गणेश माझीलाई आफ्नो उमेर कति भयो ठ्याक्कै थाह छैन । भारतको पुर्णियाँ जिल्ला स्थित कुवाडीमा बुबा मुसाही र आमा चमनियाका ६ छोरा र २ छोरी मध्येका कान्छो छोरा हुन् उनी । तर जन्मथलोमा बाल्यकाल मात्र बिताएका उनी ५ दशकभन्दा अघिदेखि दमकमा आएको परिवर्तनका साक्षी हुन् । उमेरको अन्दाज मात्र छ उनीसँग, कुनै तथ्य छैन । ‘७० वर्ष त पुगेँ होला’ भन्ने लाग्छ उनलाई । तर दमक आउँदा आफ्नो जुँगाको रेखीसमेत थिएन भनेका उनको दाह्री–कपाल सेताम्यै भइसकेका छन् ।
मजदुरी गरेर कमाएको १२ सय रुपैयाँबाट उनले पहिलोपटक हातले तान्ने ठेला किने । त्यसैको भरमा उनको परिवार चल्दै आयो । ७ छोरा र एक छोरीलाई यसैको भरमा हुर्काए, क्षमताले भ्याएसम्म पढाए । तीमध्ये ५ छोरा अहिले पनि ठेला तथा मजदुरीमै छन् भने एक छोरा मोटरसाइकल ग्यारेजमा काम गर्छन् । कान्छो छोरा र छोरी अध्ययनकै क्रममा छन् । श्रीमती कौशिलाले शरीरले साथ दिएसम्म दाउरा बेचेर घरको चुलो धुँवाइन् । अहिले उनी बिरामी परेको गणेश बताउँछन् ।
भारतको जन्म भएका कारण उनले नागरिकता पनि सजिलै पाएनन् । तर दमकमा नै टोली आएका बेला नागरिकता बनाउँदा जन्म मिति २०२६ साल कायम भएकाले अहिले वृद्धअवस्थामा पनि भत्ता नपाएको उनले बताए । उनले भने, ‘आफू केही नजान्ने, भरिदिनेले उमेर घटाइ दिएछ त्यसैले भत्ता पाउन नसक्दा यो बुढेसकालमा पनि ठेला चलाएर खाँदैछु ।’ मजदुरी गरेर ५ लाख रुपैयाँमा एउटा भिटा किने पनि छोरा विदेश जाँदा बेच्नु परेको उनले बताए । तर विदेशमा छोरो बिचल्लीमा परेपछि घरैबाट खर्च पठाएर छोरो फिर्ता बोलाउनु प¥यो । त्यसैले दुःख गरेको जोडेको एउटा भिटासमेत गुमेपछि अहिले सुकुम्बासी बन्नु परेको उनले बताए ।
जवान उमेरमा दमक आएका गणेश वृद्ध भइसके तर दमक झन–झन जवान हुँदैछ । आफू आएको बेला दमकमा फाट्टफुट्ट मात्र घर भएको बताएका उनी अहिले घरै घरले दमक नै देखिन छोडेको अनुभव सुनाउँछन् । समान बोक्ने विभिन्न साधन आएकाले अचेल आम्दानीसमेत घट्दा चिन्तित् बनेका उनले भने, ‘खै कहिलेसम्म सकिन्छ ठेला चलाउन, चलाउँदै जाने हो, नसकेका दिन जे होला नि ।’