देश–समाज समाचार स्थानीय

दमक नगरपालिकाद्धारा आमाबुबा स्याहार गर्ने उत्कृष्ट दमकका ज्येष्ठ नागरिक रक्षकलाई सम्मान

दमक/ झापाको दमक नगरपालिकाले ज्येष्ठ आमा बुवालाई स्याहार गर्ने उत्कृष्ट छोरा बुहारी तथा छोरीहरुलाई उत्कृष्ट स्याहारकर्ताका रुपमा नगदसहित सम्मान गरेको छ । ज्येष्ठ आमा बुवाको स्याहार गर्ने कुरामा सन्तानहरुमा थप उत्प्रेरणा र हौसला मिलोस् भनेर नगरपालिकाका सबै वडाबाट सिफारिस भएका उत्कृष्ट स्याहारकर्ताहरुलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख राम कुमार थापाले प्रष्ट पारेका छन् । ३४ औं ज्येष्ठ नागरिक दिवसका अवसरमा दमकका सबै वडाबाट छानिएका ज्येष्ठ आमा बुवालाई स्याहार गर्ने उत्कृष्ट स्याहारकर्तालाई सम्मान गरिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सम्मानित हुने उत्कृष्ट स्याहारकर्तामा वडा नं. १ बाट भागिरथा न्यौपानेकी बुहारी सावित्रादेवी न्यौपाने, २ बाट भवानी प्रसाद र भविता तिम्सिनाका बुहारी निर्मला तिम्सिना कट्टेल, ३ बाट गोमादेवी भण्डारीकी बुहारी राधिका भण्डारी, ४ बाट मधुसुदन र धनमाया काफ्लेका छोराबुहारी गोपाल काफ्ले र अञ्जु काफ्ले, ५ बाट जानुकादेवी भट्टराईकी बुहारी तुलसा भट्टराई र ६ बाट छत्रबहादुर बस्नेतकी बुहारी लक्ष्मीकुमारी विष्ट रहेका छन् । त्यसैगरी नगरपालिकाबाट सम्मानित हुनेमा वडा नं. ७ बाट जयबहादुर महत र देवकुमारी महतकी छोरी टिका भण्डारी, ८ बाट बलराम जैसी र हरिकला जैसीकी बुहारी
ज्येष्ठ…सीता जैसी, ९ बाट डिल्लीप्रसाद निरौलाकी छोरी शान्ति कटुवाल र १० का अच्युतदासी सापकोटा र हेमकुमारी सापकोटाका छोराबुहारी देवराज सापकोटा र रेजिना खनाल सापकोटा रहेका छन् । स्याहार पाउने र स्याहार गर्ने दुवै पक्षलाई कार्यक्रममा बोलाएर पस्मिनाको गाम्छा, खादा, सम्मान पत्र र नगद २५०० रुपैयाँले सम्मान गरिएको हो । पस्मिनाको गाम्छा, नगद र सम्मान पत्र भने स्याहारकर्तालाई प्रदान गरिएको छ । ज्येष्ठ आमा बुवालाई नगरपालिकाको कार्यालय सम्म ल्याउनका लागि यातायात खर्च पनि उपलब्ध गराइएको थियो  ।
सो सम्मान दमक नगरपालिका प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले उत्कृष्ट स्याहारकर्तालाई प्रदान गरे । त्यसैगरी इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापा, वडाध्यक्षहरु क्रमशः १ का हरि प्रसाद न्यौपाने, ६ का टेक बहादुर थापा र ८ का धर्मप्रसाद (दिपेश) दाहाल पनि पालैपालो सम्मान गर्ने कार्यमा सरिक भएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै दमक नगर प्रमुख राम कुमार थापाले अघिल्लो वर्षदेखि नगरमा संचालनमा रहेको ९० वर्षमाथिका ज्येष्ठ नागरिकको घरघरमा गएर निःशुल्क औषधोपचार गर्ने क्रममा कतिपय ठाउँमा ज्येष्ठ बुवा आमाहरुलाई पशुचौपाया सँगै त कतिपय ठाउँमा लामो समयदेखि बिरामी अवस्थामा राखिएको पाउँदा दुः ख लागेको खुलासा गरे । तर घरदैलो उपचारका क्रममा यस्तो प्रवृत्तिमा सुधार आएको र ज्येष्ठ बुवा आमाहरुलाई स्थानीय सरकारले पनि विशेष महत्व दिएको देखेपछि सम्बन्धित घरपरिवारका सदस्यहरुमा पनि विशेष ख्याल गर्नुपर्ने रहेछ भन्ने भावनाको विकास हुन थालेको पाइएको नगर प्रमुख थापाको कथन थियो । तैपनि समग्रमा दमकमा ज्येष्ठ नागरिकको अवस्था तुलनात्मक रुपमा अन्यत्र भन्दा भने केही राम्रो रहेको पाइएको पनि उनले सुनाए  ।
नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले पनि ज्येष्ठ नागरिकहरुलाई सम्मानित र मर्यादित व्यवहार गर्नु सम्बन्धित सबैको कर्तव्य र दायित्व रहेको स्मरण गराइन् । कार्यक्रमको अध्यक्षता गरेकी नगरपालिका सामाजिक विकास समितिकी संयोजक शारदा सापकोटा भट्टराईले ज्येष्ठ नागरिकलाई हरेक घरमा सम्मान र मर्यादापूर्ण व्यवहार गर्ने कुरामा सन्तानहरुमा उत्प्रेरणा प्रदान गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको प्रकाश पारिन् । इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाईले सन्तानहरु विदेशिँदा वा घरबाहिर रहँदा ज्येष्ठ नागरिकले एक्लो जीवनयापन गरिरहनुपरेको अवस्था रहेकाले राज्यले उनीहरुको संरक्षण र सामाजिक सुरक्षामा विशेष चासोको साथ काम गर्नुपर्ने दिन आएको तर्फ सबैको ध्यानाकृष्ट गराए । कार्यक्रम संचालनकर्ता नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नु सबैको दायित्व भएको बताउँदै त्यसका लागि मद्दत पुगोस् भनेर स्याहारकर्तामा हौसला र उत्प्रेरणा जगाउनेगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन यस्तो कार्यक्रम गरिएको बताइन् । कार्यक्रममा नेकपा एमालेका दमक नगर अध्यक्ष राम पौडेल, राप्रपाका दमक अध्यक्ष हेम सुवेदी र दमक अपाङ्ग संघका अध्यक्ष खगेन्द्र भट्टराईको आतिथ्यता तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख लगायतका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, ज्येष्ठ नागरिक र उनीहरुका स्याहारकर्ता लगायतको सहभागिता रहेको थियो  ।

Author

You may also like