दमक/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दमक आउने तयारी लगभग पूरा भएको जनाएको छ ।
माओवादी केन्द्र दमकको फागुन ३ गते हुने दोश्रो नगर सम्मेलन समारोहलाई सम्बोधन गर्न उनी दमक आउने र त्यसका सवै तयारी अन्तिम चरणमा रहेको पार्टीले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले समाजवादी क्रान्तिको आधार देशको पूर्वलाई बनाउनेगरी जनतासँग माओवादी नामको जागरण अभियान संचालन गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा झापा जिल्लाबाट समाजवादी क्रान्तिको आधारशिला खडा गर्नेगरी जागरण अभियान संचालन गर्ने तयारी रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले बताए । सो अवसरमा माओवादीका युवा नेताहरु वैकल्पिक केन्द्रीय सदस्य वीरेन्द्र बस्नेत र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी (गगन) लगायत झापा जिल्ला संयोजक राजु आचार्य ‘अग्नि’ लगायतको उपस्थिति रहेको थियो ।
जनतासँग माओवादी कार्यक्रम भने झापाबाट शुरु गरेर देशभरिनै संचालन गर्ने भएको छ । फागुन ३ गते हुने खबरदारी सभा देशमा विद्यमान भ्रष्टाचार र वेथिति विरुद्ध तथा सुशासन र समृद्धि स्थापनाका लागि भएको र यसअघि देशका विभिन्न ठाउँहरुमा गरिसकिएको सो पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
दमकमा फागुन ३ गते दिनको मध्यान्ह १२ बजेदेखि सभा शुरु हुने र त्यसक्रममा अध्यक्ष प्रचण्डलाई विभिन्न समूहद्वारा विभिन्न समस्याका बारेमा सरोकारवालाहरुले ज्ञापन पत्र बुझाउने, दमक बहुमुखी क्याम्पसका केही विद्यार्थी नेताहरुले सो क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यता दिलाउन पहल गरिदिन आग्रह गर्ने र जसपा नेपालका एक जना युवा नेतासहित दर्जनौं अन्य पार्टीका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्दा स्वागत सत्कार गर्ने जस्ता कार्यक्रम रहेका छन् । अध्यक्ष प्रचण्डलाई देश विकासको समाजवादी नयाँ मोडलका बारेमा पनि केही अगुवाहरुले अवधारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । अध्यक्ष प्रचण्डले यतिबेला माओवादी केन्द्रले जनतामाझ गएर उनीहरुका जनजीविकाका सवाल र गुनासाहरुसँग साक्षात्कार गर्ने मौका रहेको र त्यसको भरपुर सदुपयोग गर्ने बताउँदै आएका छन् । पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका दमक नगर अध्यक्ष रवि बस्नेत र संचालन सचिव डम्बर बोहोराले गरेका थिए ।