पंकज दाहाल-
दमक, ९ असोज-
नेपालीहरुको महान चाड दशैं र तिहार नजिकिँदै गएको समयमा उपभोक्ता तथा सर्वसाधारणहरु नठगिउन् र उनीहरुको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भनेर झापाको दमकमा सघन बजार अनुगमन गरिएको छ । सोमबार बिहानदेखि शुरु गरिएको यो बजार अनुगमन आवश्यकता अनुसार अझै बाक्लो ढंगले गरिने पनि दमक नगरपालिकाले जनाएको छ । दमक नगरपालिका कार्यवाहक नगर प्रमुख रेगिना भट्टराई प्रसाईको नेतृत्वमा सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म दमकका विभिन्न ठाउँका मासु पसल, होटल, खुद्रा व्यापारको अनुगमन गरिएको हो । अनुगमनका क्रममा सडेगलेका र म्याद गुज्रिएका वस्तुहरु जफत गरिएको छ भने मानव स्वास्थ्यका लागि हानीकारक र घातक खाद्यवस्तु जफत गरेर फोहोरमैला प्रशोधन केन्द्रमा व्यवस्थापन गरिएको छ ।
अनुगमनका क्रममा होटल पसलहरुको सरसफाइको अवस्था र स्वच्छ खानेपानीको प्रयोग भएनभएको भन्ने बारेमा जानकारी लिइ व्यवसायी/व्यापारीहरुलाई त्यसमा सतर्कता अपनाउन सचेत गराइएको थियो । दमक-६ स्थित अम्बिका माछा फ्राईबाट ३ सय २० किलोग्राम भन्दा बढी अखाद्य माछा फेला पारी नष्ट गरिएको छ । कुहिएको अवस्थाको माछा सो परिमाणमा फेला परेपछि अनुगमन टोलीसंगै रहेको नगर प्रहरीले नियन्त्रणमा लिइ जफत गरेको थियो । माछा भारतबाट आयात गरिएको र गुणस्तरहीन पाइएको थियो । दमक नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरेर मरेका माछा विक्रीमा प्रतिबन्ध लगाएको थियो । तर अम्बिका माछा फ्राईमा भने सडेगलेको माछा विक्री वितरण हुँदै आएको जनगुनासो उपभोक्ताहरुले गर्दै आइरहेका थिए ।

अनुगमनकै क्रममा दमककै सगुन होटल, गणतन्त्र चौक दक्षिण दमक-८ स्थित सब्जी बजारभित्रका माछा पसल, त्यहाँ रहेका खाजा घरबाट अखाद्य माछा, रंग मिसिएको मासु समेत जफत गरिएको नगरपालिका बजार अनुगमन समितिकी संयोजक कार्यवाहक नगर प्रमुख भट्टराईले जानकारी दिइन् । त्यसक्रममा दमक चौकको पूर्वाञ्चल बेकरीमा पनि अनुगमन गरिएको थियो । टोलीले नयाँ बसपार्कमा रहेका ठेलागाडाका चटपटे व्यापारी, त्यहाँ रहेका होटलहरुमा समेत मानव घातक खाद्यवस्तुहरु विक्री वितरण भइरहेको भेट्टाएपछि ति वस्तुहरु नियन्त्रणमा लिएको थियो भने फोहोरका कन्टेनरमा फालिएको थियो । होटलहरुमा भने म्याद गुज्रिएका र सडेगलेका तथा फोहोरी खाद्यवस्तुहरु फेला पारेको थियो । कतिपय होटलहरुको भान्सा अन्यन्तै फोहोरी पाएपछि सफा गर्न भनेको थियो । मासुका परिकारहरु पनि फोहोरी ठाउँमा राखेको पाएपछि त्यसलाई सफा ठाउँमा राख्न भनिएको थियो भने त्यस्ता ठाउँमा भेटिएका मासुका परिकारहरु जफल गरिएको थियो । टोलीले दमक-६ स्थित मासु बजारमा पनि अनुगमन गरेको थियो । अनुगमन टोलीमा वडा नं. १ का वडाध्यक्ष हरि प्रसाद न्यौपाने, वडा नं. ६ का वडा सदस्य कमल कुमार श्रेष्ठ, नगरपालिका स्वास्थ्य संयोजक नगेन्द्र भट्टराई, खाद्य तथा क्वारेन्टाइनका अधिकारीहरु, दमक उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, नगर प्रहरी, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । बजार अनुगमन समितिले चाडवाडलाई लक्षित गरी अनुगमनको कार्यलाई तीव्र बनाउने जनाएको छ ।
उपभोक्ताहरुको स्वास्थ्य र हितलाई ध्यानमा राखेर यस्तो खाले अनुगमन वर्षैभरी गरिने कार्यवाहक नगर प्रमुख भट्टराईले बताइन् । उनले अहिले चाडवाड नजिकिएको समयमा उपभोक्ताहरुले धेरै सामान तथा खाद्यवस्तुहरु खरिद र उपभोग गर्ने हुँदा प्राथमिकताका साथ बजार अनुगमन गरिएको उनले प्रष्ट पारिन् । अनुगमनको कार्यले उपभोक्तालाई मात्र नभइ व्यापारी व्यवसायीहरुलाई पनि चनाखो बनाउने उनको भनाई थियो । खाद्य सुरक्षाको मापदण्ड विपरीत कार्य गर्ने व्यापारी व्यवसायीहरुलाई अटेर गरे र अहिले देखिएका कमजोरी तथा गल्तीहरु पटक पटक दोहोर्याए जरिवाना समेत गरिने दमक नगरपालिकाले जनाएको छ । दमकमा यस्ता बजार अनुगमनका कार्यहरु बेला बेला हुँदै आएका छन् तर सोमबारको अनुगमनमा व्यापारी व्यवसायीहरुले नजानेर पनि कतिपय खाद्यवस्तुहरु उपभोक्तालाई बेचिरहेको पाइएको थियो । त्यसैले कस्ता वस्तु विक्री गर्न हुन्छ र कस्ता वस्तु विक्री गर्न हुँदैन भनेर व्यापारी व्यवसायी तथा उपभोक्ताहरुलाई त्यस्ता वस्तु प्रयोग गर्न हुन्छ या हुँदैन भनेर सचेतना जगाउन समेत आवश्यक देखिएको छ ।
उता, दमक उद्योग वाणिज्य संघले पनि चाडपर्वको बेला व्यवसायीले थप सजकता अपनाएर अखाद्य अवस्थाका वस्तु तथा आफु खुसीले मूख्य बृद्धि नगर्न समेत आग्रह गरिएको अध्यक्ष गोपाल गुरागाईंले जनाए ।