देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । मौसममा सुधार आए पनि बढ्दै गएको चिसोबाट ज्येष्ठ नागरिक, शिशु र बालबालिकालाई सुरक्षित राख्न मौसमविद्हरुले आग्रह गरेका छन् ।
गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद अधिकारीले भने, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।”
दशैंकै बीचमा बढ्दै गएको चिसोको समयमा तराई लगायत चिसो ठाउँहरुमा मानव स्वास्थ्यमा समस्या देखिदै आएको छ । चिसो मौसममा विशेष गरी खोकी लाग्ने र ज्वरो आउने समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् । चिसोका कारण अनेकन कारणले तराई–मधेसमा वर्षेनी दर्जनौं मानिसको मृत्यु भइरहेको छ । कतिपयसँग जाँडो छल्ने माध्यम नहुँदा कठ्याङ्ग्रीएर ज्यान गएका खबर पनि विगतमा नसुनिएका होइनन् । अर्कोतिर जथाभावी आगो ताप्दा आगलागी धेरै जनधनको क्षति गरेका खबर पनि सुनिएकै हो ।
शिशु, बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक शक्तिन्यून हुने कारण बढी प्रभावित हुने गरेका छन्। छाती घ्यारघ्यार हुने, स्वाँ– स्वाँहुने लगायत समस्याहरु उत्पन्न हुन सक्छन् । जाडोको समय मानाक, कान र घाँटीको एलर्जी पनि हुन्छ ।
श्वास–प्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्ने जस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ । चिकित्सकहरुले चिसो समयमा मानिसले सतर्कता अपनाएमा रोग मुक्त हुन सकिने बताउँछन् । जाडोको समयमा समयमै ध्यान दिन नसक्दा पनि बढी क्षतिहुने गरेको हो। चिसो बढ्न थालेपछि विगतका वर्षमा केही जिल्लामा चोकचोकमा दाउरा बाल्नका लागि दाउरा वितरण गर्ने गरिएको थियो। यस वर्षको जाडो सुरु भइसकेको अवस्थामा राज्यले पुर्व तयारीका लागि गृहकार्य गर्न जरुरी छ । पर्याप्त मात्रामा दाउरा लागयत गरिबीको रेखा मुनि रहेकालाई कम्बल, ओढ्ने, ओछ्याउने कपडा लगायतको व्यवस्था गर्न सक्रिय हुनुपर्छ । तराईका जिल्लाका साथै मध्यपहाडी क्षेत्र र हिमाली क्षेत्रमा पनि चिसोले सर्व साधारणको ज्यान जाने गरेको छ।
सरकारले चिसो मौसमसँगै आउन सक्ने स्वास्थ्य समस्याको समाधानका लागि समेत समयमै विशेष ध्यानदिनु आवश्यक छ ।

Author

You may also like