:– प्रा.डा. बद्री विशाल पोखरेल :–
जननेता मदन भण्डारीले एमाले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन प्रयत्न गरेका थिए । त्यसैले त उनले जनताको मन जितेर राजनीति राजकीय क्षेत्रको नेतृत्व हासिल गर्नु पर्छ भनेका हुन् । मदन त देशलाई नै प्रतिभाको फूलबारी निर्माण गर्न लागिपरेका थिए  । यस्तो काम मदनको अवशानसँगै सेलाउन थाल्यो । अब बिलाउने हो कि भनेझैँ देखिन्छ । कम्युनिस्टहरुको प्रतिस्पर्धा आफू मात्र ठूलो र महान् ठान्ने हुने सामन्तवादी र पुँजिवादी खालको होइन । तिनको प्रतिस्पर्धा समाजवादी हो । यसको अर्थ आफू एक्लो मात्र होइन सिङ्गो आफ्नो वर्ग, समूह, समुदाय र समाजलाई नै सक्षम बनाउनु हो । तर अहिले पार्टीमा पुँजिवादी भन्दा पनि चरम सामन्तवादी प्रतिस्पर्धा अर्थात् म हात्ती, अरु सब भुसुना भन्ने कर्मले शिखरारोहण गरेको स्थिति छ । म, मेरो, मलाई र मैले मात्र भन्ने गरेको प्रमुख नेताबाट सुनिन्छ । मानौँ महाराज हुकुम गरिरहनु् भएको छ र अरु सबका सब रैती हुन् र उनीहरु पुराण सुनिरहेका छन् । यस्तो सम्मको स्थितिमा पनि मुख सिएर बस्नु जस्तो दुर्भाग्यपूर्ण कुरा अर्को के हुनसक्छ ! अनेक प्रतिकूलता विरुद्ध संघर्ष प्रतिभाहरु जन्मिँदा रहेछन्, ढुङ्गाको काप छेडेर पनि पीपल उम्रन्छन्  । तर सबै प्रतिभा पीपलझैँ जन्मिन र हुर्किन सक्तैनन् । त्यही भएर प्रतिभा जन्मिने र जन्माउने उपययुक्त परिवेश निर्माण गने उपाय मदनले निर्माण गरेका हुन् । तर मनजित्ने भन्दा मन चिमोट्ने र निमोठ्ने चरित्र र चिन्तन हाबी प्रभावी भएको देख्दा आम एमाले अत्यन्त दुखित देखिन्छन्  । तथापि अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेलजस्ता अजम्मरी फूलहरु फुलिरहेकै छन् तिनले सुगन्ध र सुवास फैलाइरहकै छन् । पुष्पलाल, मनमोहन, मदन र सहाना प्रधान अजम्मरी फूलजस्ता जीवन फूल हुन् । यस्तो जीवन पो जीवन हो त ? छेस्के, छुस्के र क्षुद्र जीवन के जीवन ? फूल जस्तो कि शूलजस्तो कस्तो जीवन रोज्ने हो नेताहरु नै जानून् ।
अष्टलक्ष्मी शाक्य अविवाहित अवस्थामा नै माइतीघरबाट भागेर भूमिगत राजनीतिमा सक्रिय भइन् । भूमिगत कालमै अमृत बोहरासित विवाह गरिन् । १५ महिने छोरालाई आश्रय स्थलमा छाडिन्  । र आफू रुँदै र छोरालाई समेत रुवाउँदै पार्टी काम गरिन् । आमा सम्झेर छोरा रुँदा पनि भेट्न आउने अनुकूलता उनलाई भएन । आमा एकाातिर र छोरा अर्कातिर रोएको अहिले सम्झँदा पाठकको मन रुन्छ । यस्ता दुख,दर्द र सकस र संघर्ष व्याहोरेकी शाक्य साँच्चै महान् हुन् । शाक्य ०४६ पछि भूमिगत राजनीतिबाट खुल्ला भइन् । अनि छोरा विश्वाससित शाक्यको भेट भयो तर छोरा विश्वासले आफ्नी आमा र बाबुलाई नचिन्दाको अनुभूति कति पीडादायी भयो होला ?  । यो कुरा पितृतन्त्री ग्रन्थि ग्रसित पाषण हृदयी पुरुषलाई मात्र होइन नामका महिलालाई पनि थाहा नहुनसक्छ । थाहा हुँदो होे त सहकर्मी र सहयोद्धाको मन र मुटु चिमोट्ने र घाँटी निमोठ्ने कर्मको प्रतिवाद गर्ने थिए  । महिला अस्मिता माथि दिन दहाडै धावा बोल्दा चुइक्क नबोले महिला के महिला ?
महिला नेताहरुले भूमिगत कालको पार्टी जीवनमा भोगेका सकस र संघर्ष कहाली लाग्दा देखिन्छन् । लोचना अधिकारीले भूमिगत कालका रातीराती पार्टी काममा जाँदा बाघबाट बाच्न रुखमा चढेर बचेको, भूमिगत हुँदाकै बखत गर्भवती हुँदा पौष्टिक खानाको अभावमा अपाङ्ग छोरा जन्मिएको दर्दनाक पीडा उल्लेख गरेकी छिन् । गोमा देवकोटाका अनुसार पति ऋषि देवकोटा आजादको निर्मम हत्यापश्चात् नुनिलाा आँसु पिएर बाँच्नु परेको थियो  । उनले गाउँघर र छरछिमेकमा महिलाहरुसित भेटेर कुराकानी गर्दा समेत छिमेकीले बुहारी बिगार्न आएकीजस्ता अनेक गाली आफूले खानुपरेको बताएकी छिन् । जया घिमिरले प्रहरीको पक्राउमा परेर आफू डोरीले बाँधिएको असाध्य पीडामय अवस्था बताएकी छिन् र उनले आफू भाग्न खोज्दा प्रहरीले गोली चलाए पनि संयोगले बाँचेको बालबाल बच्न सकेको अवस्था उल्लेख गरेकीछिन् । यसरी घर परिवार आफ्नो जिउज्याानको पर्वाह नगरी कम्युनिस्ट आन्दोलन उठाउने,जोगाउने र जगाउनेको नाम छैन केही वर्ष जेल परेको भनेर फुइँ हाँकेको मात्र होइन म नै सर्वे सर्वा भनेकाो देख्दा लाज नै लजाउँछ ।
हुन पनि विश्वेश्वरा दाहाल, पवित्रा निरौला, पूर्ण शोभा चित्रकार, लीला कट्टेल लगायत महिलाले भूमिगतकालदेखि हालसम्म अनवरत रुपमा पार्टी निर्माण र विकासमा गरेको योगदान विशिष्ट रहेको छ । हजारौँ सहिदहरुको बलिदानीपूर्ण संघर्ष, त्याग र बलिदानलाई कसैले पनि बिर्सन मिल्दैन । विगत कालका कुनै पनि कसैले पनि गरेका गुनलाई घुनलेझैँ ठान्नु र दुत्कार्नु हँुदैन । र अझ अहङ्कारी लोली र बोलीमा एउटा कम्युनिस्ट र अझ जबजको उच्च तहको नेतृत्वले हुङ्कार गर्न पटक्क सुहाउन्न । प्रसिद्ध लेखक सइन्द्र राईले एक लेखमा अष्टलक्ष्मी शाक्यलाई पार्टीकी रक्षा कवच मानेका छन् । हुन पनि खास महत्वाकांक्षा नाख्ने, आफूमात्र अवसरहरु लिन हत्ते नहाल्ने,महिलालाई अझै पनि समानतापूर्ण र सम्मानपूर्ण व्यवहार नगरे पनि निरन्तर यसमा संघर्षरत रहने, पार्टीमा आफू सिनियर भए पनि तदन्ुसारको व्यवहार नहुँदा नआत्तिने आजीवन संघर्षरत रहने सती सालझैँँ सधै खडा रहने स्वभाव शाक्यको रहेको देखिन्छ । अझै पनि एमाले पार्टीमा अनेकौँ कोपिल, पल्लवित र पुष्पित फक्रिँदै गरेका प्रतिभाहरु छन् तर तिनको अवस्था अबका दिन के होला भन्ने चिन्ता पार्टी जनमा व्याप्त देखिन्छ । यस क्रममा यस लेखमा उल्लेख गर्न लागिएका अर्का फक्रिएका फूल हुन् ईश्वर पोखरेल ।
इश्वर पोखरेल कम्युनिस्ट राजनीतिप्रति ११ वर्षको बाल्य वयदेखि नै झुकाव राख्थे । २०२६ सालमा युवा उमेरमा नै अनेरास्ववियुको नेतृत्व तहमा आवद्ध हुँदै पोखरेल आज पर्यन्त राजनीतिमा सक्रिय रहेका छन् । मदनको दुखद् र षडयन्त्रपूर्वक हत्या पश्चात् पोखरेल सहितले के.पी. ओलीलाई महासचिव बनाउन चाहेको केशव बडालले आफ्नो कृतिमा उल्लेख गरेका छन् । १० औँ महाधिवेशनमा अध्यक्ष हुने ओलीको चाहना पूरा गर्न इश्वर पोखरेलसहित काँध थापेरै लागिपरे । माधव कुमार नेपाल र झलनाथ खनाललाई अध्यक्ष बनाउन पनि पोखरेलले काँध हाले । उनले यो वा त्यो पदका लागि अहिले सम्म हत्ते हालेको पाइन्न । सधैँ आफूलाई भन्दा अरु नेतालाई महासचिव र अध्यक्ष बनाउन उनी लागिरहे । पोखरेल पठन र लेखन संस्कृति प्रेमी हुन् भन्ने यस लेखकसितको पहिलो साक्षात्कारबाट थाहा भएको थियो । उतिबेलै पोखरेललाई लेखकमैत्री भावनाका पाएको थिएँ । उनी ल जबज प्रतिप्रतिबद्ध र त्यसैमा समर्पित नेता हुन् । यो कुरा पार्टी पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई अध्यक्षले नै प्रयोजित विवादमा तानेर सडकमा तानेर ल्याए । उक्त अन्तर्विरोध सुल्झाउन सन्तुलित भूमिका पोखरेलले खेलेका थिए । जबजले जनता,कार्यकर्ता, सहयोद्धा र सहकर्मीको मन जितेर नेतृत्व हासिल गर्नु पर्छ भन्छ । त्यसका विपरीत मन चिमोट्ने, निमोठ्ने र चिथोर्ने कुरा जबजअनुसार सर्वथा गलत छ । माक्र्सवाद र जबजका अनुसार काममा आफू अघि र अवसरका बेला सकेसम्म अरुको नाम प्रस्तावित गरिन्छ । एउटा उच्च तहको कम्युनिस्ट नेताले हिन्दीको एक उखानमा भनेझैँ माने मान, मै तेरा मेहमान भन्दैन । भुइँ तहदेखि क्रमशः पार्टी र सरकारको पनि माथिल्लै तहको ज्ञान अनुभव सहितको नेतृत्वले पार्टीलाई सबल बनाउन सक्छन् र यिनले नै पार्टीलाई शिखरतिर उन्मुख गराउँछन् । त्यसैले शाक्य र पोखरेलजस्ता त्याग समर्पणका प्रतिमूर्तिले नै कुशल अभिभावकीय भूमिका निर्वाह गर्न सक्छन् । यिनै पार्टीका अजम्मरी फूलहरु हुन् ।
(इटहरी निवासी लेखक वरिष्ठ बुद्धिजीवी तथा एमाले पूर्व केन्द्रीय सदस्य हुन् ।)

Author

You may also like