दमक/ फेरिएको अङ्ग्रेजी नयाँ सम्बत २०२६ को स्वागतसहित नेपालमा राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । देशभरका विभिन्न संघसंस्था तथा समुदायकाबाट यो दिवस मनाएका हुन ।
सोही क्रममा दमकमा सञ्चालित जिवनचक्र समाज नेपाल नामक संस्थाले पनि ११औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष बेनु प्रसाईंको अध्यक्षतामा आयोजित सो कार्यक्रममा ९२ वर्षीय जेष्ठ नागरिक छविराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली मौलिक भेषभूषाको संरक्षण तथा पत्रकारिताको माध्यमबाट राष्ट्रलाई विशेष योगदान पु¥याएको भन्दै पत्रकार उत्तम रिजाललाई उच्च मूल्यांकनसहित सम्मान समेत गरिएको छ । उनलाई नेपाली ढाकाटोपी, खादा तथा सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्की सिटौलाले स्वागत मन्तव्य राखेका थिए भने वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी तथा पत्रकार भूमिराज पराजुलीले शुभकामना दिएका थिए ।
टोपी दिवस मनाउनुको महत्व र कार्यक्रमको औचित्यबारे संस्थाका स्वास्थ्य संयोजक डा. लेखनाथ न्यौपानेले प्रकाश पारेका थिए । उनले नेपाली पहिचान र संस्कृतिको संरक्षणमा टोपी दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा दमकका व्यवसायीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।