समाचार

इरान–अमेरिका द्वन्द विश्वभर नकारात्मक प्रभाव

एजेन्सी, इरानले इराकस्थित अमेरिकाका दुई हवाई सैन्य आधार शिविरमा करिब १६ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । इरानी आक्रमणसँगै निस्केको अशान्तिको धुवाँ विश्वभर फैलिएको छ । तेलको भाउ बढेको छ भने विश्व सेयर बजारका सूचकहरु ओरालो लागेका छन् ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो इरानी शासकहरुले बताएका छन् ।
पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल–असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो । इरानले अमेरिकी सैनिकहरु मारिएको बताए पनि मानवीय क्षति नभएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाइ छ ।

इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा रहेको ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन् ।
गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको हो । इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको बेला इराकस्थित अमेरिकी शिविरहरुमा इरानी हमला भएको हो ।

अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् । इरानको रिभोलुसनरी गार्डसरुले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अथ्र्याएको छ ।
इरानले अमेरिकाको ‘आतङ्ककारी सेना’लाई आधार शिविर दिने सबै साझेदारलाई निसाना बनाइने चेतावनी दिएको छ । सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो । इराकमा अमेरिकाका हजार सैनिक रहेका छन् । इरानको सरकारी टेलिभिजनले भनेको छ, ‘देशका एकजना वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा ती हमलाहरू गरिएका हुन् ।’

गत शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मङ्गलबार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका हुन् ।
तेल उकालो सेयर ओरालो इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । एसियाली कारोबारको मध्यमा ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा १.४५ ले वृद्धि भई प्रतिब्यारेल ६९.२१ डलर पुगेको छ ।

सुन तथा जापानी मुद्रा येनजस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्य पनि हमलाको समाचारपछि बढेको छ । तर मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी सेयर मूल्यमा भने कमी देखिएको छ । जापानको बेञ्चमार्क निक्केइ २२५ स्टकको सूचकाङ्क १.३५ ले घटेको छ भने हङकङमा हाङसेङ ०.८ प्रतिशतले खस्केको छ ।

You may also like