देश–समाज समाचार स्थानीय

तराई–मधेशको स्थिति सामान्य बन्दै

विमल लामिछाने
दमक/ डिजेबाजा बजाउने विषयमा सुरु भएको विवाद साम्प्रदायिक तनावका रूपमा फैलिएपछि अशान्त बनेको तराई-मधेशको स्थिति शुक्रबारदेखि सामान्य बन्न थालेको छ । सुनसरीको कप्तानगन्जमा अघिल्लो हप्ताको आइतवार बेलुका साउने सोमबारको ब्रतमा शिवको पूजा आराधनाको तयारीमा जुटेका युवाहरुविच भएको झडपले उग्र रुप लिएपछि घटना हिन्दु र मुस्लिमविचको अन्तरविरोधमा परिणत भएको थियो ।
असान्त बनेको स्थितिलाई सुरक्षा संयन्त्रले नियन्त्रणमा लिन खोज्दा भएको झडप र प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीका दुई युवकका परिवारसँग गृहमन्त्री गुरुङ आफैँ पुगेर सातबुँदे सम्झौता गरेपछि आफन्तले शुक्रबार शव बुझेर दाहसंस्कार गरेका छन् । सम्झौताअनुसार मृतकहरूलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने, परिवारलाई १० लाख रुपैयाँ राहत दिने, एक सदस्यलाई रोजगारी दिने र छानबिन गरी दोषीमाथि कारबाही गर्ने सहमति भएको छ । स्थानीय देवानगन्ज गाउँपालिका र कोशी प्रदेश सरकारले पनि राहत तथा क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् । सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका अर्का किशोरका परिवारसँग पनि सोही ढाँचामा सम्झौता गरी शव बुझाउने सरकारी तयारी यो समाचार तयार पार्दासम्म भइरहेको जनाइएको छ ।
सुरक्षा व्यवस्थालाई थप कडा बनाउन प्रहरी प्रधान कार्यालयले चारजना अतिरिक्त महानिरीक्षकसहित १५ जना उच्च अधिकारीहरूलाई फिल्डमै परिचालन गरेको छ भने साम्प्रदायिक सद्भाव खलबल्याएको आरोपमा धनुषा, सर्लाही, सिराहा, महोत्तरी र पर्साबाट गरी ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय स्तरमा सुरक्षा सुदृढ बनाउन मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका सबै पालिकाहरूलाई सातबुँदे निर्देशन जारी गरेको जनाएको छ । जसअनुसार वडा तहसम्मै राजनीतिक दलहरूलाई सक्रिय संवादमा परिचालन गर्ने र संवेदनशील विषयहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरण गरी समाधान गर्ने रणनीति बनाइएको छ ।
राजनीतिक वृत्तमा पनि घटनालाई लिएर बाक्लो छलफल सुरु भएको छ । काठमाडौँमा हिन्दु र मुस्लिम धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै आपसी सद्भाव कायम राख्न आह्वान गरेका छन् भने विराटनगर, सिराहा र सप्तरीसहितका क्षेत्रमा ‘सबै धर्म-समुदाय आपसमे सब भाइ-भाइ’को नारासहित बृहत् सद्भाव ¥याली निकालिएका छन् ।
तनाव न्यूनीकरणका लागि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङसहित प्रमुख राजनीतिक दलहरूले संवाद र पहलकदमीलाई तीव्र बनाएका छन् । मधेशकेन्द्रित दलका नेताहरू महन्थ ठाकुर, डा. सिके राउत, राजेन्द्र महतो र प्रभु साहलगायतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटी निष्पक्ष छानबिन र दीर्घकालीन शान्तिको माग गर्दै आठबुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । भेटमा जनमत पार्टीका अध्यक्ष डा. राउतले सेना र प्रहरीको बल प्रयोग मात्र दीर्घकालीन समाधान नभएकाले प्रत्येक जिल्लामा अन्तर्धार्मिक संवाद संयन्त्र गठन गर्न सुझाव दिएका छन् । सोही छलफलका क्रममा उठेको संघीयता खारेजीको चर्चाबारे प्रस्ट्याउँदै प्रधानमन्त्री शाहले आफू कहिल्यै संघीयताको विरोधी नरहेको र देश विद्यमान संवैधानिक ढाँचामै अगाडि बढ्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको यो अभिब्याक्तिले समस्यालाई मत्थर पार्न थप बल पुगेको देखिन्छ ।
यो सम्पूर्ण अशान्ति गत आइतबार राति सुनसरीको कप्तानगन्जमा डिजेबाजा बजाउने विषयमा दुई समूहका युवाहरूबिच भएको झडपबाट सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको थियो भने सिराहाको गोलबजारमा १७ वर्षीय गणेश यादवको ज्यान गएको थियो । घटनामा घाइते भएका अन्य सात जनाको विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

Author

You may also like