ?”
उसले झर्केर -“हत्तेरिका हउ, एता सुन न ।” – भनेपछि उसले फेरि स्वरकाे भाेल्यूम घटाएर भन्याे -“आउँदाे अगामी फागुन एक्काइस गते सुर्जे दक्छिनाएनकाे दित्तिआ तिथि बिबारकाे दिनकाे सुबसाइतमा हुने मद्देओधी एलेक्सिनकाे भाेटाँ हामेरलाई हामेरू डरलाग्दा रा’नैतिके भ’काले रा’नैतिक खेल्न मुख्खे चइँ बखेडा र उकुर्जी उठाउने टपिक मात्तै चाइँछ भन्ने मैले अग्गि नइ पस्ट गरिहालें, हाेइन्त ? तेस अन्सार अैले पुनहँ आर्काे उस्तै कचेडा- बखेडा गर्ने टपिक पुलिस डिपाटका परहरीले जुटाइदेका छन् । कुराे के भन्लाउ भने -हामेरका लागि माउसेतुङ सरहेका ‘बा मउसुप’-लाई एलेक्सिनकाे भाेटाँ सपाेट पुग्ने गरी एरपाेटमा दुबै हात माथि उठाउन ला’काे च्वाँक फाेटा त तपइँले पनि अबस्से देखेउ हाेला नि फेसुकाँ ? तेस्साे चइँ भएसि ह्वाँ मउसुपकाे भाेट पर्चार गर्णे बिसयेकाे आर्काे पाओरिलाे र इजिलाे टपिक हामेरले फेरि-पुनहँ पायाैं क्या ! एक् त जेस्ट नागृक, र दुई त, तिन्चार्खेप देशकाे एक्लै पर्दानमन्त्री खाइवरि बाक्साबाक्सै गाेद्राे पेस्टिच कमाका प्रसनालिटिककाे पनि अलल्ले धनीलाई तेसरी बेजाेत गरेर पुलिसका परहरीले हामेरलाई चाइँने ‘हल्लाकाे गम्तिलाे मसला’ देकाे बुद्नु पराे कि परेन ? अब हेर्लाऊ न, साेइ धट्नालाई बीउ बना’र साेइ पखेटा फैलाए जइसाे हात दुईतिर तेर्छाउन बद्दे भइसेका बा मउसुपकाे फाेटा हेराउँदै भाेट पर्चारलाई आग्गाे नबनाई काँ छाेडिन्छ । आर्का उमेदारका पच्छेमा भ’का अैलेका दूदमुखे भन्दा नि उत्ति उखरमाउलै फराक नपर्ने भुर्राहर्ले रिकाेम्यान गरेर बना’काे ज्यान्जी सर्खारले, हामेरका बा जइसा उमेदारलाई एस्सरी चाइनेकेरे तर्छा’र-डर्रा’र दुरुतस्यान गर्दैछ हए, गाेहार कि गाेहार भन्न साेतह पाइँछै पाइँछ नि । याे एस एलेक्सिनकाे भाेटाँ कम टेसिलाे मसला हुन्छ के त, तिन्का बाजेकाे खप्पर ! आहा क्या मज्जा आउने भाे अब चइँ दिन तीन-चारेक कि कति दिनलाई । तपइँले पनि हामेरका चउहात्तर वर्खे बूढा बालाई पुलिसका परहरीले तस्करलाई जइसाे बेभार गरेकाे कुराे फैलाेट गर्न हेल्-प गरेउ भने तपइँकाे पनि जै-कल्लेन हुन्छ र हामेरकाे पाटीकाे ए’किसिम देशकाे जिम्दारी खुरुक्क हामेरकै पाटीका फुल कन्टाेलमा वाफस घुर्ता हुनसक्छ ।”….
अनि ऊ एकाएक पाँडेकाे अलिक नजिक सरेर मुख अझ नजिक तिखार्दै र यताउति हेर्दै साउती गरे झैं स्वर दबाएर भन्याे -” हत्तेरिका हउ, कस्ताे कुराे नबुजेकाे ? बा मउसुपले हात पखेट्या’र परहरीलाई शरील च्याँख गराइराकाे फाेटा मार्केटमा आका मउकामा तपइँ खासमा जुन पाटीका भेडा भा पनि र जल्लाई भाेट हाल्ने जातक भा पनि केइ फराक पर्दैन। अैलेकाे चानस परेका मउकामा चइँ बाका पच्छेमा लु मैले भने अन्सार गर त , तपइँलाई जाँ पनि मासु-भात र बेयार, रम्, हुस्की र तेल-पानीकाे नखत ! जेमा पनि तपइँ म जइसै फ्रन-लइनमा ।… मालामाल पार्ने कन्टेक मेराे लु । के कस्सम खाम् ? तेसाे गर्नसक्ने बनाउँछै बनाउँछु- गाई खाने लु !… एउडै पाटीकाे ‘देखिन मात्तै’ पाे जान्नु र ढङ्ग पार्न सक्नुमा पाे छ त हउ याे गन्तन्त्रकाे अर्जिनल टेस क्या पाँडेजी ।….हामेरका कम्रेट-कम्रेनीहेरू कतिपए मात्तै हामेरकाे पाटीका मालिक-मुख्याका ओरिपरि सिन्सेरली हनुमाने र सति-सावित्री चन् र ती टाट पल्टेर सँद्दै म्याउँ-म्याउँ चन् । हामेरू धेरैपय चइँ सन्मुख पर्दा जुन पाटीकाे पनि ‘ओहाे कत्ति इमानी’ भनाउन सिपाला-सिपाल्नी चम् क्या ! भित्रभित्र अन्डाइरेकमा त हामेरू खेल्लाडी नि , फुटगाेलकाे पेले जइसै । … म तपइँलाई एत्ति सिक्लाइ गर्न आइरथें कि अन्तखेरि अब म हिडी पनि गएँ , मलाई हतार छ । लु, लाल अइबादन हए !”…
पाँडेले त्यसका गालामा हातकाे चिलाई मार्न आँटिसकेकाे थियाे, कसाे भाे काेनि, झाँगे त्यति कानेखुसी गरिसक्नासाथ कसरी उम्क्याे कसरी, थुक्क !….