दमक/ आजदेखि २०८१ साल समाप्त भएर २०८२ साल लाग्दैछ । बितेको वर्षका उपलब्धी तथा घटनाक्रम बाहिर आउने क्रम जारी छ । एकासी सालको वर्ष बित्नै लाग्दा प्रत्यक्ष देखिएको र चर्किएको विभिन्न वर्गबाट गरिएका आन्दोलन नै हुन् । दर्जनौं आन्दोलनहरु चलिरहेका छन् । आन्दोलनका मागलाई समाधान गर्नेतर्फ सरकार पक्ष गम्भिर भएको पाइँदैन । त्यसको अलवा वेवास्ता गर्ने र पेल्ने सरकराको मनस्थिति देखिएकाले एकासीको आन्दोलनको पोको बयासीका लागि उपहार स्वरुप एक डोको भएको छ ।
¨ सरकारले चलाएको कुशासनको जगमै टेकेर व्यवस्था नै पल्टाउने दाउमा राजावादीहरु छन् । चैत्र १५ गतेको राजावादीको आन्दोलन हिंसात्मक बन्दा २ जनाको ज्यान गयो भने २३ जनामाथि प्रहरीले गोली चलाएको छ । कैयौ अंगभंग भएका छन् । उनीहरुको आन्दोलन पनि नरोकिने रहेको बताईरहेका छन् ।
¨ हजारौं शिक्षकहरु विद्यालय खाली राखेर काठमाडौंमा सडक आन्दोलनमा छन् । विगतका समझदारी कार्यान्वयन र शिक्षा ऐन ल्याउन दबाब दिँदै शिक्षकहरु आन्दोलनमा होमिए पनि सम्बोधन परको कुरा सुनेकै छैन ।
¨ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पद मुक्त गरेपछि अहिले कुलमानको पुनर्वहालीको लागि आन्दोलन चलिरहेको छ ।
¨ प्रदेश सहित संघीय खारेजी र व्यवस्था बचाउन माग गर्दै राष्ट्रिता बचाउन माग गर्दै जनमोर्चा सडकमा छ ।
¨ लघुवित्त र सहकारी पीडितहरु निरन्तर आन्दोलनमा छन् । सम्झौता गरेको तर समस्या समाधान नगरेको भन्दै आन्दोलनमा आएका हुन ।
¨प्रभु साह नेतृत्वको आम जनता पार्टीले देशमा भ्रष्टाचार बढेको सिंहदरबारमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चिएको भन्दै तेस्रो जनआन्दोलनको नाममा सभा गरिरहेको छ ।
¨ तलब सुविधा नपाएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरु आन्दोलनलित बनेका छन् ।
¨ पत्रकार हत्या र मिडियाहाउस तोडफोडका विरुद्धमा पत्रकार महासंघ आन्दोलनमा छ । यस घटनाको न्यायिक छानविन गर्न उनीहरुले माग गरेका छन् ।
¨ विपक्ष दल नेकपा माओवादी केन्द्र सरकार सुशासनबाट चुक्दै गएको भन्ने बोध गरिरहेको छ । नेकपा एकिकृत समाजवादी आन्दोलित छ । रास्वपा पनि अभियान चलाएर विरोधमा उत्रिएको छ ।
¨ विभिन्न माग राख्दै राहतलगायत शिक्षकले आन्दोलन जारी राख्दा चिकित्सकहरू पनि सडकमा आइपुगेका छन् । श्रम शोषण भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् ।
¨ संघीय निजामती सेवा ऐन निर्माणमा आफूहरुसँग छलफल नगरी अगाडि बढेमा आन्दोलन गर्ने चेतावनी निजामती कर्मचारी सम्बद्ध ६ ट्रेड युनियनहरुले सामूहिक रुपमा दिएका छन् ।
प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक १० आन्दोलन भईरहेका बताए पनि त्यो भन्दा धेरै दल तथा संघसंगठनहरु सडकमा रहेको देखिन्छ । काठमाडौं बाहिर क्षेत्र र जिल्लामा भएका आन्दोलनहरुको कुनै हिसाब छैन । ओली सत्तामा आए पछिका यि आन्दोलनहरु घट्ने भन्दा अझ बढ्ने पक्षमा देखिन्छन । किनकी ओली सरकारले समस्या समाधान भन्दा त्यसलाई भड्काउने, तिरस्कृत गर्ने र उनीहरुको प्रतिष्ठामै आँच पु¥याउने जमर्को बढी गरेको देखिन्छ । जनतालाई आक्रोशित बनाउने अभिव्यक्ति दिन खप्पिस प्रधानमन्त्री ओली न संयम छन नत जिम्मेवार नै । उनी संयमतापूर्वक, विधि र कानुन सम्मत अगाडि बढेका भए सम्भवतः यति ठूलो आवज सडकमा छरपष्ट हुने थिएन भन्नेहरु प्रशस्त छन् ।
प्रधानमन्त्रीलाई कहाँ के बोल्दैछु भन्ने पनि हेक्का हुन छाडिसकेको छ । कर्णाली पुगेर मध्यपश्चिम प्रदेश भनिदिँदा र मधेस पुगेर सुदुरपश्चिमलाई महाकाली भनिदिए । देशको कार्यकारी बोल्दा आफ्नै शासकीय संरचनाका बारेमा थाहा नहुनु दुखद् देखियो । घटनाक्रमलाई हेर्ने हो भने सरकार अनेकन कदममा असफल मात्र बनेको छैन, अलोकप्रिय पात्रको रुपमा रुपान्तरिक हुँदैछ । एकातिर गृहमन्त्रीले आन्दोलनपक्षका विषयमा बोलेका विषय हुन वा कार्यसम्पादनमा उत्कृष्ट व्यक्तिलाई शुन्य नम्बर दिएर फालिएका विषय नै किन नहुन वा वालेनले भ्रष्टाचार अभियोगमा बिदामा पठाएका कार्यकारीलाई पुनः त्यही पठाउनेसम्मका हरकतले सरकारको शाख झन गिर्दो छ । यता रवि लामिछानेलाई समेत जेलमा हाल्न सफल भएका छन् । यद्यपि जति नै अध्यारो भए पनि उज्यालोको पर्खाई रहन्छ नै तर प्रधानमन्त्री ओली रहेसम्म त्यो सम्भव नहुने टिकाटिप्पणी पनि धेरैतिरबाट गरिँदैछ ।
आफ्नै कार्यकर्ता सन्तुष्ट छैनन् ः सरकार र नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट आफ्नो कार्यकर्ता असन्तुष्ट रहेको उनले गरेका उदयपुरलगायत केही जनसभाहरुले देखाइसकेको छ । उनी मञ्चमा भाषण गर्न थालेपछि केही कार्यकर्ताबाहेक सुन्नेहरु शुन्य भएका थिए । राज्य दोहन र कुशासन ओलीकै पालामा मच्चिएको छ । सडक नै कब्जा गरेर ५ सय मिटर पर सुरक्षाकर्मी खटाएर जनतालाई सास्ती दिने काम भईरहेको छ । अर्कोतिर एमालेले गरेका जनसभाहरुमा पेट्रोल र पैसा बाँडेर राज्य दोहोन चलिरहेको छ । यि र यस्तै अलोकप्रिय कदमले जनतामा निराशा मात्र बढाएन भविष्य नदेखेर आन्दोलनमा होमिएका छन् । ओली सत्तामा आएपछि सडकमा यत्रतत्र आन्दोलन चलिरहेको छ ।