विचार/वहस सम्पादकीय

ज्येष्ठ नागरिकको सम्मान औपचारिकतामा मात्र सिमित नरहोस्

वर्षमा एक दिन आउने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, बुबाको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिनमा नेपालीले ज्येष्ठ नागरिकको सम्झना, माया र ममता देखाउने गरेका छन् । बढ्दो सहरीकरण र सुखसयल अनि पश्चिमा संस्कृतिको चपेटामा परेर नेपालमा ज्येष्ठ नागरिकको मानमर्दनमा चोट पुगेको छ । १२ छोरा १३ नाती बुढाको धोक्रो काँधै माथि भन्ने उखान यतिखेर चरिचार्थ भईरहेको छ । जीवन छउन्जेल छोराछोरीको लालपालन, शिक्षा–दिक्षामा दिन कटाएका बाबुआमा जब बृद्ध हुन्छन् त्यसबेला उनीहरु बेसाहारा बन्ने परिपाटी बढ्दो छ । कतिपयको नेपाली संस्कार अनुसार बाबुआमाको अन्तिम संस्कार गर्न पनि छोराछोरी नआउने समाचारहरु सुनिरहेका छौं । वैदेशिक रोजगार पारिवारिक समृद्धिको आधार बनिरहेका बेला यस्ता ज्येष्ठ नागरिकले अन्तिम अवस्थामा धन, सम्पत्ति भन्दा मायाममता र स्याहार सुसार खोजेका हुन्छन् तर पैसाको लालचमा छोराछोरीले विदेशबाट पठाइदिएको पैसामा बाबुआमाप्रतिको कर्तव्य र जिम्मेवारी भुल्दै गएको समाज छ । यो नेपालका लागि दुःखदायी र विडम्बनापूर्ण छ । पछिल्ला दिनहरुमा यसलाई चिन्ताको विषय पनि बनाइएको छ कि यदि वैदेशिक रोजगारलाई यहि रफ्तारमा दौडन दिने हो भने अबको १० वर्षपछि पुरै नेपाल बृद्धआश्रम बन्ने र ज्येष्ठ नागरिकको हेरचाह र स्याहारसुसार नभई एक्लोपनको महसुस गर्ने परिस्थिति आएको छ । कतिपयको घरमा श्रीमान र छोराछोरी बुहारीको कब्जामा रहेका कारणले पनि बृद्धबृद्धाहरुको स्याहारसुसार र रेखदेखमा कमी भएको समाजमा देखिन्छ । श्रीमतिले हैकम जमाएको घरहरुमा ज्येष्ठ नागरिकप्रतिको दायित्व नबुझ्ने बुहारी र बुहारीप्रति नन्द आमाजुले गर्ने व्यवहारका कारणले छोराले चाहेर पनि आमाबाबुको स्याहार सुसार गर्न नसकेका दृष्टान्त पनि समाजमा छन् र देखिन्छ ।
वैदेशिक रोजगार मात्र यसको कारक छैन । कारक घरभित्रै पनि देखिन्छ । शहरी क्षेत्रका कतिपय ज्येष्ठ नागरिक घर परिवारबाट परित्यक्त भएका छन् । परिवारका अन्य सदस्य अध्ययन तथा कामका लागि दिनभरि घर बाहिर रहने र घरमा हुँदा पनि उनीहरू नयाँ प्रविधिमा भुल्ने हुनाले ज्येष्ठ सदस्यहरूले एक्लो भएको अनुभव गर्दछन् । कतिपय छोराछोरीले सम्पत्ति आफ्नो हातमा परेपछि बाबुआमालाई बेसहारा छोडिदिने, वृद्धाश्रम वा मन्दिरमा लगेर राखिदिने गरेको पनि पाइन्छ । छोराछोरीहरूले हेला गर्दा बुढापाकाहरू घृणाको पात्र बन्न थालेका छन् । बुबाआमालाई वृद्धाश्रममा छोडेर घरमा छोराबुहारी तथा नातिनातिना मस्ती गरिरहेका पनि देखिन्छ । जिउँदो छँदासम्म बुढाबुढीलाई रुवाएर मृत्युपछि पिण्ड दिनुको कुनै औचित्य हुँदैन । त्यसैले बाँचुन्जेल सुखसँग राम्रो लगाउन र मिठो खान दिएर पालन पोषण गरेको खण्डमा ज्येष्ठ नागरिकको सम्मान हुन्छ । ज्येष्ठ नागरिकप्रति सम्पूर्ण व्यक्ति, परिवार र समुदायले सकारात्मक सोच र व्यवहार प्रदर्शन गरेमा मात्र उनीहरूप्रति सच्चा स्नेह, माया, प्रेम र सद्भाव प्रकट गरेको ठहरिन्छ ।
ज्येष्ठ नागरिक भनेको २५/३० वर्षको ठिटो होइन । शारीरिक, मानसिक, उमेरगत आधारमा जेठा र शारीरिक रूपमा दुर्बल भएका बुबाआमा नै ज्येष्ठ नागरिक हुन् । विकसित राष्ट्रले ६५ वर्ष कटेका, संयुक्त राष्ट्रसंघले ६० वर्ष पुगेकालाई ज्येष्ठ नागरिक मान्छ भने नेपालमा ज्येष्ठ नागरिक ऐन २०६३ ले ६० वर्ष उमेर कटेका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ । ज्येष्ठ नागरिकहरू सामाजिक तथा सांस्कृतिक ज्ञान, अनुभव, मूल्य, मान्यता तथा परम्पराका खानी हुन् । उनीहरूसँग प्रशस्त ज्ञान तथा अनुभवको भण्डार रहेको हुन्छ । हामीले उनीहरूको अनुभव तथा ज्ञानलाई उपयोग गरेर धेरै फाइदा लिन सक्छौं । आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको भन्ने उखान त नेपालमा प्रचलित नै छ । त्यसैले हाम्रो परम्पराले पनि ज्येष्ठ नागरिकलाई जिउँदो इतिहास र पुस्तकालयको रूपमा लिएको मान्न सकिन्छ । नेपालमा राज्यस्तरबाट ज्येष्ठ नागरिकको हितका लागि केहि प्रयास भएको पाइन्छ । नेपालको संविधानमा पनि ज्येष्ठ नागरिकहरूलाई विशेष व्यवस्था गरी सामाजिक सुरक्षा प्रदान गर्नु पर्ने कुरा उल्लेख गरिएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ज्येष्ठ नागरिकको सम्मान गर्नु सबैको कर्तव्य हुने कुरा उल्लेख गरिएको छ । त्यस्तै उक्त ऐनले स्वास्थ्य संस्था, धार्मिक स्थल, यातायात, सञ्चार, विद्युत लगायतका सार्वजनिक सेवा दिने संस्थाहरूले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै सार्वजनिक सवारीमा सिट आरक्षण र भाडा छुटको व्यवस्था गरिएको छ । यसैगरी तोकिएका स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिंदा छुट दिने पनि व्यवस्था गरिएको छ । उक्त ऐनले ज्येष्ठ नागरिक कल्याण कोषको व्यवस्था गरेको छ । केन्द्रको साथै हरेक जिल्लामा ज्येष्ठ नागरिक कल्याण समितिको व्यवस्था पनि गरेको छ । ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने हिंसा नियन्त्रणका लागि आवश्यक संयन्त्र निर्माण गर्ने, सयभन्दा बढी बेड भएका सरकारी अस्पतालमा ज्येष्ठ नागरिक वार्डको स्थापना गर्ने र निजी क्षेत्रका अस्पतालमा कम्तीमा १० प्रतिशत बेड ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने भनिएको छ ।
सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनको अभावमा निजी क्षेत्रमा श्रमिकले वृद्धावस्थामा निवृत्तिभरण प्राप्त गर्ने अवस्था छैन । असहाय ज्येष्ठ नागरिकको पुनस्र्थापना हुन सकेको छैन । उनीहरूलाई मनोरञ्जन तथा समय व्यतित गर्नका लागि पर्याप्त भजन–कीर्तन गर्ने स्थानको व्यवस्था छैन । क्लब तथा अन्य संस्थाहरूको पर्याप्त मात्रामा स्थापना हुन सकेको छैन । ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने सरकारी वा निजी जुनसुकै स्वास्थ्य संस्थामा उपचार गराए पनि सम्पूर्ण खर्च राज्यले व्यहोर्ने व्यवस्था हुनु आवश्यक छ । ज्येष्ठ नागरिकलाई समय काट्नका लागि खुल्ला पार्क, मठ–मन्दिर तथा भजन–कीर्तन स्थलको पर्याप्त व्यवस्था गरिनु पर्दछ । विद्यालय तहदेखिकै पाठ्यक्रममा वृद्धवृद्धासम्बन्धी पाठहरू राखी बालबालिकामा ज्येष्ठ नागरिकप्रति सम्मानको भावना जागृत गराउनु पर्दछ । यस्ता जेष्ठ नागरिकहरूले सम्मानित जीवन व्यतित गर्ने वातावरण तयार पार्नु राज्यको मात्र नभई उनका सन्ततिको पनि दायित्व हो । समतामूलक समाजको निर्माणको लागि पनि जेष्ठ नागरिकप्रति आदर सत्कारयुक्त व्यवहार प्रदर्शन हुनु नै उनीहरुप्रतिको महत्वपूर्ण सम्मान मानिन्छ ।

Author

You may also like