उर्लाबारी/देशभरका स्थानीय तहमा रिक्त ४४ स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको तयारी तीब्र पारेसँगै दलहरुलाई पनि चुनाव लागेको छ । कोशी प्रदेशमा ९ स्थानमा उपनिर्वाचन हुँदैछ, त्यसमध्ये सबैको आकर्षण मोरङको ग्रामथान गाउँपालिकामा परेको छ ।
ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । कोशीमा अन्य भने वडाध्यक्षको निर्वाचन हुनेछ । ग्रामथान गाउँपालिका अध्यक्षका लागि ठूला दलहरुले उम्मेद्वार टुंगो लगाएर चुनावी अभियानमा लागेका छन् । विगतक निर्वाचनको तथ्यांकलाई हेर्ने हो भने यहाँ नेपाली काँग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस पटकको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाइसकेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु ग्रामथानको अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भयो । निधनपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
यस पटक निर्वाचनका लागि कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाएको छ । बलराम पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य हुन् । कांग्रेसमा अध्यक्षका १३ जना आकांक्षी थिए । तर, पार्टीले बलरामलाई टिकट दिने निर्णय गरेको हो ।
उता, एमालेले ग्रामथानको अध्यक्षमा तुलसीराम विश्वासलाई टिकट दिएको छ । उनी पार्टीका गाउँ कमिटी उपाध्यक्ष हुन् । एमालेबाट टिकटका लागि ११ जना आकांक्षी थिए तर, विश्वासले टिकट हात पारेका छन् । ग्रामथानका पूर्वअध्यक्ष शिवनारायण माझीपनि अध्यक्षको उम्मेद्वार हुने दौडमा थिए । गत भदौ २९ गते जुवा खालबाट पक्राउ परेर विवादमा मुछिएपछि टिकट पाउनबाट रोकिएको पार्टी स्रोतले बताएको छ । उनी २०७४ सालमा एमालेबाट टिकट लिएर गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । ५ बर्से कार्यकाल समाप्त भएसँगै २०७९ सालमा पनि अध्यक्षको उम्मेदवार बने । तर, कांग्रेसका जयप्रकाश गच्छदार थारुसँग पराजित भएका थिए ।
यस्तै, नेकपा माओवादी केन्द्रले अध्यक्षमा नमोनारायण माझीलाई उठाउने घोषणा गरेको छ । उनी पूर्ववडाध्यक्ष पनि हुन् । २०७४ सालमा ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए । तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचिन भएका नमोनारायण गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए । कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका छन् ।
२०७९ सालको निर्वाचनमा पालिका अध्यक्षमा जयप्रकाशले ७ हजार ६ सय ५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी एमालेका शिवनारायणले ६ हजार ९३ मत ल्याएका थिए । माओवादीका विजयकुमार सरदारले २ हजार ७ सय २७ मत पाएका थिए । ७ वटा वडा रहेको ग्रामथान गाउँपालिकामा गत निर्वाचनमा एमालेले ५, कांग्रेस र माओवादीले १/१ वटा वडामा वडाध्यक्ष जितेका थिए । वडाध्यक्षको मतका आधारमा एमालेको ६ हजार ७ सय ६३, कांग्रेसको ५ हजार ५ सय ३७ र माओवादीको २ हजार ६ सय ६५ मत थियो । निर्वाचन आयोगका अनुसार ग्रामथान गाउँपालिकामा २७ हजार ४ सय ३९ मतदाता छन्