लेख विचार/वहस

निम्छरो नबनोस् गणतन्त्र

उ आयो गणतन्त्र
नौलो उज्यालो बिहानी लिएर आयो
जनताका मुहारमा कान्ति छायो
सिंहदरवारको अधिकार गाउँघरमा ल्यायो
विकास निर्माण गाउँको बाटोसम्म पुग्न थाल्यो
शिक्षा, स्वास्थ्यको मुहारमा केही परिवर्तन भए
तर
भ्रष्टाचार कहिले रोकिएन
बेथिति झनै छेकिएन
अनेकन काण्डहरु जन्मिइरहे
मिडियावाजीमा रङ्ग बदल्ने ‘रअ’ का एजेण्ट
दिनदिनै बढिरहेछन्
वकालत तिनैको गर्दैछन् ठूला दलहरु
खवरदार !
यसमा च्यापिएर
निम्छरो नबनोस् गणतन्त्र ।
अनेकौं आरोह – अवरोह, दुःख, पीडा, जेलनेल, हतकडीका तीता अनुभव झेलेर आएका वीर योद्धाहरुको बलिदानले ल्याएको हो गणतन्त्र । कतिलाई यो ‘गणतन्त्र’ भन्ने शब्द मन नपर्ला कतिलाई पर्ला तर साँचो अर्थमा भन्ने हो भने गणतन्त्र भनेकै जनतन्त्र हो । जसलाई जनताले नै चलाउँछन् अनि सत्ता संचालन गर्ने चावी पनि जनतामै निहित हुन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात गणतन्त्र दिवस । निरङकुश एकात्मक राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिन हो जेठ १५ गते गणतन्त्र दिवस ।
जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५÷०२÷१५ गते निरङ्कुश राजतन्त्रको विधिवत अन्त्य हुँदै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा भएको दिन । हजारौंको वलिदान, लाखौं नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी गत मंगलवार देशभर छिटफुट रूपमा मनाइयो । तर जे जसरी आम जनता जो हिजो गणतन्त्र ल्याउनका निम्ति ज्यान आहुति दिन एक इञ्चपनि पछि हटेका थिएनन नि, आज उनै सहादत प्राप्त गरेका अमर सहिदहरुका परिवारहरुलाई बोलाएर समेत कुनै ठूलो कार्यक्रम गर्न सकेन सरकारले । गरे त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडांैको टुडिखेलमा । बृहत कार्यक्रम गरेर सहिद, बेपत्ता परिवारलाई राज्यले सम्झनुपर्ने हो । उनीहरूकै बलिदानले नेपालमा गणतन्त्र आयो । अबको कार्यभार भनेको हाम्रो सुशासन र देशमा गणतान्त्रिक मोर्चाहरु मिलेर उनीहरूको सपना साकार पार्नु हो भनेर सम्बोधन गर्दै भने । कति जिल्लाहरूमा सबैभन्दा ठूला दलका नेताहरु र तिनका आउरे भाउरे कार्यकर्ताहरुको भेला राखेर आ – आफ्ना विचार राख्न सकेनन, दीप प्रज्वलन सम्म गरेनन् । कति स्थानमा गणतन्त्र नचाहनेले गणतन्त्रको बारेमा नकारात्मक टीकाटिप्पणी गरे, गणतन्त्र चाहिदैन सम्म भने । वास्तवमा भन्ने हो भने गणतन्त्र स्थापनाका लागि यही आन्दोलनको जगमा हिजोको जनलहरले ल्याएको गणतन्त्र हाम्रै नेताहरुको कारणले जग हँसाउने काम गरे । जनताले केही प्राप्त गर्न सकेनन् । टाठाबाठाहरु सत्तामा पुगेर रस चुस्ने काम मात्र भयो । सच्चा सहिद तथा बेपत्ताका परिवारहरु आज रोइरोइ हाँस्न बाध्य छन् । उनीहरूका घरसम्म पुगेर सान्त्वना, राहतसम्म दिने नेताहरू भेटिन्नन् । बरु कुनै पनि दलहरुमा आवद्ध नहुने सामाजिक अभियन्ताहरु घरमै गएर राहत सामग्री बाँढेको भिडियोहरु देखियो ।

नेपालमा गणतन्त्रको सुरुवात भएको एक दशकभन्दा बढी पार भइसक्दा समेत आशातित परिवर्तन नहुनु एउटा बिडम्बना नै मान्नुपर्छ । हिजो कस्ता – कस्ता घटनाहरु भए भनि साध्य छैन । सुन्दा लाजलाग्दा रुप र सारहरु छन् । सम्झिदा लाज लाग्छ हामी जनतालाई । काण्डै – काण्डले रंगिएको यो गणतन्त्र कतै धरापमा पर्ने त होइन भन्ने यो जनजनको प्रश्न हो । यसको उत्तर नेताहरुले दिन सक्ने अवस्था छैन, दिउन पनि कसरी ? जनतासँग अभिमत मागुन् पनि कसरी ? प्रश्नै – प्रश्नले घेरिएको अवस्था छ यतिबेला । हामी कलमीहरुले यो लेखिरहँदा उनीहरूको कान खुलाइ रहँदासम्म हामीलाई अनेक दोषारोपण लाउन सक्छन् । तर एक इञ्च पनि पछि नहट्ने हाम्रो कलम तिक्खर छ । यो कलमले दलहरुले भने जस्तो निर्दलीय पञ्चायती व्यवस्था, लोकतान्त्रिक गणतन्त्रको सत्य – तथ्य वकालत हिजो सशस्त्र जनयुद्ध कालमा समेत रचना र लेख लेख्न पछि हटेन । पूर्वकै लोकतान्त्रिक गणतन्त्रको आवाज बुलन्द गर्ने यो ‘पूर्वसन्देश’ लोकपृय राष्ट्रिय दैनिक पत्रिकाको स्थापनाकालमा समेत पहिलो अंकमा आफ्ना लेख र रचना कोर्न समेत यो कलमी अगाडि बढेको थियो । अहिले गणतन्त्रकै दिन सम्झनालायक दर्दनाक घटनाहरुको विरासत सम्झेर ल्याउँदा आङ जिरिङ्ग हुन्छ । नेपालमा गणतन्त्र कसरी आयो र यो ल्याउनका निमित्त कसकसले जीवन बलिदान गरे । अहिले बलिदान गर्नेहरु कुन कोठामा बसेर निस्सासिन बाध्य छन् ? भित्री यथार्थ उनीहरुको बुझ्दा हाम्रा आँखामा बलिन्द्र आँसुका धारा बहन्छन् । शीर्ष नेताहरुको नाम लिँदासम्म रगत उम्मेर आउँछ । आखिर उनीहरूको उत्सर्गको मुनाफा कसले लियो त ? सोचनीय कुरा यहाँ छ कि यो गणतन्त्र दिवस मनाउदा वर्षमा एक दिन जेठ १५ लाई सम्झने दिन होइन, दिनदिनै सम्झनु पर्छ जसले आफ्नो जीवनलाई आहुति दियो, रक्तक्रान्तिको दियो सल्कायो । देशमा नौलो विहानी ल्याउन जीवन वलिदान गर्यो । आज उनीहरूकै फल खाँदैछन नेताहरु । उतिबेलाको कार्यभार अनुसार – जतिसक्दो छिटो संविधान जारी गर्ने, स्थिर सरकार गठनको मार्गचित्र कोर्ने तथा लोकतन्त्रलाई अझै उन्नत , दिगो र विकसित पार्दै मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउने थियो । आज कति पूरा भए त ? के के पूरा भए ? यो तमाम नेपाली जनताहरुलाई थाहै छ । तर नेताहरु र तिनका अगुवा कार्यकर्ताहरुले बुझेर नि बुझ पचाएको आभाष भएको छ जनजनमा ।

अर्को सोचनीय कुरा हाम्रो सामाजिक संरचना र सम्बन्धमा पनि अहिले गुणात्मक परिवर्तन भने भएकै हो । सडक, पुल त बने तर समाजलाई विस्तारै उद्योग स्थापना गर्दै आधुनिकीकरण तर्फ धकेल्न पनि गणतान्त्रिक व्यवस्थाले सहयोग भने पुर्याउन सकेको भने छँदै छैन । जनताले आफ्नो सरकार आफै बनाउने, कुनैपनि नेतृत्वले राम्रो काम गर्यो भने त्यसलाई निरन्तरता दिने र राम्रो काम गरेन भने निर्वाचन मार्फत सजाय दिन पाउने व्यवस्था गणतन्त्रमा छ । त्यसैका आधारमा पनि यो भन्दा अघि भएका तीनै तहको निर्वाचनमा जनता सबैभन्दा ठूला दलहरुको जनमतको विरासतको आकार घटाइदिएको हामीले भुल्नु हुन्न । तत्पश्चातका उपलब्धि अन्तर्गत जनताको उत्सर्ग, बलिदानले ल्याएको यो गणतन्त्र दिवसको १७ औं वर्षगाठसम्म आइपुग्दा हाम्रा नेताहरूले के के काम सफल गरे र अबका दिनमा कसरी ‘गणतन्त्र’ को गरिमालाई जोगाउने भन्ने अहमं प्रश्न छ । मिसन – ०८४ आउन अब ३ वर्ष मात्र छ । यो बेलासम्म जनताका आधारभूत आवश्यकतालाई कसरी परिपूर्ति गर्नेसम्मको एजेण्डा नेताहरुले स्पष्ट मार्गचित्र तयार पार्नसक्नु पर्छ । यसरी हामी राजतन्त्रबाट गणतन्त्रको फराकिलो राजमार्गसम्म आइपुग्दा हाम्रा गाँस, बास, कपासको बदलिँदो व्यवस्था गर्न नसक्ने अवस्था कसले बनायो ? यसको दोषी हामी जनता हौं कि नेताहरु ? गम्भीर ससीक्षा गर्नु नितान्त आवश्यकता अब हुनुपर्छ । नत्र उहीँ कालो दिन दलहरुको नआउला भन्न सकिने अवस्था छैन । अहिले प्रेस मिडियामा, सहकारीमा लगायत अन्य धेरै विषयमा दिनप्रतिदिन काण्डै – काण्डमा गणतन्त्रको उपहास हुँदै गएको अवस्था छ ।

यसकारण संविधानको मर्म र भावनाअनुसार अघि बढ्न राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उदेश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिल्दै जान सकोस् १७ औं गणतन्त्र दिवसको ढिलै भएपनि शुभकामना ।

Author

You may also like