- प्रवीण बाँनियाँ
हिजोसम्म काठमाण्डौं भाषा, साहित्यका लागि केन्द्र मानिन्थ्यो । काठमाण्डौँमा बसेर लेख्नेहरु राष्ट्रिय भैहाल्थे । काठमाण्डौँबाहिर बसेर लेख्ने मोफसल हुन्थे । आज त्यही अवस्था छैन । सिर्जना र हस्तक्षेपका हिसाबले मोफसल दिनहुँ समृद्ध र सम्पन्न बन्दैछ । बरु, काठमाण्डौँ नयाँ मोफलस बन्दैछ आज । केही तथ्य र आधारहरुले मोफसललाई यसको दाबेदार बनाउँदैछ । हिजोको केन्द्रमा बसेर लेख्नेहरु आज नयाँ मोफलसका लेखकको कित्तामा पुग्दैछन् । मोफसलबाट जन्मेका कवि, लेखकहरु आज साहित्यको अग्रभागमा छन् । ‘पश्चिममा घाम अस्ताउन मात्रै आउँछ’ भन्ने पश्चिम आज आफूलाई साहित्यको राजधानी दावी गर्दैछ । सधैँ सिमानाबाट मालसामान ओसार-पसार गर्ने र भन्सार असुल्ने काँकरभिट्टाले आज साहित्य उत्सव मनाउन थालेको छ । उसले अब भाषाका कुरा गर्नेछ । किताबका कुरा गर्नेछ । कला, संस्कृतिका कुरा पनि गर्नेछ । यो समयको स्वभाविक विकासक्रम हो । प्रगति हो । अरु उज्यालोको संकेत हो ।
पूर्वलाई राजनीतिक आन्दोलनका हिसाबले उर्वर भूमि मानिन्छ । त्यो भन्दा बढी साहित्यका लागि मलिलो मानिन्छ । पछिल्लो दशकमा पूर्वले धेरै विशिष्ट लेखकहरु उत्पादन गरिसकेको छ । आज केन्द्र भनिने काठमाण्डौँमा बसेर चर्चा र बजारसत्ता हाँसिल गरिरहेका थुप्रै पेसेवर कवि, लेखकहरु छन्, जो यहीँका उत्पादन हुन् । केहीकेही मोफसलमै बसेर पनि हस्तक्षेपकारी सिर्जना गरिरहेका छन् । लेख्नेहरुको लहर उस्तै छ । रहरै रहरमा लेखनको क्षेत्रमा आएकाहरुले केही लेखे र, पाखा लागे । लेख्ने क्षमता भएकाहरु लेखिरहेकै छन् । अझै थुप्रै आउनेछन् सिर्जनाकर्ममा ।
पूर्वेली युवा लेखक धनकुटे कान्छा लेखिरहनेमा पर्छन् । पूर्व उनको साहित्यिक कर्मथलो हो । सिर्जनाकर्ममा तीन दशक गुजार्दै गर्दा उनले नेपाली साहित्यलाई के-कति योगदान गरे, त्यसको हिसाब समय र साहित्यको इतिहासले अभिलेखन गर्ने नै छ । उनको रचनामूल्य उच्च छ । लेखनी उदेश्यमूलक र अर्थपूणर् छ । हस्तक्षेपकारी उपस्थिति छ । कलममा इमान्दारीता, निरन्तरता र दृढता छ । अब मैले धनकुटे कान्छा कस्ता लेखक हुन् भनेर पुष्टि गरिरहनु पर्दैन ।
आज कवि, लेखकहरुलाई बजारसत्ताले गम्लङ्गै अंगालो हालिरहेको छ । पुँजीवादी बजारको बाहुपासमा बाँधिन पाउँदा थुप्रै लेखकहरु उचालिएका छन् । यस्तो बेला त्यही बजारलाई साक्षी राखेर धनकुटे कान्छा आफ्ना शक्तिसाली गजलहरुमार्फत् पुनः साहित्यको केन्द्रमा अर्को हस्तक्षेप गर्दैछन् । प्रसङ्ग उनको नयाँ गजलसङ्ग्रह ‘डायस्पोरिक नोस्टाल्जीया’को हो, जसलाई ‘बोन्साई साहित्य प्रतिष्ठान, नेपाल’ले प्रकाशनमा ल्याएको छ । कृतिमा सरदर आयामका जम्मा ७० वटा गजलहरु सङ्गृहित छन् । यो उनको चौथों कृति हो । यसअघि उनका तीन वटा कृति प्रकाशित छन् । सीधा हिसाबमा हेर्दा उनका गजलहरु नेपाली गजलको समकालिन धारभन्दा पर छैनन् । विषयवस्तुको छनोट, सन्दर्भहरु समान लाग्छन् । प्रस्तुतिमा उनी मिहिन छन् । शब्दसंयोजन, भावको सघनता र विम्बहरुसँगको उनको तालमेल उत्कृष्ट लाग्छ । अधिकांश गजलहरु प्रवास भोगाइका निजी अनुभूतिहरुको संगालोको रुपमा आएका छन् । तिनै गजलहरुको सारसंक्षेपमबाट कृतिको नामाकरण गरिएको छ ।
उनले धेरै क्षेत्रमा काम गरेका छन् । उनी एक साहित्यिक सर्जक त हुँदै हुन्, सञ्चारकर्मी पनि हुन् उनी । उनले रेडियो स्टेशनमा मेनेजरका रुपमा सेवा पनि गरे । पत्रपत्रिकामा नियमित स्तम्भ पनि लेखे । स्कुल पढाउने काम पनि गरे । अहिले शिक्षकका रुपमा समेत चिनिएका छन् । विद्यालयमा सृजनशीलता पढाउने काम गर्छन् । दमकस्थित एक सरकारी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हाले । उसो त उनी कम्यूनिष्ट पार्टीको जिल्लास्तरका सक्रिय नेता/कार्यकर्ता पनि थिए कुनैबेला । पार्टीले व्यवहार, सिद्धान्त र निष्ठाको आदर्श विर्सिएपछि ६० को दशकको सुरुतिरै पार्टीलाई पिँठ्यु फर्कादिएछन् उनले । राजनीतिक फाइदा मात्र हेर्ने भए उनी निक्कै माथि पुग्थे तर उनमा साहित्यिक आदर्श थियो । उनी इमानदार व्यवहार बाँच्न चाहान्थे ।
समयसँगै पारिवारिक जञ्जिरताले गाँजिदै गए उनी । परन्तु, निकासको बाटो पहिल्याउँदै अरबतिर लागे । जीवनको सबैभन्दा उर्जाशील समयको करिब ३ बर्ष अरबमै बिताए उनले । अरब बस्दा पनि उनले साहित्य लेख्न बिर्सेनन् । उनको कलमले आराम लिएन कहिल्यै । उनको साँझ-बिहानको ड्युटीजस्तो बन्यो लेखनी पनि । यो कृति उतै परदेशमा तयार भएको रहेछ ।
गजल गेय विधा हो । थोरै हरफमा धेरैथोक भन्न सक्नु गजलको विशेषता हो । त्यो अवसर गजलले दिलाउँछ । भावनाको तादम्यता र प्रस्तुतिले गजललाई झनै सहज बनाइदिन्छ । त्यही भएर पनि धेरैले गजललाई भावना अभिव्यक्तिको भरपर्दो माध्यम ठान्छन् । धनकुटे कान्छा तीमध्ये एक हुन् ।
विशेषतः प्रस्तुत गजलसङ्ग्रह ‘डायस्पोरिक नोस्टाल्जीया’ प्रवास भोगाइका उनका निजात्मक अभिव्यक्तिहरुको संगालो हो । औसत गजलहरु उनले आफनो देश, घर, परिवार छोडेर टाढा बसिरहँदा ती प्रति मुखरित हुने भावना र सम्बोधनलाई दर्शाएका छन् । सीधै हेर्दा यी गजलहरु प्रवासी भोगाइका अनुभवहरु हुन् । प्रस्तुत गजलहरुमा भावगत पक्ष र प्रस्तुतिको तादम्यताले गजललाई ठूलो गुन लगाएका छन् । गजललाई हरेक तरहले पठनीय बनाउने उनले भरमग्दुर प्रयास गरेकै छन् । धेरै गजलहरु प्रवास भोगाइका भावनाबाट ओतप्रोत छन् । जे छन्, यथार्थ छन् । उनका औसत गजलहरु हेर्दा लाग्छ, प्रवासमै उनले सानो नेपाल राखेर बाँचेका रहेछन् ।
धनकुटेले गजललाई विरह-वेदना पोख्ने सस्तो माध्यम मात्रै बनाएका छैनन् । जीवन र प्रेमप्रति कुण्ठा मात्रै लेखेका छैनन् । गजलमा उनी संवेद्धनशील छन् । उनको मूल शक्ति भावनालाई कसरी सुन्दर तरिकाले अभिव्यक्त गर्न सकिन्छ भन्नेमै केन्द्रित छ । जीवनका दुःख र कष्टहरुलाई झिकेर त्यस ठाउँमा अरु नयाँ-नयाँ चिजहरु हाल्न चाहान्छन् उनी । जीवनलाई सुखहरुले सार्वभौम बनाउने प्रयास गर्छन् । दुःखहरुको पछाडि कहिल्यै पूणर्विराम लादैन भन्ने उनलाई थाहा छ । उकालो सकिएर ओरालो पनि आउँछ, आज अँध्यारोमै हिँड्यो भने भोलि बिहान हुन्छ, दुःखहरुपछि सुखहरु पनि आउँछन् भन्ने आसैआसमा उनी जीवनलाई भोग गरिरहेछन् । गजलमा उनी जति निरास छन्, त्यो भन्दा बढि आसावादी देखिन्छन्, कृतिभरिको उज्यालो पक्ष यही ।
खबरदार खतरामा देश छ
मूर्खहरुको इमान्दार सन्देश छ ।
‘‘‘‘‘‘‘‘‘‘‘‘..
आँखाबाट आँसु सधैँ दर्किनुको पीडा सोध
टाढा हुँदा मुटु सधैँ चर्किनुको मजा सोध ।
‘‘‘‘‘‘‘‘‘‘‘‘‘..
सबै कुरा गुमाउनु पर्दोरैछ ज्यून
समयको काँडेतार भाँच्न सकिएन ।
‘‘‘‘‘‘‘‘‘‘‘‘‘
तिमी सामु जून पनि चुक्छ अलिकति
तिम्लाई दुख्दा मलाई पनि दुख्छ अलिकति ।
धनकुटेले जीवनभरिलाई पुग्ने उज्यालो बटुलेका छन् । उनी पसिनाको कमाइलाई सम्पति ठान्छन् । इमान, आत्मासम्मानलाई जीवनको आधार मान्छन् । आज उनीसँग जे छ, त्यसमै खुसी छन् । बेलाबेला उनलाई जीवन अलि नमिलेजस्तो लाग्छ । त्यतिबेला जीवनको लय मिलाउन खोज्छन् उनी । बेलाबेला दुःखहरु, पीरहरु बढेजस्तो लाग्छ, त्यतिबेला दुःखहरुलाई घटाउन खोज्छन् उनी । गजल लेखन उनको सोख होइन । बरु, उदेश्यमूलक लेखनी हो । सिर्जनामा उनी वेइमानी गर्न जान्दैनन् । रचनामा गद्धारी स्वीकार्दैनन् । कला फगतः कलाका लागि मात्रै नभएर जीवनका लागि हो भन्ने मत छ उनको । समाजभन्दा पर गएर उनी बस्न सक्दैनन् । समाजबाट टाढिएर न उनका गजलहरु नै बाँच्न सक्छन् । उनका गजलहरुको अस्तित्व समाज र मानिसभन्दा पर गएर बाँच्च पनि सक्दैन । अब यहाँबाट हेर्दा धनकुटेका गजल कुन दर्जामा पर्छन्, त्यो म ठ्याक्कै भन्न नसकुँला । तर, यिनको रचनामूल्य छ । जुन दिन यस्ता गजलहरु रहँदैनन्, त्यो दिन अरु थुप्रै चिज रहँदैनन् ।
यो कृति आम मानिसको जनजीवनप्रतिको सम्बोधन हो । समकालिन समाजको सग्लो प्रतिवेदन पनि हो । प्रस्तुतिको चरम सुन्दरता, भावको सघन अभिव्यक्ति, विम्बहरुको लोभलाग्दो प्रयोग, शब्दहरुसँग खेल्न सक्ने खुबीको विशिष्टता आदि गजलका पहिला शर्तहरु हुन् । गजल लेखनको अनुशासनप्रति लेखक सचेतै छन् । अरु जे छन्, गजलमै छन् । पाठकसत्ता र बजारसत्तासँग जुध्ने जिम्मा कृतिलाई नै छाडिदिऊँ । पूर्वाञ्चलमा गजलको पुनर्जागरकको रुपमा इतिहास बनाएका गजलका अग्रज साधक धनकुटे कान्छालाई कुनै नयाँ नौलो परिचयको आवश्यकता छैन । अतः समकालिन नेपाली साहित्यमा पूर्वबाट धनकुटे कान्छाले आफ्नो परिचय स्थापित गरेका छन् र थप यस कृतिले पाठकहरुको मन जित्न सफल भएका छन् ।