मुख्य राजनीति

कोशीमा पहिचानवादीसँग वार्ता

विराटनगर,२६ माघ। कोशी प्रदेश सरकार र १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिबीचको वार्ता भएको छ । उक्त वार्ता सकारात्मक रहेको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

विराटनगरमा बिहीबार दिउँसो ४ बजेदेखि वार्ता टोलीबीच छलफल भएको थियो । सरकारको तर्फबाट निर्माण भएको वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘ बिहीबारको छलफलमा आ–आफ्ना कुरा राख्ने काम भएको छ,’ जबेगूले भने, ‘शुक्रवार बिहान ८ बजे पुनः बस्ने गरी पहिलो दिनको बार्ता सकिएको छ । छलफल सकारात्मक छ ।’

उता संघर्ष समितिको तर्फबाट वार्तामा सहभागी युवराज राईले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । दुवै पक्षबिच आ–आफ्ना कुरा राखियो । उहाँहरुको तर्फबाट केही विकल्पसहित आउन भन्नु भएको छ । हामी थप छलफल गरेर दोस्रो चरणमा शुक्रवार बिहान बस्छौँ,’ उनले भने ।

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी वार्ता समिति बनाएको थियो ।

उता, सङ्घर्ष समितिको तर्फबाट भने डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन् ।

कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसको विरुद्धमा पहिचानवादीहरु आन्दोलनरत छन् । उनीहरुले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन् ।

You may also like