मुख्य शिक्षा

चिसोले विद्यालय बिदा हुँदै

दमक, २९ पुस। विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । जसका कारण बालबालिका, अपाङ्गता भएका असक्त र ज्येष्ठहरु बढी समस्यामा छन् । विद्यालयहरु समेत बिदा गरिएको छ ।
कोशीका तराईका जिल्ला झापा, मोरङ, सुनसरी सहितका क्षेत्रमा बढेको शितलहरले समस्या पारेर मिनपचास (वर्षे ) विदामा कटौती गर्ने गरी धमाधम विद्यालय बन्द हुन थालेका छन् । मधेश प्रदेश शितलहरबाट अझै बढी समस्यामा पर्ने भएकाले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही जिल्लाको जनजीवन यो बेला निकै कष्टकर बनेको छ । विद्यालयहरु बन्द गरिएका छन् । कतिपय ठाउँमा आगो तापेर शरीर तताउने प्रयास गरिएको छ ।
शितलहर बढेर घाम नलागेपछि बालबालिकामा विद्यालयमा पढ्ने अवस्था नभएपछि संस्थागत विद्यालयहरुले आंशिक परीक्षापछि विद्यालय बिदा गरेका छन् । ‘परीक्षा पनि सकिएको र जाडो पनि बढेकाले जिल्लाका अधिकांश विद्यालयहरु बिदा भएका छन् ।’– निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन्
( प्याब्सन) मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले भने ।
पथरी शनिश्चरेस्थित नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष रोहिणीप्रसाद घिमिरे ( रोहित पराई) ले अव भोलीसम्म शितलहर निरन्तर भयो भनें वर्षे बिदामा कटौती गर्नेगरी बिदाको निर्णय गर्न सरसल्लाहमा जुट्ने बताए । उनले वर्षे बिदाबाट ५ दिन बिदा बँचेको र त्यसखाले परिस्थितीमा सो बिदा सदुपयोग गरिने जनाए । त्यहाँस्थित भूपू सैनिक अंग्रेजी विद्यालयका प्रिन्सिपल उपेन्द्र कँडेलले विद्यार्थीको परीक्षा आइतबार ( आज) सकिने र माघ ६ गतेसम्मलाई विदाको निर्णय भइसकेको उल्लेख गरे ।
यता, झापाका पनि धेरैजसो विद्यालयहरु वर्षे विदामा कटौती हुने गरी बिदा दिँदै गएका छन् । शिवसताक्षीमा पुस २६ देखि माघ ४ सम्मका लागि सामुदायिक विद्यालयहरुले बिदा दिइसकेका छन् ।
नेपाल शिक्षक महासंघ कमल गाउँ अध्यक्ष हिमप्रसाद दाहालले जिल्लाका धेरैजसो सामुदायिक विद्यालयहरु शितलहर सुरु भएपछि बिदा भइसकेको जनाए । उनले गाउँपालिकाको पात्रो अनुसार पुस २९ देखि माघ ६ सम्म कमलमा बिदाको निर्णय भइसकेको सुनाए । उनले तराईमा हिँउदको बिदा नदिने भएको तर शितलहरले समस्या पार्ने भएकाले वर्षे विदाबाट बँचेको बिदालाई व्यवहारिक हिसावले यो बेला प्रयोग हुँदै आएको परिस्थिती अवगत गराए । ‘कमलले पुस २९ देखि माघ ६ सम्म बिदा भनेर तोकेको अवस्था यो बेला चिसो बढेकाले सान्दर्भिक भयो । तर कति साल घाम मजाले लागेको अवस्था हुन्थ्यो, अनि विद्यालय लागेको दिन शितलहर चलेको हुन्थ्यो ।’– उनले भने । उनले सरकारले बनाएको शिक्षा ऐन र नियमावलीमा तराईमा हिँउदे विदाको प्रावधान नराखिने अव्यवहारिक भएको तर्क राखे । ‘जवकि शितलहरले पहाडमा भन्दा तराईमा ज्यादै जाडो हुने गर्दछ । र बिदाको अति आवश्यक पर्दछ ।’ उनले सुझाए ।
शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त,
अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा समस्यामा छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको संख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने संख्यामा समेत वृद्धि भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी गराए ।
चिसोले… चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । मजदुरी गर्नेहरुमा समस्या भएको छ । बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन संचालनमा समस्या भइरहेको छ ।

You may also like