बिहान दश बजे नातिलाई स्कूल पु¥याएपछि १ बजेसम्म म फुर्सदीलो भएँ । किनभने आज शुक्रबार थियो, विद्यालयमा अतिरिक्त क्रियाकलाप थिए । अनि नानीहरूको सकिने समय यही थियो । अर्थात् ३ घण्टाका लागि म स्वतन्त्र भएँ ।
मैले केही कामहरू गर्नु थियो आजै । पहिलो कुरा, मैले अखबारका लागि मेरो नियमित लेख सम्पन्न गर्नु पर्ने थियो । अर्को, मैले क्याम्पसको मेरो विभागको अर्धवार्षिक प्रतिवेदन सक्नु पर्ने थियो । तेस्रो, मेरो सम्पादनमा रहेको अनुसन्धानात्मक लेखहरूको संग्रह ‘जर्नल’ को सम्पादन, प्रकाशन र नेपाल जर्नल अनलाइनमा दुई दिन भित्रमा प्रविष्ट गर्नुपर्ने बाध्यता थियो । तेस्रो, मेरो सम्पादनमा रहेको ‘विचारमूलक लेखहरूको’ बिभागीय प्रकाशनको अंतिम रूप दिन त्यसको सम्पादकीय आजै लेखीसक्नु पर्ने थियो । त्यो लिएर प्रेसमा पनि आजै जानुपर्ने थियो ।
यी बाहेक, श्रीमतिले के के सामान डिपार्टमेन्ट स्टोर्समा गएर ल्याउन भनेकी थिइन् ।
ल्यापटप साथैमा लिएर हिँडेको हुनाले त्यो ३ घण्टाको समयलाई सदुपयोग गर्ने निधो गरें । यो समय मेरो लागि कठीन नभएर चुनौतीपूर्ण थियो ।
मैले विद्यालयमा नातिलाई छाडेर गाडी अगाडि बढाएँ । सहरमा धेरै चौक र गल्लीहरू भएको हुनाले म अलिक ठूलो गल्ली समातेर अघि बढें । ढकाल चोक पुगें (स्थानको नाम परिवर्तन्) । गल्ली फराकिलो भए पनि गाडीहरूको पार्किङ्ग, सिटी रिक्साको जुलुशले गाडी पार्किङ्ग गर्न मुस्किल भयो । त्यसैले अभैm अगाडि गएँ । उखुका रस बनाएर बेच्ने सटर अगाडि पुगेर त्यतै गाडी राखेर कतै बसेर लेख्नु पर्ला भन्ने सोचें । त्यहाँ अलिक खुल्ला थियो । र गाडी रोकें ।
‘दाई, यहाँ पसल अगाडि हुन्छ । नराख्नुस ।’
‘उखुको रस खाने विचारले मात्रै रोकिन खोजेको ।’ पुसको चिसोमा भएपनि काम गर्नकै लागि रोकिने निधो गरें र रसको बाहाना गरें ।
‘ए, ल आउनुस त ।’
म प्लास्टिकको कुर्सीमा बसें र ल्यापटप निकालेर खोलें ।
‘दाइ, लिनुस् ।’ पसल्नीले उखु पेलेर रस ल्याइसकिछन् ।
मैले समातेर पिएँ ।
एकैछिनमा अरू मानिसहरू सुन्तोलाको रस खान भनेर आए ।
‘दाइ, तपाईंले लिइसक्नु भयो । यो कुर्सी छाडिदिनुस, ल?’
मैले उठ्नु पर्ने भयो ।
कम्प्युटर झोलामा हालें र गाडी अगाडि बढाएँ । नयाँ बजार छेउमा पुगेर गाडी रोकें । मलाई बस्ने स्थान चाहिएको थियो । तर त्यहींबाट सब्जीबजार सुरूहुन्थ्यो । सिटिरिक्साको जुलुस झनै बढ्यो ।
‘कहाँ राख्नु भएको गाडी ? ठोकियो भने हामी जान्दैनौं नि ।’ एउटा रिक्सावालाले मलाई हप्कायो । साँच्चै हिर्काइदियो भने त नोक्सान हुन्छ । अब पिसावले पनि च्याप्न थाल्यो । अघिको चीसो पानी निस्किने भो ! घरहरूको जंगलमा बजार थियो । तर पानी प्mयाक्ने ठाउँ थिएन ।
त्यसपछि गाडीमा बसेर अघि बढें । हेरें बाटाका दुबैतिर । आलिसान घरहरू । सरकारी (ओइलेनी) जग्गा व्यक्तिका नाममा दर्ता गरेर कमाएका पैसाले बनेका घरले आकास छुन खोजिरहेका थिए । सरकारी जग्गा, यतिसम्म कि खोला खोल्सा पनि, व्यक्तिका बनाएर ‘फाल्टु मान्छेहरूले खुट्टा टेक्ने ठाउँ’ नभएको कुरूप तर ‘उत्कृष्ट’ र ‘पुरस्कृत’ सहरका गल्लीमा पिसाव फेर्ने ठाउँ खोज्दै थिएँ म । बिकसित मुलुकहरूमा प्रत्येक टोलमा सार्वजनिक पार्क हुन्छन् । त्यहाँ सबै सुबिधा हुन्छन् समय गुजार्ने, मनोरञजन गर्ने र आप्mनो काम गर्ने । अनि मूल सडकका छेउमा पार्किङ्ग सुविधासहितका ठूला ठूला सार्वजनिक पुस्तकालयहरू हुन्छन् जहाँ घण्टौंसम्म बसेर लेख्न र पढ्न मिल्छ । तर मेरो त्यो उत्कृष्ट र पुरस्कृत सहरमा म भौतारिंदै थिएँ एकछिन अडिने ठाउँ खोज्दै । तर कतै भेटिएन ।
‘आउ, फटाफट सामान किन, अनि फटाफट घर जाउ ।’
पिसाव आयो भने थाम । सुगर रोगीहरूले सामान किन्न भरसक नआउनु ।
यही नारामा बाँचेको छ यो सहर ।
त्यसपछि मैले सोचें, घरै जाउँ । फेरि आइहाल्नु पर्छ । घरमा पुगेपछि फेरि आउन अल्छी लाग्छ । त्यसैले यतै कतै रोकिएर एकछिन लेखौं । त्यसपछि अलिक पर फर्निचर लाइनमा पुगें र गाडी रोकें । दुबैतिर फर्निचरले छोपेको सडकमा गाडी र सिटी रिक्साको भीड थियो ।
‘के चाहियो ?’
‘तपाईलाई के चाहिएको हो ?’
‘के सेवा गरौं ?’
यी थिए बाटाका दुवैतर्पmका बिक्रेताका ममाथि बर्षिएका प्रश्नहरू ।
‘अहिले केही लाने होइन ।’
‘हेर्न त हेर्नुस् ।’
म गाडी स्टार्ट गरेर अघि बढें ।
फार्मेसी लाइनमा पुगें । सोचें, गाडी यहीं पार्क गरेर कतै बसेर लेख्नु प¥यो । रोकें । परबाट सिटी बजाउँदै नगरप्रहरी आइपुग्यो ।
‘यहाँ त पार्क गर्न मिल्दैन त सर ।’
‘अब आप्mनै टाउकामा पार्क गरौंला !’ यति भनेर म अगाडि बढें ।
नयाँ सब्जी बजार छेउमा रोक्ने निधो गरें । तर बस्ने ठाउँ कतै थिएन । पिसाबले च्यापिरहेको थियो । सोचें, बसपार्क जाउँ यसका लागि । फेरि सोचें, हैट, लाज हुँदैन ? त्यो त यात्रुहरूका लागि पो त । रूखका बोटहरू पनि एसियन हाइवे बनाउन सबै खुइल्याइए । न त बसेर लेख्ने ठाउँ छ, न त कतै पिसाब गर्ने ठाउँ छ । न त कतै बाँद्धिक गफ गर्ने ठाउँ छ ।
फेरि आपैmलाई गाली गरें, ठाउँ त किन छैनन् ? लाखौं छन् नि । होटल र रेस्टुरेन्ट अपरान्ह नहुँदै भरिन्छन् । चुरोट खाने लाखौं ठाउँ छन् । रक्सी खाने हजारौं ठाउँ छन् । सामान किन्ने हजारौं ठाउँ छन् । तास खेल्ने हजारौं ठाउँ छन् । राजनैतिक फन्टुस गफ गर्ने हजारौं ठाउँ छन् । मान्छे बोक्ने हजारौं सिटि रिक्सा छन् । घरघरमा उच्च कोटीका पार्टीहरू छन् । दलका सरसल्लाह गर्ने हजारौं ‘टेबलहरू’ छन् ।
जाबो तँ धनञ्जयलाई त्यो ल्याङ्गल्याङ्ग गर्ने लेख लेख्ने ठाउँ किन चाहियो ? लेखेर आजसम्म केही भएको छ ? लेखे पढेर आजसम्म कोही परिवर्तन भएको छ ? लेखेर केही भएको छ ? अनि किन दिनु लेख्ने ठाउँहरू ? किन दिनु पढ्ने ठाउँहरू ? किन दिनु डिस्कोर्स गर्ने केन्द्रहरू ?
यो धनञ्जय जस्ता लेखकहरूलाई त उभिने, सास फेर्ने पनि ठाउँ दिनु हुँदैन !
त्यसपछि सम्भेंm, कि त पाँच किलोमिटर पर गएर पैसा तिरेर पार्कमा जाउँ, कि घर जाउँ भन्यो मनले । निकै गारो भयो । यति घुम्दा १ बजे छ । नातिलाई लिएर घर गएँ ।
हतार हतार ट्वाइलेट छिरें ।
अनि संभेंm, यो सहरलाई उत्कृष्ट भन्दा पनि माथि ‘सर्बोत्कृष्ट’ घोषित गर्न सरकारसंग माग गर्ने भन्ने निधो गरें ।
र यो लेख तयार पारें ।
त्यो सहरको नाम दमक रहेछ भनेर बुभ्mनुभयो पनि हुन्छ ।
– दमक, झापा