दमक । जेन जीले गरेको आन्दोलनको तेस्रो दिन तोड्फोड् र आगजनीले तनावग्रस्त झापा जिल्ला बुधबारबाट सामान्य तर्फ उन्मुख भईरहेको छ ।
केही व्यवसायीहरुले आफ्ना पसल खोलेका थिए भने सिटी, प्राइभेट गाडी तथा मोटर साइकलहरु प्रशस्त चलेका थिए । बजार शान्त थियो । दमक प्रहरी थाना र नगरपालिकामा भएको आगजनीबाट फोहोर छरपष्ट थियो । स्थानीय बासिन्दा तथा जेन जीको भाईबैनीहरु स्वतः स्फुर्त उपस्थित भएर सरसफाई गरेका छन् ।
यसैगरी, बिर्तामोडका स्थानीयले शान्तिको कामना गर्दै सेतो झण्डा फहराएका छन्। उनीहरूले विर्तामोडको मुक्ति चोकमा भेला भएर सेतो झण्डा फहराउँदै शान्तिको कामना गरेका हुन्।
सोमबार र मंगलवार विर्तामोड क्षेत्र तनावग्रस्त बनेको थियो। विहानै सरसफाईमा निस्किएका स्थानीयहरूले सडकमा भएको फोहोर समेत सरसफाइ गरेका थिए।
कोशी प्रदेशका केही ठाउँमा लुटपाट भएको खबर आएपनि अधिकांश ठाउँ अहिले शान्तिपूर्ण बन्दै गएको छ । हिजो राति देखि नै नेपाली सेना परिचालन गरिए पछि नागरिक राहत महसुस गरेको थिए ।
विराटनगरमा बिहानैदेखि सेनाले सवारी, पैदल गस्ती गर्दै कफ्र्यु लागेको कारण ब्यवसाय बन्द गरेर शान्तिपूर्ण वातावरण सिर्जना गर्न आग्रह गरेको थियो। त्यसपछि सबैले नेपाली सेनालाई सहयोग गरेका छन्।
अहिले अहिले अधिकांश ठाउँमा नेपाली सेनाले गस्ती बढाएको छ। विराटनगरको भाटभटेनीमा लागेको आगो २२ घण्टादेखि नियन्त्रणमा आउन सकेको छैन। निरन्तर आगो लाग्दा आसपासका भूमि तातिएर फुल्न थालेको छ।
यसैगरी, नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षा कायम गराउन मङ्गलबार रातिदेखि परिचालित भएपछि यहाँको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ । अरिदमन गण चारआलीबाट खटिएको नेपाली
सेनाको सुरक्षा फौजले सुरक्षा गस्ती बढाएसँगै झापाको जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार आज बिहानैदेखि नेपाली सेनाले सडकमा निस्किएर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन ‘माइकिङ’ गर्दै सुरक्षा गस्ती बढाएको हो ।
सदरमुकाम चन्द्रगढीसहित जिल्लाका मुख्यमुख्य ठाउँमा नेपाली सेनाको सुरक्षा गस्तीले माइकिङ गर्दै बिनाकारण हिँड्डुल गर्नेलाई घर फर्काइरहेको प्रजिअ अधिकारीले बताए । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको उनले जानकारी दिए ।
मङ्गलबार प्रदर्शनकारीले झापाका एक दर्जन बढी सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयसहित राजनीतिक नेतृत्वका घरमा तोडफोड र आगजनी गरेपछि तनावग्रस्त बनेको यहाँको जनजीवन नेपाली सेनाले सुरक्षा गस्ती बढाएसँगै बन्दै गएको हो ।