सत्रौं शताब्दीको उत्तरकाल र अठारौं शताब्दीको प्रथम सत्रमा लण्डनका कफी हाउस ज्ञानका प्रकाश फैलाउँथे । त्यस समयमा नयाँ विषय खोजी हुन्थ्यो । चर्चा, छलफल, बहस गरमा गरम हुन्थे । निचोड आउँथ्यो । पुनः समालोचात्मक टिप्पणी हुने गर्दथे । कफी हाउसमा विचार विनिमय हुन्थे । सर्वसाधारण उत्साही युवा त्यहाँका बहस सुन्न र बुझ्न चाख मान्थे । एक पेनीमा एक गिलास स्वादिलो र गरम कफीले जिउमा उमङ्गता प्राप्त हुन्थ्यो । कफीका चुस्किका साथ नयाँ जीवन्त विषयमा छलफलमा भाग लिने अवसर र त्यसले ज्ञान क्षेत्रका क्षितिज फराकीलो हुने हुँदा कफी हाउस पेनी युनिर्भसीटीका नामले सम्बोधन हुन्थे । विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ता गरी विश्वविद्यालयका आत्मामा तीन तत्व हुन्छन् ।
अठारौं शताब्दीका पेनी विश्वविद्यालयमा पनि केही बुझ्न, जान्न खोज्ने युवा, छलफलमा भाग लिने र प्राप्तुत गर्ने व्यक्ति साथै ति सबैलाई अवलोकन गर्ने अग्रज गरी तीन पक्षको सक्रिय सहभागिता हुन्थ्यो कफि सपमा । त्यहाँ चर्चा पाएका विषयले बेला बखत द टेटलर र द स्पेकटेटर नामक नियमित पत्रिकामा राम्रो स्थान पाउँथे ।
सन १६५० मा स्थापीत अक्सफोर्डको ग्राण्ड क्याफेदेखी आजसम्म संसारमा धेरै कफी हाउस खुलेका छन् । कफी यात्राले बेलायत–भारत हुँदै काठमाण्डौंमा प्रवेश पायो । हाल देशभरी कफीको चुस्कि लिनेको संख्या बढ्दै गएको पाइन्छ ।
सानो सुन्दर नगरी दमक कफीका स्वादले सुगन्धित हुँदैछ । धेरै कफी हाउसमा सबै उमेर समूहका अगुवा कफीका स्वादमा तल्लिन पाइन्छन् । ब्लाक कफीका स्वादमा मिठा र रसिला गफ चल्छन् । लण्डन सहरका बेग्ला–बेग्लै क्याफेमा फरक प्रकृतिका ग्राहक उपस्थित हुने परम्परा चलेका थिए । त्यस प्रकारको संस्कृती दमकमा होस् भन्न खोजेको होइन, तर त्यहाँ जस्तै दमकमा पनि ज्ञानको आदान–प्रदानका केन्द्र आफै बनुन् भन्ने आशय हो ।
चुरेको काखमा अवस्थित र रतुवा, मावा खोलाले सिंचित दमकमा मध्यम वर्गको संख्या हेर्न लायक छ । अग्रज तथा समकालिन मित्रलगायत युवा पुस्ता आ–आफ्ना क्षेत्रमा परिपक्व भएको पाइन्छ । आफ्ना लगानीमा समाजको उन्नती र देश विकासको सपना बन्दै छन्, उद्यमीहरू । कफी सपमा लगानी गर्ने नवप्रर्वतक साथीहरु उत्साही भएको पाइन्छ । साथै एउटा जिवन्त पक्ष देखिन्छ की कफी हाउसमा हुने छलफल, विचार विमर्शले व्यापार, उद्योग, स्कुल, कलेज, स्वास्थ्य संस्थाका अग्रगामी यात्रामा कति प्रतिशत योगदान गर्छन् ? तीनको लघु अनुसन्धान हुन सके सुनमा सुगन्ध थपिने छ । अठारौं शताब्दीमा लण्डन सहर अव्यवस्थित थियो । स्लम क्षेत्र बड्दै थिए । अर्कोतर्फ सामाजिक र साँस्कृतिक अवस्था मजबुत थियो ।
राजनीति स्थिर हुने अवस्थामा थियो । राजा चाल्सको हत्या, राजतन्त्रको पुनस्र्थापना र गौरबमय रक्तविहिन क्रान्तिका चरण पार गरेको र संयुक्त अधिराज्य बनिसकेको अवस्थामा वेलायत समृद्धिको मार्गमा थियो । बेलायतका आँखा बाहिरका टापु, अविकसित देश खोज्दै थिए । अमेरिकी जनता स्वतन्त्र भईसकेको अवस्था थियो । भारतमा अंग्रेजी शिक्षा लागू गर्ने कि नगर्ने भन्ने विषयमा संसदमा बहस प्रारम्भ भइसकेको अवस्थामा लण्डनका कफी हाउसका अनौपचारिक गफ लेखमा उतारिन्थे । पत्र–पत्रिका सिंगारिन्थे । नीति निर्माता त्यस्ता लेख रचनालाई अमुल्य दस्तावेज मानी सुरक्षित गर्थे ।
सन १८५३ मा ब्रिटिस म्युजियम खुलेको थियो । त्यसलाई प्राचिन ग्रन्थ, समसामयिक पुस्तकले सिगार्दै गरेको अवस्थामा कफी हाउसका औपचारिक डकुमेन्टले त्यहाँ राम्रो स्थान पाइसकेका थिए । भिजिटरका जिज्ञासु आँखा प्राचिन वस्तुका साथै पत्रपत्रिका, यात्रा वृतान्तमा पर्थे ।
त्यस्तो गरिमामय इतिहास बोकेका छन् लण्डनका कफि हाउसले । क्याफेले बजार मात्र बढाएनन्, त्यहाँ सर्वथा एउटा नौलो आयाम भित्र्याएका थिए । त्यहाँका अनौपचारीक गफ दस्तावेजीकरण गरी औपचारिक दस्तावेज बन्न पुगे । कफी हाउसका जिवन्त गफ, छलफल, बहसले बेलायती क्षीतिज झन फराकिलो बनाएको पाइन्छ ।
केहीपछि आएर सन् १८५० मा लागु भएको पब्लिक लइब्रेरी एक्ट अनुसार स्थानीय निकायले कर उठाएर सर्वसधारणका लागि निःशुल्क सार्वजनिक पुस्तकालय स्थापना गर्ने अधिकार प्राप्त भयो । धेरै पछि ब्रिटिस लाइब्रेरी समेत खुल्न गयो । कफी हाउसमा पठन संस्कृति सार्वजनिक पुस्तकालयका आत्मा हुन पुगे ।
सानो सुन्दर दमकमा प्रशस्त क्याफे खुलेका छन् । उच्च स्तरीय शिक्षण संस्था छन् । स्वास्थ्यमा नयाँ अध्याय चल्दैछ, दमकमा । स्तरीय ल्याव छन् । प्रसस्त शिक्षक, प्राध्यापक, बौद्धिक व्यक्तित्व जस्तै वकिल, डाक्टरसाहेबहरु, इन्जिनियरहरु सबै छन् दमकमा । एउटा पक्षको अभाव होखिँदैछ । त्यो अभाव धेरै पहिले देखिएको हो, धेरै चर्चा चले, छलफल पनि भए । तर मुर्तरूप लिन सकेको छैन । दमकमा अभाव छ, सार्वजनिक पुस्तकालयको । दमक बजार दक्षिण एउटा सार्वजनिक पुस्तकालय उभिएको छ । मित्र भेषराज न्यौपानेको अथक प्रयासलाई बधाई दिन उपर्युक्त हुन्छ । त्यो एकल प्रयास हो । राम्रो संख्यामा स्तरीय पुस्तक छन् । लगभग १ लाख जनसंख्या भएको दमकमा त्यति एउटा स्रोत केन्द्रले मात्र पुग्दैन कि भन्ने प्रश्न उठ्न थालेको छ । ज्ञानको प्रकाश छर्ने ज्योतिका अभाव छन्– दमकमा । बौद्धिक बहस जीवन्त बनाउने एउटा प्लेटफर्म चाहिन्छ । सबै विधा समेटेका सुविधा सम्पन्न पुस्तकालय सभ्य समाजका आत्मा हुन । बाचनालयमा बुद्धिजिवी, विद्यार्थी, अनुसन्धानकर्ताको उपस्थिति होस् । पुस्तक, जर्नल, पत्रपत्रिकाका विषय डायरीमा उतारिउन । अलिक पर रहेको क्यान्टीनमा तातो चिया÷कफीका साथ स्वस्थ छलफल होस् । साँझपख हलमा बसेर जिवन्त छलफल, बहस चल्न सक्ने सुन्दर वातावरण बन्नु पर्छ । त्यहाँ उठ्ने बहस, छलफलले दमकको आत्मामा प्रशस्त इनर्जी प्रदान गर्नेछ, बस्, पुस्तकालय र पठन संकृतीको अभाव छ, सुन्दर नगरी दमकमा ।
अस्तु ।।