मुख्य

दमक महोत्सवमा विदेशका २० स्टल

दमक / दमक उद्योग वाणिज्य संघको आयोजनामा दमकमा यही माघ २८ गते देखि सुरु हुने पाँचौ दमक महोत्सवमा हालसम्म विदेशका २० वटा स्टल बुकिङ भएका छन् ।

उद्योग, व्यवसायको व्यवसायिक प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले छ वर्षपछि हुन लागेको संघको यस महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायत देशहरुबाट हालसम्म २० वटा स्टल बुकिङ भएको महोत्सव आयोजनक मूल समितिका संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाले जानकारी दिए । महोत्सवमा नेपालका साथै भारत र रसियाका कलाकारले पनि भाग लिनेछन् । महोत्सवमा रसियन कलाकारको नृत्य अर्को प्रमुख आकर्षण हुनेछ । उनका अनुसार महोत्सवमा अन्तर विद्यालय नृत्य प्रतियोगिता समेत हुनेछ । उनले महोत्सवको तयारी पुरा भएको जनाए ।

स्थानीयदेखि सुदुरपश्चिम क्षेत्रसम्मका व्यवसायिक तथा कृषि उत्पादनका स्टलहरु रहेका छन् । अहिलेसम्म एक सय भन्दा धेरै स्टलहरु बुक भइसकेको खडकाले उल्लेख गरे । उनले भने- ‘प्रादेशिक महोत्सव भनिएपनि यो महोत्सव नेपालकै ठूलो र अन्तराष्ट्रिय बन्ने भएको छ, यहाँ भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायत देशहरुको सहभागिता रहने भएपछि यो अन्तराष्ट्रिय महोत्सव भन्न मिल्छ ।’

दमक ७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न प्रदेशहरुबाट पनि व्यवसायिक तथा कृषि उपजहरुको स्टल राख्नका लागि धमाधम बुकिङ भइरहेको उनको भनाई छ । ‘हामी एकदमै उत्साहित रुपमा महोत्सव व्यवस्थापनमा लागेका छौं । महोत्सवप्रति चौतर्फी जिज्ञासा र उत्साह देखिएको छ यसले हामीलाई थप हौसला मिलेको छ,’ उनले भने । महोत्सवमा स्टलहरु व्यवस्थापनका लागि डोमेन हेंगरमा सजाइनेछन् । महोत्सवमा यो अभ्यास दमकमा पहिलो पटक गर्न लागिएको साथै आधुनिक किसिमका खेल तमासाहरु पनि सञ्चालन हुनेछन् ।

महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने र सो दिन प्रवेश शुल्क नलाग्ने संयोजक खड्काले जानकारी दिए ।

महोत्सवमा कृषि, औद्योगिक तथा व्यापारिकका साथै विज्ञान प्रविधि, शैक्षिक एवं विभिन्न बिधाका एक सय ३० वटा बढी व्यवसायिक स्टलहरु रहने जनाइएको छ । स्टलमा दैनिक निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने संघका महोत्सव प्रचार प्रसार समिति संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिए । अन्य दिनमा भने प्रवेश शुल्क १ सय रुपैयाँ लाग्नेछ । प्रवेश शुल्क वापत टिकटमा लक्की ड्र गरी आर्कषक उपहार प्रदान गरिने व्यवस्था गरिएको छ ।

महोत्सवस्थललाई घेराबारासँगै आकर्षक रुपमा सजाइएको छ । महोत्सवलाई सफल बनाउन गठित विभिन्न एक दर्जन बढी उपसमितिहरुले सक्रिय रुपमा काम गरिरहेको र महोत्सवमा ६ करोड बढीको कारोबार हुने अपेक्षा गरेको संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाईंले जानकारी दिए । महोत्सव सञ्चालनबाट संघले प्राप्त गरेको सबै रकम दमक ८ मा निर्माणाधिन इलम प्रशिक्षण केन्द्र सञ्चालनमा उपयोग गरिनेछ ।

Author

You may also like