देश–समाज विचार/वहस स्थानीय

‘पुराना’–का काँचुलीसँग किन डराउनु छ र जेन–जेडले ?

:– नकुल काजी –:
गत भदौ २४ अघिको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छद्मजाली छायामा पार्दै जवरजस्त र लोकतन्त्रको दृष्टिमा विरूपीकृत रूपमा पन्पाएको थियो देशमा ’पछिल्लो ओलीतन्त्रकाल’ ! २०४७ सालयताको शासकीय नवाबी सुखसाध्य रजगजकालको समग्रताद्वारा पोषित कुशासनबाट समेत जनतामा उत्सर्जित चरम बेथितिले ’आजित र बिदीर्ण अवस्था’–को पहिलो विभ्रान्त विस्फोट थियो – जम्माजम्मीमा जेनरेसन–जेड (‘जेन–जी’ ?) विद्रोह । र, त्यो विद्रोहलाई ओलीको सदावहार अराजक छुल्याइँ, छुच्च्याइँ र दम्भप्रेरित अभिव्यक्तिहरूले आज महत्वहीन सिद्ध गर्न उनैका महेशद्वय र शंकरहरू जस्ता केही अग्र–उग्र हजुरिया सेवकहरू समेत कन्दनी कसेर लागेका छन्! तिनले निर्वाचनमा कुन मुख देखाएर वा ‘कुकुरको निद्रोा’–मा मतदाता सुताएर वा ’छेपारोका रङ’ जस्तो बदल्ने ट्याउटिस सिकाएर अथवा स्वैरकल्पनाकृत विशालकाय ’गोहीको आँशु’ बगाएर ’साध्य’ हुने हो त? यो ऐंठन प्रखररूपमा उदित छ ! यस्तो छत्ताछुल्ल वैयक्तिक स्वार्थ निर्दिष्ट भई बुद्धि–विवेककै नसच्छेदन (भ्यासेक’टमी) भएकाहरूको प्रसंग लम्ब्याइहनुको खासै ओैचित्य त थिएन नै ! तर, मुख धुन सजिलो होस् भनेर नाक काटेर फाल्नु पनि अनौठो किसिमको रमाइलै विषय हो, जो उनीहरूबाट निर्लज्ज प्रदर्शन भइरहेको छ भन्नसम्म त भन्नु नै पर्याे नै !…
जेन–जेडले नागरिकमा उत्पन्न गराएको उत्साहकै अपूर्व ज्वारभाटाको ऊर्जा उसैको सम्पत्ति बनेको थियो तापनि उसमा ’गरिखाने’ लक्षण क्रमशः भिमलाउँदै गएको यो नितान्त वर्तमानमा समेत ’पुराना’ नेता नामका, प्रजातन्त्रको आदर्शका हकमा, विलोम मतिका ’नेगियारहरू’–कै लर्काे जतातत्तै देखिन थालेका छन् । ती नेगियारमध्ये कोही फेरि नैतिक जिम्मेवारीलाई उखान–टुक्कादार छुस्कर भाषण बासेर नागरिकलाई सम्मोहित गर्ने काँचुलीमा प्रस्तुत छन् । त्यस्तै, अन्य ’प्राइभेट लिमिटेड’–को रूपका ज्ञात–अज्ञात दश थान पार्टीका कुण्ठित ’हरुवा मुखिया’–हरू एकत्रित भएका छन् । आसन्न निर्वाचन लक्षित थोत्रो ढ्यंग्रोरूपी ’एकीकरण’–को वहानामा तिनले पनि काँचुली फेरेका हुन् । यो जेन–जेडसँगको भय र संत्रास धपाउने मेलो नै हो जो जनताको बोधग्रन्थीले झट्ट बुझ्नसक्ने छैन  । अतः साविकको कमाउकान्ते चलखेलको प्रकृति, प्रवृत्ति र चरित्र–निर्देशित र अभिशप्त ठहर भएका निर्लज्जहरू भूइँ नेपाली छक्याउन गर्धन फुलाएर राजनीतिक मैदानको उफ्रीपाफ्रीमा छन् तापनि तिनका आभ्यन्तरिक ’पराजित भावनिश्रित अवयव’ तिनका अनुहारमा मेटिन सकेका छैनन् । यस्तो स्थितिमा जेन–जेडको एकता टुटाउन र आम नागरिकलाई भ्रममा पार्ने सूत्र नै उनीहरूको राजनीतिक भाँडभैलोको प्रस्तुतिमा बिम्बित भइरहेको बुझ्नुपर्ने हुन्छ । उता फेरि जेन–जेडभित्रको फुट, गुट र तिनमा निहित, मूल–मार्गचित्रको बर्खिलाप, असौम्य महत्वाकांक्षा अभिशाप बनिरहेको विश्लेषण पनि हुन थालेको छ । साविकका निरंकुश शासकीय उन्मादको स्वादमा पल्केका जिब्रो पढ्काएर आजको यो जनउत्तरदायी पिँढीलाई तर्छाउन बर्बर धावा बोलिरहेका ’पुराना’(हरूका प्रति यही जेन–जेडको बहादुरीले उचालेर सरकारका कुर्सीमा बसाइएका पात्रहरू पनि देखादेखी पुरानाहरूकै भाका र लयमा नाचिरहेका आभास हुँदैछ । फलतः यदाकदा लोकमतसँग सरोकारै नराख्ने शाही अध्यादेश जस्ता दुर्भाग्यपूर्ण अभिव्यक्ति र व्यवहार पनि सुनिन–देखिन थालेका छन् । यसो भइरहँदा पनि जेन–जेड शिविर व्यक्तिगत विचाराभिव्यक्तिको टुक्रे–ठेट्ने भूमरीमै अरल्लिरहेको देखिन्छ । उनीहरूकै विद्रोहबाट थपिएको संकटको भुमरीमा देश ’भारीमाथि सुपारी’ भनेझैं छटपटाइरहेको जानकारी जेन–जेडलाई अवश्यै होला ! त्यसो भए, यो हाल–साविक संकट मोचनको उत्तरदायित्व निर्वहनमा उनीहरू किन पछि परिरहेका छन् त ? – जस्ता तिखा र तरस्वी प्रश्नहरू दैनन्दिन बढिरहेका छन् ! भ्रष्टाचारले सामाजिक र राष्ट्रिय संस्कृतिकै रूप लिने हैसियत बनाइसकेको थियो र यसैको कारण देशले लोकतान्त्रिक गति लिन सकेको थिएन । अतः त्यही भ्रष्टाचारका बहुरूपी नाकाहरू बन्द गराउने र देशमा सुशासन कायम गराउने, जो हाल– साविक नेताहरूबाट हुन सक्तैन मात्र किन, उनीहरूबाटै मूलतः जनघाती–देशघाती लुट–अनियमितताले प्रश्रय पाइरहेको भावभूमिमाथि उभिएको थियो – सक्कली जेन–जेड र त्यसको मार्गचित्र । तर, त्यसैको विद्रोहबाट तुलिएको सरकारको मूल कार्यभारभित्र ती विषयहरू परेको देखिँदै छैनन् भने जेन–जेडका विद्रोहीहरूले पनि लोकको सर्वस्वीकार्य सो मार्गचित्रलाई मूल मुद्दा बनाएर उभ्याउन सकेका छैनन् ! अनेक किसिमका देशी–विदेशी शकुनि पाशारूपी षडयन्त्रका प्रयोक्ता बनाएर आ–आफ्ना बुख्याँचा घुसाई जेन–जेडमा समाविष्ट योद्धाहरूलाई दिग्भ्रमित तुल्याउने प्रयासमा पूर्व शासक दलहरूको घनचक्कर नै चलिरहेको देखिंदो छ । यस प्रकरणमा, यही विद्रोहले सत्ताच्यूत गराइएको दल अग्रपंक्तिमा छ भने अरूहरू पनि तिल्मिलाएर प्रत्यक्ष–परोक्ष रूपमा टेढा–बाङ्गा हरकतमा उतारु छन् । यस्तो अवस्थामा जेन–जेड समूहले आफ्नो शुरुवाती मार्गचित्रका प्रति आत्मनिवेदित एवम् दृढ अडान राखेर उसैले तुल्याएको सरकारलाई तदारुक बनाउन सक्नु पर्दथ्यो । तर संविधान, विधि–विधान सबैको कुनै न कुनै रूपमा एक–एक गर्दै पक्षाघात गराउँदै आफ्नो र आफ्ना नातागोता तथा हनुमान–चालीसेहरूको ’हुँदो’ गर्दै आएका सत्ताशक्तिका दुव्र्यसनीहरूको गतिविधि पो यतिखेर खूबै बढेको देखिंन्छ । अझ, गणतन्त्रोत्तर उदरम्भी परम्परागत शक्ति–जत्थाले पुनः काँचुली फेर्ने माहुर–माहुर गर्न थालेको स्थितिसँग जेन–जेड डराउँदै गएको र त्यसले उपस्थापित गरेको मौजूदा सरकार पनि नतमसतक हुँदै गएको आम अनुमान हुँदैछ । यदि यो, उद्विग्न जन–अनुमानमा प्रकीर्ण अनुभूति, सत्यमा आधारित छ भने जेन–जेठको प्रलयकारी विद्रोह पनि अब ’२४ घण्टे अनुष्ठानको तमाशा’ मात्रमा इतिहासले दर्ज गर्ने स्थितिमै पुगेर थान्को लाग्ने स्थिति छ ! अन्यथा, यदि उपर्युक्त अनुमानमा सत्यता छैन र जेन–जेडको हालको अवस्था ’आँधी आउन अघि आकाशमा छाउने सन्नाटा’ जस्तै मात्र हो भने त्यही हो नेपाली जन–मनको आजको पछिल्लो अपेक्षा पनि । र, अधिक बहुप्रतिशत नेपालीको हार्दिक कामनाले परिवेष्टित आजको यो ’अपेक्षा’–लाई जेन–जेडले आफ्नो आत्मबलको पृष्ठशक्ति बनाउनु पर्दछ । ’लोकशक्ति’–मा निहित सामथ्र्यभन्दा बलवान अरू कुनै शक्ति र सामथ्र्य आजको विश्व–मण्डलमा परीक्षित छैन  । त्यो शक्ति शुरुकै स्वरूपमा दुर्दम्य भई अब पनि अविकृत रहेर जेन–जेडको मेरुदण्ड बन्न सकोस् । जेड–जेड डराइरहेको भए त्यो डरको अचुक र वेजोड ओैषधि यही हुनेछ ।
बस्, आजलाई यति नै ।…

Author

You may also like