देश–समाज राष्ट्रिय लेख विचार/वहस

नवरात्री र नवदुर्गा पूजाको आध्यात्मिक महत्व

नवरात्र शक्तिपूजक सनातन हिन्दु धर्मावलम्वीहरुको लागि दुर्गा भवानिको पूजाको विशेष महत्व छ । दुर्गा ‘शप्तशती ग्रन्थ’ शक्ति पूजाको मन्त्रले भरिएका छन् । तेह्र अध्यायमा विभाजित दुर्गा शप्तशती ग्रन्थ भक्तजनहरुको लागि असीम प्रेरणाको स्रोत हो । प्रायजसो नवरात्र भरि नै सनातन हिन्दू धर्मावलम्वीहरुको घरको पूजाकोठामा दुर्गाको स्तुति पाठ, हवन, पूजन हुने गर्दछ । घटस्थापनादेखी पुर्णिमा सम्म घर घरमा टीका र जमरा लगाउने कार्यको लागि ठूलो उत्साहका साथ तयारी भइरहन्छ । नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका र जमरा ग्रहण गर्नको लागि देश र विदेशका हिन्दू परिवारहरुमा विशेष उमंग, उत्साह र तयारी हेर्न लायक हुन्छ । मन्दिरहरुमा बज्दै गरेको घण्टीको मधुर आवाज संगै दुर्गा माताको जय जयकार को जयघोष स्वर जति बेलापनि गुंजायमान भइरहन्छ । देवी मातालाई नवदुर्गा नामले सम्बोधन गरिएको छ । मार्कण्डेय ऋषिलाई ब्रह्माजीले भगवतिको स्वरुप र प्राकट्यको बारे उपदेश गर्दा देवीको नौ वटा स्वरुप र अवतारको बारेमा बर्णन गर्नु भएको प्रसंग दुर्गा शप्तशती ग्रन्थमा उल्लेख भएको छ । देवीको प्रथम स्वरुप शैलपुत्रीको रुपमा रहेको छ । घटस्थापनाका दिन देवीको शैलपुत्री स्वरुपको पूजा हुन्छ । देवीको दोस्रो स्वरुपलाई ब्रह्मचारिणीदेवी भनिन्छ । घटस्थापनाको भोलि पल्ट देवीको ब्रह्मचारिणी नामले आराधना गरिन्छ । दशैँको तेस्रो दिनमा देवीको चन्द्र घण्टा स्वरुपको पूजा गरिन्छ । चौथो दिनको पूजामा देवीलाई कुष्माण्डा नामले पूजा गरिन्छ । दुर्गा माताको पाँचौ स्वरुप स्कन्दमाताको रुपमा रहेको छ र दशैँको पाँचौँदिनमा देवीलाई यसै रुपमा पूजा गर्ने गरिन्छ । दशैँको छैठौँ दिन देवीको पूजा कात्यायनीको रुपमा गरिन्छ । देवीको सातौँ स्वरुप कालरात्री र आठौँ स्वरुप महागौरीको नामले प्रख्यात रहेको छ । दुर्गा माताको नवौँ नाम सिद्धिदात्रिदेवी रहेको छ । यी सबै नामहरु महात्मा वेद भगवानबाट बताइएका नामहरु हुन् । नव दुर्गाका नामहरुको स्मरण र पूजनबाट मानव मात्रको कल्याण हुन्छ । तथा मानिसहरुको चिताएको इच्छा पुर्ति हुन्छ । दुख कष्ट र संकटबाट छुटकारा हुन्छ । कुनै किसिमको आपद विपद र जीवन माथिनै संकट आइपर्दा भगवतीमाताको नाम स्मरण गरेमा दुर्गा माताको कृपाले सबै किसिमका विघ्न बाधाहरुको निवारण हुन जान्छ । जुन मानिस भगवति दुर्गाको शरणमा जान्छ त्यसको कहिलेपनि कुनै पनि किसिमको अमंगल हुँदैन तथा सोक दुःख कष्ट र भयको प्राप्ति पनि हुँदैन ।
देवीको महामंगलकारी स्वरुपको स्मरण र चिन्तनबाट मानिसको भाग्य उदय हुन्छ । पराम्बा भगवति देवी दुर्गा स्वयं नै विश्वकी आदि शक्ति र अधिष्ठात्री देवी रहेकी हुनाले ब्रह्ममा विष्णु र शिव समेतलाई जन्म दिने आमाको रुपमा रहनु भएको छ । गिरीराज हिमालयकी पुत्री पार्वती देवीलाई सैलपुत्रीको नामले बोलाइन्छ । भक्तजन र जिज्ञासु ऋषि मुनिहरुलाई सच्चिदानच्द ब्रह्म स्वरुपको प्राप्ति गराउनु जुन देवीको स्वभाव भएको छ उनलाई ब्रह्मचारीणी देवीको नामबाट पूजा गरिन्छ । जुन देवीको घण्टामा चन्द्रमाको बास छ, ती देवीलाई चन्द्रघण्टा भनेर आराधना गरिन्छ । संसारको भौतिक, दैहिक र दैविक तापहरु जुन देवीको उदर अर्थात पेटमा अवस्थित छ, ती देवी कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । पराम्बा भगवतिकै शक्तिबाट उत्पन्न भएका सनत कुमारको नाम स्कन्द रहेको छ । तथा स्कन्दकी आमा भएकी हुनाले ती देवीलाई स्कन्दमाताको नामले पूजा गरिन्छ । देवताहरुको कार्यलाई पुरागर्न को लागि जुन देवी महर्षि कात्यायनको आश्रममा प्रकट हुनुभएको थियो, ती देवी कात्यायनी नामले संसारमा प्रसिद्ध हुनुभएको छ । सबै प्राणीहरुको विनास गर्न समर्थ हुनुहुने देवी भगवतिलाई कालरात्रिको नामबाट पूजा गरिन्छ । त्यस्तै जुन देवीले कठोर तपस्या गरेर गौर वर्ण अर्थात् गोरो अनुहार पाउनुभएको थियो, ती देवीलाई महागौरी र सिद्धि अर्थात् मोक्ष प्रदान गर्ने देवीलाई संसारमा सिद्धिदात्री देवीको रुपमा पूजा र उपासना गरिन्छ । यी देवीहरुको विभिन्न नाम र स्वरुपलाई नै नव दुर्गा भनिन्छ । नवरात्रा भरि यी देवीहरुको श्रद्धा र भक्तिका साथ सर्वश्व समर्पण गरेर भएपनि पूजा आजा र आशिर्वाद प्राप्त गरिन्छ । जुन प्राणीले भक्तिपुर्वक देवीको स्मरण गर्दछन् त्यसको निश्चयनै अभ्युदय हुन्छ, यसमा कुनै दुइमत छैन । सन्तान नभएका दम्पतिले सन्तान सुख प्राप्त गर्दछन् । धन सम्पत्तिको कामना गर्नेले धन सम्पत्ति र लक्ष्मीको प्राप्ति गर्दछन् । शत्रुमाथि विजय प्राप्त गर्न चाहनेले शत्रुमाथि विजय प्राप्त गर्दछन् । कुनै निर्जन ठाउँमा, आगलागीमा परेको अवस्थामा, दुष्टहरुले आक्रमण गर्दा जस्तो सुकै संकटमा फंस्दा पनि भगवति दुर्गाको कृपा प्राप्त हुनेलाइ सबै संकटबाट छुटकारा हुन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको रुपमा यी देवीले संसारमा आसुरी शक्तिको विनाश गरेर दैवी शक्तिको स्थापना गर्नु हुन्छ र संसारका प्राणीहरुको रक्षा गर्नुहुन्छ । देवीको कृपा र आशिर्वादले मानिस नरबाट नारायण बन्ने हैसियतमा पुग्दछन् । कंगाल राजा समान बन्दछन् तथा देवी कुपित भएपछि राजा कंगालमा रुपान्तरण हुन पुग्दछन् । जुन प्राणिमाथि देवी रिसाउँछिन्, त्यस प्राणीले संसारमा कहिँपनि शरण पाउन सक्दैन ।
अठार भुजा भएकी भगवती दुर्गा महिंषमर्दिनीको नामले संसरमा प्रसिद्ध हुनुहुन्छ । ठूला ठूला दैत्य समुहको समुल विनाश गर्ने हुनाले देवीलाई चामुण्डा देवीको नामले पनि पूजा आजा गरिन्छ । चामुण्डा, काली, चण्डी, कुमारी आदि रुपमा देवी संसारभरिकै शक्तिपीठहरुमा प्रसिद्ध हुनुहुन्छ । देवीका शक्तिपीठहरुमा भक्तजनहरुको अपार घुईँचो रहने हुनालेपनि देवीको महिमा अपरम्पार छ भन्ने थाहा हुन्छ । भगवती दुर्गा संसारमा निराकार रुपमा रहनु हुन्छ । तर, साकार रुपमा पनि सिद्ध पुरुषहरु र भक्तजनहरुको अगाडि आएर अभयदान प्रदान गर्नु हुन्छ ।
शक्ति र शिव अभिन्न हुनुहुन्छ, अर्थात् शक्ति र शिवको समुच्चय रुपलाई अर्ध नारिश्वर भगवान् शिवको रुपमा पूजा गरिन्छ । शक्तिविना मानिस ‘शव’ अर्थात् मृतक समान हुन्छ, त्यसैले देवीबाट शक्ति प्राप्त गर्नको लागि शक्तिको उपासना गर्ने प्रचलन संसारमा चलेको छ । संसारमा अधर्मको नाश र धर्मको विजय गराउनको लागि देवी देवताहरुले आआफ्नो हाथमा अस्त्र शस्त्र र शास्त्र समेत धारण गर्नु भएको छ । दुष्टात्मा र पापीहरुको विनाश निश्वित छ । देवीलाई तन्त्र, मन्त्र, पाठ, हवन अनुष्ठान, उपवास, जप, बली, भोग र प्रषाद आदि अर्पण गरेर स्वच्छ हृदयले पूजा गरिन्छ । संसारमा कठिन भन्दा कठिन तरिका बाट हठयोग गर्ने हरुले ठूलो तपस्या गरेर देवीको उपासना गर्ने गरेको पाइन्छ । भनिन्छ, दशैँको बेलामा देवी माता घर घर गएर हरेक प्राणीको सुख दुखको हिसाब किताब गर्नुहुन्छ र पापी तथा विधर्मिहरको संहार गर्नु हुन्छ । तथा गरिब बेसहारा, आर्त, दुखः र अन्यायमा परेका प्राणीहरुलाई अभयदान प्रदान गर्नुहुन्छ । देवीको आशिर्वादले माटो सुनमा परिणत हुन्छ । ढुंगो शिवको रुपमा परिणत हुन्छ । त्यसैले देवी महान् हुनुहुन्छ र शारदीय नवरात्रा देखि पुर्णिमा सम्म देवीको भजन कीर्तनले आकाश र धर्ति गुंजायमान् भइरहन्छ । दशैँको टिका र जमरा ग्रहण गरेपछि हरेक हिन्दुको हृदयमा दुर्गा माता स्थिर भएर बस्नुहुन्छ । त्यसैले देवीलाई संसारको कल्याण गर्ने देवीको रुपमा र परम् ईश्वरीको पूजा र स्मरण गरिन्छ ।
“शरणागत दीनार्त परित्राण परायणे
शर्वस्यार्तीहरे देवी नारायणी नमोस्तुते ”।

Author

You may also like