समाचार स्थानीय

कमल गाउँपालिका बालमैत्री घोषणा गरिदै

दमक, १९ माघ। झापाको कमल गाउँपालिकालाई यही माघ २० गतेबाट वाल मैत्री स्थानीय शासन गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाले विहिबार पत्रकार सम्मेलन गर्दै बालमैत्री घोषणाका लागि सवै तयारी पूरा भएको जनाएको छ ।

पालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार कमल ५ स्थित आदिवासी रंगशालामा हुने बालमैत्री गाउँपालिका घोषणा कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा हुने छ । कमल गाउँपालिका बालमैत्री घोषणा हुने कोशी प्रदेशकै गाउँँपालिका मध्ये पहिलो स्थानीय तह हो । यो प्रदेशमा यसअघि चार वटा नगरपालिकाले बालमैत्री घोषणा गरेको थियो ।

पालिका अन्तर्गत कमल ४ वडाले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बामैत्री घोषणा गरेको थियो । त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, वडा न. २ ले २०७९ बैशाख १४ मा, चौथो रुपमा ३ नम्बर वडाले २०७९ असार २४ गते, पाँचौ रुपमा कमल ५ ले २०८० असोज १२ गते , कमल ६ ले २०८० असोज २५ गते र कमल १ ले सातौ वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको अध्यक्ष राईले जानकारी दिए ।

पालिकाले २०७८ साल भित्र पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम तीव्र बनाएको र त्यसैअनुरुप लक्ष्यमा भने केहि ढिला भएपनि सफलता प्राप्त गर्न सफल भएको अध्यक्ष राईले बताए । बालमैत्री घोषणाका लागि प्रदेश सरकारले समेत सहमति पत्र प्राप्त भएपछि अव भने पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको उनको भनाई छ ।

वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सुचक र संस्थागत १५ गरी ५१ वटा सुचक पूरा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत राजुकमार शाक्यले जानकारी दिए ।

उनका अनुसार बालमैत्रीका लागि कमलका ७ वटै वडातहमा त्यस सम्बन्धी राजनीतिक दल, विभिन्न संघ संस्था, उद्योगी, ब्यवसायी, निजी तथा सरकारी विद्यालय,वाल क्लवका प्रमुख र प्रतिनिधि,सरोकारवालाहरुसंग छलफल गरिसकिएको छ ।

पत्रकार सम्मेलनमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बालमैत्री घोषणासंगै त्यसको कार्यान्वयन चुनौतीपूर्ण हुने बताइन् ।

Author

You may also like