माननीयहरूको सम्मेलन चलिरहेको थियो । एउटा चुनावपछि अर्को चुनाव आउञ्जेल चलिरहने सम्मेलन मात्र हो । र त्यो पूर्ण लोकातन्त्रिक छ । सम्मेलनमा जान आनिवार्य छैन । नगए पनि सबै ठिकठाक मिल्छ । भत्ता पनि आउँछ । सुबिधा पनि आउँछ । भन्सार छुटमा गाडी पनि आउँछ । श्रीमतीलाई साडी पनि आउँछ । त्यही भएर टन्टा छैन माननीयहरूलाई ।
कार्यक्रमको सुरूमै बिपक्षको बेञ्चबाट माननीय उठेर सार्वजनिक महत्वको प्रस्ताव राख्न समय मागे । अध्यक्षले ‘समय दिन मिल्दैन’ भने ।
‘किन मिल्दैन ? मूख्य कुरा महत्वपूर्ण हुन्छ । महत्वपूर्ण विषयलाई राख्न किन नपाउने ?’
‘उसोभए राख्नोस त ।’
‘धन्यवाद अदेक्ष जी । हावाहुरी आएर गाउँका, गाउँका त के, मेरा सबै मकै ढाल्यो । तुरून्त रोक्नु प¥यो …..।’
‘त्यो हावाहुरी रोक्ने कुरामा पहल गरिदिन सर्खारलाई निर्देशन गरिने छ ।’
यसैबीच सत्ता पक्षीय माननीय। जुरुक्क उठेर प्रतिवाद गरे, ‘यो आवश्यक छैन । सर्खारले यसमा खर्च गर्नु भनेको बेकारमा पैसा सक्नु हो । बालुवामा पानी हाल्नु हो ।’
‘माननीय ज्यू, यसरी अर्काले बोल्दै गरेको बेलामा बीचमा नबोल्नुहोला । आवश्यक समय म दिने नै छु यहाँको पालिमा ।’
मानीय रोकिएनन, प्रतिवाद पनि रोकिएन, ‘सारा जनताले बुझेको कुरा हो यो । वायुमण्डलको हावालाई किन रोक्नु ? तपाई सत्तापक्षका साथीहरुलाई त झनै आनन्द लाग्नु पर्ने आप्mनै प्रतिबिम्ब बारी बारीमा पाउँदा । टारी टारीमा पाउँदा ।’
अर्का सर्खारी सांसद उठेर सखारी सांसदको समर्थनमा बोल्न थाले, ‘हावालाई रोक्न पर्खाल लगाउनु पर्छ । कति खर्च लाग्छ, थाहा छ ? यो संभव छैन ।’
यसरी सर्खारी र बिपक्षी सांसदको जुहारी सुरु भयो । आफुलाई अब्बल साबित गर्न राता न पिरा भएर, गाला फुलाएर, घाँटी फुलाएर चिच्याउन थाले ।
‘हावाबिना संसार चल्छ ? हावामा भएको कार्वनडाइअक्साइडले हामीलाई सास फेर्न सहयोग पुग्छ । नत्र कहाँबाट सास फेर्नु ? यस्तो ज्यान जोगाउने कुरा पनि रोक्नु भन्न लाज लाग्नु पर्ने हो । तपैहरुको कुरा सुनेर लाजलाई पनि लाज लागि सक्यो होला !’
‘मेरो नियमापत्ति छ,’ अर्का ठालु सांसद कडकिए । ‘हावामा कार्वनडाइअक्साइड होइन, नाइटूोजन हुन्छ । त्यसमा भएको शक्तिले हामी बाँचेका हुँन्छौं । त्यसैले हावालाई रोक्नु हुन्न । निर्वाद चल्न दिनुपर्छ । नाइटूोजनले गर्दा धान मकै कसरी फस्टाउँछ ? मूर्खले मात्र हावा थुन्ने कुरा गर्छ ।’
बहस झनै कठीन मोडमा पुग्यो । सर्खारी सांसदको भनाई झनै कडा हुन थाल्यो, ‘हिमालमा धेर हावा चल्छ । त्यहाँका मान्छे कति दरा छन् ? तराइमा लु लाग्छ, त्यहाँका मान्छेको स्वास्थ्य कति कमजोर हुन्छ, थाहा छ ? युरोपमा धेरै हावा चल्छ, त्यहाँका मान्छे कति बलिया छन् ? ती पुस्तौं पुस्ता लडाईं मात्रै गरिरहन्छन् ।’
सार्वजनिक महत्वको प्रस्ताव राख्ने गैर सरकारी सांसद अब आक्रमक भएर उदाए,
‘यहाँ हावा मन पराउनुको कारण छ । नत्र किन यति धेरै प्रतिवाद ? यो कारण अब यहाँ भन्नै पर्छ । जनतालाई सुसुज्जित गर्न पर्छ । सत्य कुरा भन्नै पर्छ । यथार्थ कुरा भन्न अब ढिलो गर्नु हुन्न ।’
सर्खारी सांसदहरु जुरुक्क उठे र बोल्न थाले, ‘यस्तो काल्पनिक कुरा गरेर यो गरिमामय सदनको मान मर्दन गर्न पाइदैन । हामी जनताले जिताएर पठाएका जनताका प्रतिनिधि हौं । हावाबिना केही चल्छ ? हावा लिन नसकेर मेरो बाख्रोले यो संसार छाड्यो हिजो मात्रै । बाले हावा लिन सकिरहेका छैनन् । अब माथि नै जालान जस्तो छ । अनि ?’
‘हावाले अन्नबाली मात्रै सखाप पारेन, घरका छाना पनि उडायो । जब जब चैत्र, बैसाख र जेठ महिनाहरु सुरु हुन्छन्, हावाको तान्डव सुरु हुन्छ । यसपालि त झनै तमासा गरिरहेको छ । घरमा सुकाएका लुगा पनि उडायो । काँक्रा र घिरौंलाका थाँक्रा पनि उडायो । कुखुराको खोर, गाइको गोठ, सुँगुरको खोर पनि भत्कायो । आँपका पूmल सबै झारेर सक्यो । बिरुवाका हाँगा भाँच्यो । त्यही भएर हावाको व्यवस्थापन जरुरी भएको छ । म यो सर्खारसंग यसको नियन्त्रणका लागि जोडदार माग गर्दछु ।’
सर्खारी सांसद फेरि जुरुक्क उठे, अनि प्रतिबाद गर्न थाले, ‘मेरो यसमा नियमापत्ति छ । हावा छेक्न पाईंदैन । नत्र निसास्सिएर गइन्छ । नत्र किन पंखा लगाएको यहाँ ? किन एसी लगाएको यहाँ ? यस्तो कुरा पनि रोक्नु पर्छ भन्ने कुरा कहिं कतै कुनै संविधान र कानूनसंग मेल खाँदैन । र यस्तो जधन्य अपराध गर्ने काम सर्खारले गर्दैन ।’
बिपक्षी सांसद पनि किन टेर्थे ! बोल्न थाले झनै आक्रमक भएर, ‘सत्तापक्षका नेताहरुलाई, पर्धानमन्त्री र मन्त्रीहरुलाई जनताले सामाजिक सञ्जलभरी भनेको कुरा आज मेल खायो । यी सब हावा हुन् । आज तपैंहरुको कारणले हामी पनि हावा भयौं । हाम्रो नाम फेरियो । गोत्र फेरियो । पहिचान फेरियो । जात फेरियो । नाम फेरियो । मान्छेबाट रुपान्तरित भएर हावा भइयो । हामीलाई हावा बनाउने काम भएको छ । यसको जिम्मा तपैंहरुले लिनु पर्छ ।’
यस्तो गम्भीर कुरा उठेपछि सर्खारी सांसदहरु पनि गम्भीर भए । प्रतिबाद गर्न छाडेर सहमतिको कुरा निकाले । उनी उठेर बोल्न थाले ‘लु, अब हामी उक अर्कालाई खुइल्याउनतिर नलागौं । हावा पनि नभनौं । हामी जे छौं, महान छौं । गरिमामय छौं । किनभने हामी गरिमामय ठाउँमा बसेर बोलिरहेका छौं । यसर्थ अब एउटा सहमति गरौं । हाबा थुनौं । जसरी हुन्छ यसपालीको बजेटमा व्यवस्था गरौं । हामीलाई कुन्ताको हावा भनेर सबले उडाइराखेका बेलामा हामी आपैंm यस्तो आरोप प्रत्यारोममा नउत्रियौं । अब आजै सहमति गरौं । जसरी पनि हावा रोक्ने बजेट ल्याउने । र देशलाई संबृद्धितर्पm अघि बढाउने कुरामा प्रण गरौं ।’
यो कुरा विपक्षी सांसदहरुलाई नि मन परेछ । एकै स्वरमा कराउँदै ताली पड्काए ‘हावा रोक्छौं, रोक्छौं ।’
त्यसपछि सार्वजनिक महत्वको प्रस्ताप पारित भएको कुरा अध्यक्षले माइकमा पढेर सुनाए । त्यसको प्रत्यक्ष प्रसारण रेडियो, टिभि र इनटरनेका साइटहरुबाट भइरहेको थियो । जनता मुस्कुराएर हेरिरहेका थिए गरिमामय संसदका गतिबिधिहरु ।
– दमक, झापा