दमक/ दमकमा मासु तथा खाद्यान्नको मूल्य नबढाउन दमक नगरपालिकाले कडा चेतावनी दिएको छ । चाडपर्वको समयमा बजारमा बिक्री–वितरण भइरहेका मासुलगायत उपभोग्य वस्तुहरूको स्वच्छता, गुणस्तर र मूल्यमा एकरुपता कायम गर्न नगरले मासु ब्यवसायीलाई चेतावनी दिएको हो । सो सम्बन्धमा देखिएका समस्यालाई सम्बोधन गर्न दमक नगरपालिकामा बजार व्यवस्थापनसम्बन्धी महत्वपूर्ण छलफल तथा बैठक सम्पन्न भएको छ ।
दमक नगरपालिकाको सभाहलमा सोमबार बसेको बैठकको अध्यक्षता नगरप्रमुख रामकुमार थापाले गरेका थिए । बैठकमा उपप्रमुख रेगिना भट्टराई प्रसाईं, कर्मचारी, सुरक्षा निकायका अधिकारी, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
बैठकमा चाडपर्वका बेला बजारमा देखिन सक्ने मूल्यवृद्धि, मासुलगायत खाद्यवस्तुको स्वच्छता तथा गुणस्तर, अव्यवस्थित व्यापार र उपभोक्ता हित संरक्षणका विषयमा छलफल गरिएको थियो । छलफलपछि बजारलाई व्यवस्थित, स्वच्छ र उपभोक्तामैत्री बनाउने उद्देश्यले विभिन्न निर्णय गरिएको छ ।
बैठकले गरेका निर्णयअनुसार हाल कायम रहेका सबै प्रकारका मासुको मूल्य यथावत् राखेर बिक्री–वितरण गर्नुपर्नेछ । दीपावली र छठ पर्वपछि दमकका सम्पूर्ण मासु व्यवसायीसँग आवश्यक छलफल गरी थप निर्णय गरिने जनाइएको छ ।
त्यस्तै, सम्पूर्ण खाद्यान्न तथा उपभोग्य वस्तुमा मूल्य वृद्धि नगरी व्यवसाय सञ्चालन गर्नुपर्ने, व्यवसाय स्थलभन्दा बाहिर फुटपाथ वा सडक अवरुद्ध हुने गरी व्यापार गर्न नपाइने र व्यवसाय दर्ता गर्दा तोकिएको स्थानमा मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ ।
बैठकले गैरकानुनी रूपमा भन्सार छली गरी ल्याइएका फूललगायतका वस्तु तथा प्लास्टिकजन्य फूल
मासु…….बिक्री–वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरी नष्ट गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, दमक क्षेत्रभित्र सिटी रिक्सा तोकिएको स्थानमा मात्र पार्किङ गर्नुपर्ने र निर्धारित भाडादरभन्दा बढी रकम लिन नपाइने निर्णय गरिएको छ । बैठकले चाडपर्वका बेला उपभोक्ताको हितलाई प्राथमिकता दिँदै बजारमा स्वच्छता, गुणस्तर र मूल्यमा एकरूपता कायम गर्न सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।