विश्वकै नजरमा अति सुन्दर मुलुकमा नेपाल परेको छ । चार वर्ण छत्तिस जातको साझा फुलबारीको रुपमा विश्वमै चिनिएिको देश सुन्दर, शान्त पनि उत्तिकै छ । यसै कारणले पनि विश्वको नजर नेपालप्रति खिचिएको हो । यहाँको हावापानी, भाइचाराको सम्बन्ध स्थापित भएको समाज, यहाँका विभिन्न जातजातिहरुको आ–आफ्नै संस्कार, रहनसहन र संस्कृति बोकेका बासिन्दा, यहाँको रितिथिति, संस्कार, संस्कृति विश्वकै अनुपम उपहारका रुपमा चिनिएका छन् । यस्तो देश विश्वमा अझ प्रभावकारी रुपमा चिनाउने माध्यम भनेको नेपाल शान्ति क्षेत्र हो भन्ने नै हो । यसको माध्यमबाट स्वदेश तथा विदेशका निम्ति दुई ठूला देशको बीचमा चेपिएर स्वाभिमानपूर्वक बाँचेको सानो देश नेपाललाई वैदेशिक हस्तक्षेपबाट बचाउने एउटा माध्यम हो । असंलग्न नीतिलाई अगिकार गरेर विश्वबाटै पाउने सेवा सुविधा लिन सक्ने आधार पनि हो । बाह्रय शक्ति राष्टूहरुको नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराउने हो । कसैको पक्ष वा विपक्षमा नेपाल लाग्दैन । सबैसँग समान व्यवहार र नीति लिएर हिंड्ने मुलुक हो भन्ने दृष्टान्त दिनकै लागि पनि नेपाललाई शान्ति क्षेत्र घोषणा गराउनुपर्ने दायित्व र जिम्मेवारी नेपाली शासक सामु आएको छ ।
स्व. राजा वीरेन्द्रले आफ्नो राज्यभिषेककै दिन २०३१ सालमा विदेश पाहुनाहरु जम्मा भएको अवसरको मौका छोेपेर यो प्रस्ताव ल्याएका थिए । नेपाल सुरक्षा, स्वतन्त्रता, विकास र स्थिरता चाहने भन्दै उक्त प्रस्ताव ल्याएका थिए । र २०४६ सालसम्ममा १२० राष्टूले यसलाई स्वीकार गरिसकेको अवस्था छ । अहिले फेरी यहि विषय घनिभुत रुपमा उठ्नुलाई सकारात्मक र नयाँ पहिचानको मार्गको रुपमा लिन सकिन्छ । केही वर्ष अगाडि नै १० वर्षे जनयुद्धबाट देशको आमुल परिवर्तनको खाका सहित राष्ट्रिय राजनीतिमा आएर पनि प्रधानमन्त्री बनिसकेका डा. बाबुराम भट्टराईले पनि नेपालका लागि शान्ति क्षेत्र घोषणा विश्वबाट गराउनु उपर्युक्त रहेको धारणा राखेका थिए र अहिले फेरी त्यही विषय उठान भएको छ ।
जनस्तरबाट बनाइएको शान्ति क्षेत्र घोषणा प्रस्ताव अभियानका अभियन्ताहरुले अमेरिका भ्रमणमा निस्कने तयारी गर्दै गर्दाको अवस्थामा ज्ञापनपत्र बुझाएर संयुक्त राष्ट्र संघमा उक्त विषय उठान गर्न अनुरोध गरे । त्यस्तै उनीहरुले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सोही ज्ञापनपत्र बुझाए । सो ज्ञापनपत्र बुझ्दै प्रचण्डले सहर्ष स्वीकार गर्दै नेपाललाई विश्वबाटै शान्ति क्षेत्र घोषणाको प्रस्तावलाई दलको एजेण्डाको रुपमा राखेरै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए ।
त्यसै पनि आफ्नो प्रभाव क्षेत्रका रूपमा नेपाल विदेशी शक्ति राष्टूहरुले हेरिरहँदा उक्त प्रस्तावले त्यस्ता उनीहरुका आकांक्षालाई निस्तेज तुल्याउने र नेपाललाई शान्ति, स्थायित्व, स्वतन्त्र र विकासमा अगाडि बढाउन सकिने एक मात्र माध्यम बन्न सक्दछ । यस विषयलाई विभिन्न विज्ञहरुले पनि उठाउँदै आएका छन् । अब यो विषय सम्भवतः सबैको साझा विषय बनेको हुँदा अपनत्व लिने दौडमा नगई हिजोको इतिहासलाई मनन गरेर, टेकेर पुनः यसलाई ब्युँताएर विश्व सामु पुग्न सकियो र राष्ट्र संघबाट नेपाल शान्ति क्षेत्र हो भन्ने प्रस्तावलाई पास गराउन सकियो भने नेपालको समृद्धिका खाका त्यसैले कोर्न सक्छ तसर्थ यस दिशातर्फ राजनीतिक दल, नागरिक समाज, विज्ञ सबै एक ठाउँमा उभिएर लाग्नु उपर्युक्त देखिन्छ ।