सम्पादकीय

सडक व्यवस्थापनको खाँचो

सहरीकरणको उचित व्यवस्थापनका लागि सडकको स्तरोन्नतिमा पछिल्लो समय दातृनिकायले लगानी गर्न इच्छा राखेपछि दमक नगरपालिकाको पहलमा योजना प्रस्ताव पेश गर्न अवसर मिलेको छ । विश्व बैंकको सहयोगमा पूर्वी सहरी करिडोर परियोजनामार्फत दमक सहित कोशी प्रदेशका ६ वटा पालिकालाई पनि छनौट गरेको छ, यो दमकवासीको लागि शुभ संकेत हो ।

योजना अनुसार दमकमा दुई किसिमका सडक बन्नेछन् । फुटपाथ, साइकल लेन र सडक बत्ती सहितको ५० फुटे सडक पहिलो प्राथमिकतामा र सडक बत्ती सहितको सडक दोस्रो प्राथमिकतामा रहने छन् । दमक नगरपालिकाभित्र सडकका साना योजना र ढलले विगारेकादेखि विभिन्न कारणले भत्किएका बाटाहरु पुननिर्माण गर्ने, मर्मत गर्ने लगायतका कामहरु भइरहेका छन् । यो सकारात्मक सन्देश हो ।

दमक नगरका सहरीक्षेत्र अन्तरगत ८६ दशमलव ८० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने १२४ किलोमिटर ग्राभेल रहेको छ । ग्रामिण क्षेत्र अन्तरगत १६ दशमलव ४० किलो मिटर कालोपत्रे र ३ दशमलव ४ किलोमिटर ग्राभेल रहेको छ भने ४२ किलो मिटर ‘माटे सडक’ रहेको छ । दमक नपामा चालु आर्थिक वर्ष ०८०÷८१ मा दमक नपामा १३ वटा सडकहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

पछिल्ला वर्ष सडक विस्तारले निकै तीव्रता पाएको छ । भौतिक विकासको मुख्य पूर्वाधार सडक निर्माणसँगै अन्य संरचनाको विकास सहज हुने भएकाले यो मानव जीवनको पहिलो आवश्यकता बनेको छ । सहरी क्षेत्रमा जनघनत्व बढिरहेका बेला सडक र पुलको विस्तार तथा स्तरोन्नतिलाई विशेष अभियान नै चलाएर काम गर्नु अहिलेको आवश्यकता हो । विद्युत्, सडक, रेल, जलमार्गजस्ता भौतिक क्षेत्रमा स्रोत वृद्धि गर्ने, सडक कनेक्टिभिटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने सोचकासाथ तीनै तहका सरकारले दीर्घकालिन योजना बनाएर लाग्न आवश्यक देखिन्छ ।

समग्रमा सडक, हवाई, रेलमार्ग, जलमार्गको विस्तारलाई उच्च प्राथमिकता दिँदै यी क्षेत्रमा हाल प्राप्त उपलब्धिको सूचकाङ्क दोब्बर गर्ने नीति सरकारको छ । सरकारले सडक विस्तार मात्र नभएर पक्की सडक निर्माणमा पनि विशेष ध्यान दिन सक्नु पर्छ ।

संघ, प्रदेश र स्थानीय जुनसुकै तहले निर्माण गरे पनि सडक गुणस्तरयुक्त पक्की र सुरक्षित हुनुपर्ने मापदण्डलाई सरकारले प्राथमिकता दिनसकेमात्रै साँघुरिँदै आएको सडकको समस्या समाधान गर्न सकिन्छ । मानिसको जनसंख्या र यातायातका साधन बढ्दो अवस्थामा रहेको बेला सडक फराकिलो र व्यवस्थित बनाउनु अति आवश्यक हुन्छ । समग्रमा नेपालको सडक यातायात आधुनिक युगमा प्रवेश गरेको छ र यो गतिलाई तीब्रता दिन आवश्यक छ ।

You may also like