समाचार

काँग्रेस दमक सभापतिमा तीन जनाको चर्चा

दमक/ झापाको दमकमा नेपाली काँग्रेस दमक नगर कमिटीको नेतृत्वको विषयलाई लिएर चहलपहल शुरु भएको छ ।
१० वटा वडाहरु रहेको दमकमा क्रियाशिल सदस्य करिव ३३ सय पुगेको छ । प्रत्येक वडाबाट क्रियाशिल सदस्य संख्याको आधारमा यस पटक पार्टीले समाबेशीकरणको सिद्धान्तलाई अनुसरण गर्दै क्षेत्रीय प्रतिनिधि चयन गर्ने छन् । निकै ढिलागरी हुन लागेको यस पटकको पार्टी अधिबेशनमा पनि दमकमा प्रष्ट रुपमा तिन धार देखिएको छ । पार्टी सभापति शेरवहादुर देउवा, संस्थापन भनिएको कोइराला पक्ष र पार्टीका पूर्व महामन्त्री समेत रहिसकेका नेता कृष्ण प्रसाद सिटौलापक्षका बीचमा प्रतिष्पर्धा हुने संभावना बलियो बन्दै गएको छ । दमक नगरको नेतृत्व चयनमा सहमतिबाट हुनसक्ने संभावना न्यून बन्दै गएको छ ।
दमक नगर समितिको सभापति पदमा अहिले घोषित अघोषित रुपमा तीन जनाको नाम कार्यकर्तावीच चुलिँदै गएको छ । जसमा दमकका बर्तमान नगर सभापति रोशन विष्ट, नगर सचिव प्रकाश प्रसाई र अघिल्लो १३ औ अधिवेशनमा नगर सभापतिमा पराजय व्यहोरेका पर्शुराम रिजालको नाम चर्चामा रहेको छ । युवा अवस्थाबाटनै काँग्रेस दमकको नेतृत्व सम्हाली रहेका विष्ट बर्तमान नगर सभापति तथा नेपाल विद्यार्थी संघ झापाका पूर्व सभापति पनि हुन् । यसैगरी विष्टकै नेतृत्वमा रहेको दमक नगरसमितिका सचिव प्रकाश प्रसाई व्यवसायीहरुका बिचमा चिनिएको नाम हो । दमक उद्योग बाणिज्य संघको पटक पटक नेतृत्व सम्हालि सकेका प्रसाई महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी पनि पूरा गरिसकेका छन् भने विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक क्षेत्रमा कामगर्दै आइरहेका छन् ।
यसैगरि युवा नेता रिजाल नेपाल विद्यार्थी संघ झापाको नेतृत्व गरिसकेका छन् । दमकमा यस पटकको अधिबेशनमा त्रिकोणात्मक बलियो प्रतिष्पर्धा हुने संम्भावना बन्दै गएको छ । नगरको बाँकी अन्य पदहरुका लागि पनि एकल रुपमा आ आफनो उम्मेदवारी घोषणा गर्ने क्रमपनि बढदै गएको छ ।

Author

You may also like