मुख्य

आज बिर्तामोडमा भक्का दिवस

बिर्तामोड, २९ पुस। पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले मनाउँदै आएको ‘भाक्का दिवस’को सातौँ संस्करण आइतबार (आज) बिर्तामोडमा सञ्चालन हुने भएको छ ।
राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भाक्काको प्रवद्र्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राजवंशी समाज विकास समितिले बिर्तामोडमा प्रत्येक बर्षको पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाइदै आएको छ । यो पटक डोमालाल राजवंशी रंगशालामा कार्यक्रम गरिने भएको छ । राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भाक्का दिवसमा सहभागी हुनेछन् ।
भाक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए । यो वर्ष भाक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने योजना रहेको छ ।
कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय आउने उल्लेख छ । पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् । त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

Author

You may also like