देश–समाज समाचार स्थानीय

मोरङको दुर्गापुरीमा अनुगमन टोली आएको थाहा पाएपछि सटर बन्द गरेर व्यापारी टाप, १२ जनाको टोलीद्धारा अनुगमन

उर्लाबारी/ उर्लाबारी नगरपालिका, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको बजार अनुगमन टोली बुधबार दिउँसो उर्लाबारीको दुर्गापुरी बजार पुग्यो । तीन वटै कार्यालयका १२ जनाको टोली दुई समूहमा बाँडिएर बजार अनुगमन थाल्यो । अनुगमन सुरु भएलगत्तै केहीबाहेक अधिकांश व्यापारी पसलका सटर बन्द गरेर भागे ।
अनुगमन टोली आएको हल्ला फैलिएपछि व्यापारीहरुले पसलहरु बन्द गरे । यो दृृष्य देखेर बजार अनुगमन टोलीका चकित पर्‍यो । दुर्गापुरीका केही किराना, औषधीलगायत पसल अनुगमन गरिएको थियो । पसलमा पुगेर व्यवसाय दर्ता, राजस्व र अन्य प्रक्रियाबारे आवश्यक जानकारी दिएर सचेत गराइएको टोलीको नेतृत्व गरेका उर्लाबारी नगरपालिकाका उपसचिव शालिग्राम काफ्लेले बताए ।
उपसचिव शालिग्राम काफ्ले नेतृत्वको टोलीमा वाणिज्य कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, सोही कार्यालयका दीर्घबहादुर घिमिरे र मनिष भट्टराई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वीरेन्द्रकुमार दास, उर्लाबारी नगरपालिकाका अधिकृतहरु बद्री भट्टराई, सुरेश खड्का, नगेन्द्र तिम्सिना, नगर प्रहरीलगायत रहेका थिए । टोलीले दुर्गापुरीसहित उर्लाबारी, आइतबारे र मंगलबारेका विभिन्न किराना, औषधी पसल, होटललगायतको अनुगमन गरेको हो । चाडपर्वको समयमा कालोबजारी, खाद्य मिसावट, गुणस्तरहीन वस्तुको बिक्री वितरण हुन सक्ने भएकाले यसबेला विशेष निगरानीको आवश्यकता हुने भएकाले पनि संयुक्त रूपमा बजार अनुगमन गरिएको उपसचिव काफ्लेले बताए ।
अनुगमनका क्रममा कतिपय पसलमा म्याद सकिएका सामग्री फेला पारी ती सामग्री जफत गरी नष्ट गरिएको जनाइएको छ । अनुगमन क्रममा पसलमा मूल्य सूची, व्यवसाय दर्ता र नविकरण, नापतौलको प्रमाण पत्र, लेवलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रियालगायत हेरिएको थियो । यी तीन वटै कार्यालयको संयुक्त टोलीले गत साता पनि उर्लाबारीमा बजार अनुगमन गरेको थियो ।

Author

You may also like