मुख्य स्थानीय

कोशीमा स्काउटको समिति चयन जारी

विराटनगर, २६ माघ। नेपाल स्काउटले कोशी प्रदेशका पालिकाहरुमा परिषद सदस्य निर्वाचन कार्य सञ्चालन भइरहेको छ ।

स्काउटले कोशीमा हालसम्म ४६ स्थानीय तहमा परिषद् सदस्य चयन गरेको छ । स्काउटको निर्वाचन कार्यतालिका २०८० अनुसार १३७ वटै पालिकामा स्थानीय परिषद् निर्वाचन गर्ने कार्य धमाधम भइरहेको हो ।

नेपाल स्काउट प्रदेश समितिका अनुसार निर्वाचन हुन योग्य ४७ स्थानीय तहहरू मध्ये ४६ वटाको निर्वाचन सम्पन्न भएको छ । तेह्रथुमको फेदाप गाउँपालिकामा निर्वाचनका लागि मनोनयन दर्ता नभएका कारण त्यहाँ स्थानीय परिषद् चयन हुन बाँकी रहेको जनाइएको छ ।

निर्वाचन हुन बाँकी रहेका स्थानीय तहहरूमा भने स्थानीय परिषद्को तदर्थ समिति गठन गर्दै स्काउटलाई प्रदेशभरी पु¥याउने लक्ष्य राखिएको नेपाल स्काउट कोशी प्रदेश समितिका संयोजक रवि खनालले बताए ।

४७ वटा पालिकाको स्थानीय परिषद्को निर्वाचनका लागि विराटनगर, बिर्तामोड, धरान, संखुवासभाको मकालु गाउँपालिका र खाँदवारी नगरपालिकामा केन्द्र तोकिएको थियो । जसमध्ये इटहरी र धरान उपमहानगरपालिका, विर्तामोड र शिवसताक्षी नगरपालिकामा भने स्थानीय परिषद् चयनका लागि निर्वाचन नै भएको हो । विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, ग्रामथान गाउँपालिका, बर्जु गाउँपालिका लगायतका स्थानीय तहमा निर्वाचित भएका परिषद् सदस्यहरूलाई निर्वाचन समिति अधिकृत अधिवक्ता महेन्द्रप्रसाद वस्तीले प्रमाणपत्र प्रदान गरेका छन् ।

स्थानीय परिषद् सदस्यहरू मध्येबाट सम्बन्धित स्थानीय तहको प्रमुखले एकजना स्थानीय आयुक्त तोकेपछि परिषद्ले पूर्णता पाउने जनाइएको छ । तोकिएको आयुक्तले आफ्नो कार्यसमिति चयन गर्ने स्काउटको नियम रहेको छ । स्थानीय परिषद्को कार्यकाल ४ बर्षको रहेको छ ।

नेपाल स्काउटमा कोशी प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनका लागि कुल ५ सय ४५ मतदाता रहेको प्रदेश संयोजक खनालले बताए । उनले कोशी प्रदेशमा मात्रै २० हजार बढी स्काउट सदस्य रहेको उनले जानकारी दिए ।

You may also like