देश–समाज राष्ट्रिय समाचार स्थानीय

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा विविध कार्यक्रम

दमक/ आधुनिक नेपालका एकीकरणकर्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आइतबार देशभर विभिन्न कार्यक्रम गरी उल्लासपूर्वक मनाइयो। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहको स्मृतिमा सिंहदरबार पश्चिम ढोका अगाडिको सालिकमा पुष्पहार अर्पण गर्दै सम्मान गरिएको छ। शाहले बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपाल निर्माण गरेका थिए ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता शाहप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पहार अर्पण गरे। कार्यक्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो। त्यहाँ उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे तथा मन्त्रीगणको उपस्थिति थियो। सहभागीहरूले शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमसत्ताको सन्देश आज पनि सान्दर्भिक रहेको उल्लेख गरे।
नेपाली समाजमा विविधताबीचको एकताको भावना फैलाउने शाहको प्रयासको स्मरणमा हरेक वर्ष पुस २७ गते “राष्ट्रिय एकता दिवस”का रूपमा मनाइँदै आएको छ। शाहको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो।
राप्रपाद्वारा चियापान तथा श्रद्धाञ्जली कार्यक्रम
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा चियापान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न दलका नेता तथा सर्वसाधारण सहभागी थिए । राप्रपाले शाहको योगदानको स्मरण गर्दै राष्ट्र एकताको सन्देशलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ। पार्टीले हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ ।
मोरङको उर्लाबारीमा पृथ्वी जयन्ती
यसैबीच, मोरङको उर्लाबारीमा राप्रपा नगर समितिले राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्ती धुमधामसहित मनायो। कार्यक्रममा शाहको तस्वीरमा माल्यार्पण गरी उनको योगदानको चर्चा गरिएको थियो। वक्ताहरूले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको जगेर्ना सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य होम गौतम, प्रदेश कोषाध्यक्ष पूर्ण वाइबा, युवक संगठनका संयोजक प्रतीक आचार्यलगायतका नेताहरू उपस्थित थिए। सभापति देवीप्रसाद दाहालले पृथ्वी जयन्तीलाई सबै नेपालीले एकताको प्रतीकका रूपमा मनाउनुपर्ने बताए । राष्ट्र निर्माता शाहको योगदानले नेपाली पहिचान र राष्ट्रिय स्वाभिमानलाई मजबुत बनाएको स्मरण गर्दै देशभर पृथ्वी जयन्ती श्रद्धा, सम्मान र एकताको भावनासहित मनाइएको छ ।

Author

You may also like