बुझ्न सके जीवन एक महान तपस्या हो । बुझ्न नसके जीवन एक भयानक समस्या हो । कहीं गाइरहेको सुन्निन्छ भने कतै चिच्याइरहेको सुनिन्छ त्यसैले जीवन एक चर्खा न हो जो घुमिरहन्छ, जीवन रहेसम्म । जन्मनु मात्र पर्छ रे यो संसारमा यही आँखाले राम्रो या नराम्रो देखिदो रहेछ । यसैले जीवन एक सुख दुःखको चौतारी हो जहाँ जीवन फुल्छ । हो आज यो बडादशैकै पेरिफेरिमा रहेर जीवनका तीतामिठा अनुभव र यथार्थका पलहरुमा राजनीति ।
कमेडी र प्रेमको कथा ब्यथाहरु सङ्गालेर ‘छक्का पन्जा–५“ नेपाली फिल्मको सत्य–तथ्य विषयवस्तुमा आधारित रहेर एउटा सिने हलचलको परिवेश तपाईं माझ लेख्ने जमर्को गर्दैछु, यस चलचित्रको कथासार । हुन त नेपाली सिने जगतमा धेरै चलचित्रहरु बनिए तर सबै चलचित्रहरुले यथार्थ सन्देश एउटै बोकेर आएनन् । कतिले धार्मिक, प्रेमिल कथाहरु बोकेर आए तर थोरै मात्र चलचित्रहरुले हाँस्य, प्रेम र राजनीतिका कथाहरु समेटे जुन यथार्थ बोध नेपालको सन्दर्भमा जोडिए ती थोरै नेपाली चलचित्र मध्येको एक सफल र यथार्थ विषयवस्तु बोकेको चलचित्र हो, “छक्का पन्जा–५“ मात्रै हो भनेर भन्न सकिन्छ किनकी यस चलचित्रका पात्रहरुले सत्य–तथ्य र समय सान्दर्भिक विषयवस्तु सहित ज्वलन्त अभिनयको निखारपन देखाएका छन यो चलचित्रमा ।
कति विषयवस्तु अन्तर्गतका डायलग यस्ता छन ती प्रायः व्यंग्यबाण बनेर आएका छन कथाबस्तुमा । यस फिल्ममा नेपाली समाजमा ब्याप्त भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र इमानदार ब्यक्तिहरुले भोग्नुपर्ने कठिनाईको कथामा माग्ने बुढा (केदार घिमिरे) मार्फत् हाँस्यरसको तडका मिसाएर प्रस्तुत गर्ने प्रयास गरिएको छ । यतिमात्र होइन, व्यावसायिक रूपमा अत्यधिक सफल मानिएको “छक्का पन्जा–५“ श्रंखलाको पछिल्लो फिल्म “ छक्का पन्जा–५“ ले प्रदर्शनी आउनु अघिनै ट्रेलर्स सार्वजनिक निक्कै अगाडि गर्यो दर्शकहरुले गीत, डायलग सबै मनन गरे, प्रतिक्रिया दिए । आमा सरस्वती मूभिजको निर्माण भएको दीपाश्री निरौला निर्देशित यो फिल्मले गत असोज २४ गते फुलपातीको दिन देशभरका चलचित्र हल, डिम्याक्स सिनेमा हलहरुमा प्रदर्शन गर्यो । राजनीति र प्रेम कथालाई हाँस्यरसमा पस्कन खोजेको छ यो चलचित्रमा । फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले तयार पारेका हुन भने संवाद लेखनमा भने उनले केदार घिमिरे “माग्ने बुढा“ र दिलिप तामाङसंग सहकार्य गरेका छन । यस पटक पनि राजाकै चरित्रलाई केन्द्रीय भूमिकामा निरन्तरता दिइएको फिल्ममा दीपक, केदारसहित वर्षा शिवाकोटी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक, निर्मल शर्मा लगायतको सशक्त भूमिका यस चलचित्रमा रहेको छ ।
केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा केशव नेउपाने र दीपेन्द्र खनिया निर्माताका रुपमा रहेका छन भने हरि हुमागाइको छायांकन रहेको फिल्ममा बिपिन मल्लको सम्पादन गम्भीर बिष्ट र सुनिल क्षेत्रीको नृत्य निर्देशन तथा शम्भुजित बास्कोटा, दीपक शर्मा, बाबुल गिरीको संगीत समावेश गरिएको छ । कुनैकुनै धुनहरु यति मार्मिक छन मुटुमै छोएका धुनहरु बज्छन । यसअघि “छक्का पन्जा–५“ ले सार्वजनिक गरेको “ब्रेक अप“ सङको शब्द रचना यौनिक तथा वर्गीय दृष्टिकोणले दोषरहित हुन् नसकेको भन्दै विवादित बनेको थियो, अघि । तर अचम्म लाग्दो कुरा अर्को के छ भने रिलिज गरेको १७ औं दिनसम्म ९१ लाखभन्दा बढी पटक हेरिसकिएको गीतले टिकटक स्टोरीमा नराख्ने कोहि पनि देखिएन । यतिसम्म बजार लियो ब्रेक अप सङ गीतले । गीतको बोल थियो – “लहरे, लहरे, लह, लह, बल्ल बुझे चाल तेरो रै छ तिर्ताले, तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले “गीत जुन गीत यस चलचित्रको कथावस्तुको अन्त्यतिर राखिएको जुन गीत कथा र ब्यथा मिल्ने धेरै महिला पुरुषहरुले यो गीतलाई अभिनयकै रुपमा लिएर भाइरल बनाईदिए । यही गीत हेर्नकै निम्तिपनि धेरैले चलचित्र हेरे । यही गीतले गर्दा अहिले दिनदिनै भीडका भीड यो चलचित्र हलहरुमा दर्शकलाई आकर्षित गर्दै चलिरहेको छ । समग्रमा भन्नुपर्दा दीपक–दीपाले नेपाल र नेपालीको साझा कथालाई चलचित्रको माध्यमबाट अभिब्यक्त गर्ने कोसिस गरेका छन । इमानदार बन्न खोज्दा एक सरकारी अधिकृत पृथ्वीविक्रम (दीपकराज गिरी) ले पाउने सास्तीको यथार्थ कथा नै यो फिल्मको केन्द्रीय विषय बनेको छ । पृथ्वीनारायण शाहको दरसन्तान भएकोमा गर्व गर्ने बुवाको छोरा राजा (दीपकराज गिरी) सरकारी अधिकृतको रुपमा देखापरेका त छन तर उनको एउटा अम्मली भने नराम्रो देखिएको छ त्यो के हो भने सरकारी ड्रेसमै उनी चुरोट पिउछन । यसले के देखाउछ भने सरकारी जागिरेहरु किन यसरी खुलमखुल्ला चुरोट तान्छन, यही प्रश्न देखाउने ठाउँ स्पष्ट देखिन्छ । अर्को कुरा यहाँ घुस लिनु र दिनुलाइ अपराध मान्ने प्रेरित राजाले आफ्नै यो बुझाइको कारण धेरै दुःख पाएको छ । यो देश र समाजमा जसले इमान कमाई मात्रै खान खोज्छ । उसलाई छरछिमेकले हेप्न सुरु गर्छ । इमानदारिताको कमाइमात्रै खानेलाई परिवारले पनि पत्याउदैन । हुन पनि हो जसले घुस खाएर काम गर्छ उ नै समाजको राम्रो ब्यक्ति कहलिन्छ यो आडम्बरी समाजमा ्र अहिले समाज यस्तो सम्म बनिसकेको छ कि यहाँ इज्जत, मानमर्दन, प्रतिष्ठा र सम्मान भनेकै पैसा हो पैसा । परिवारले पहिले पैसालाई माया गर्छ अनिमात्रै माया गर्छ कमाउने ब्यक्तिलाई यहाँ यस्तै चरित्र बोकेका पात्रहरुपनि छन जसले नेपाल छोडेर विदेश जानुपर्छ डीभी पारेर भन्ने सोचका पात्रहरू धेरै देखिएका छन, यो चलचित्रमा ।
यहाँ बल्लतल्ल विवाह गरेको राजाकी श्रीमतीले राजालाई माया त गर्छे, तर सम्बन्ध अगाडि बढाउन मायामात्रै काफी हुँदैन, पैसापनि प्रसस्तै चाहिन्छ । जसका लागि राजा भ्रष्टाचार गर्नै चाहँदैन यही भएर महारानी (बर्षा शिवाकोटी) ले राजा
(दीपकराज गिरी) लाई डिभोर्स दिन्छे । भ्रष्ट र दलाल हुन नसक्दा एक सामान्य नागरिकको जीवनमा आइपर्ने उल्झन र समस्यै – समस्याको कथा छ, यहाँ । यस्ता कथा बोकेका छन राजाका बाबु (प्रकाश घिमिरे) ले उनी आफ्ना पुर्खाहरुको विरासत जोगाउनुपर्छ , जाली फटाहा, भ्रष्ट बन्नु हुन्न भन्ने एक श्रमिक पात्रको भूमिकामा छन । आफ्नी जीवन सङ्गीनीले छोडेर गएपनि दुःख कष्ट सहेर भारी बोकेर, बनिबुतो गरेर छोरालाई उच्च शिक्षा दिएर पढाएर सरकारी जागिरे समेत बनाउन सफल भएका छ । ऐतिहासिक कथा, राजाहरुको बहादुरीको कथा, उत्पीडनलाई समेत यस फिल्ममा समेटेका छन, दीपा – दीपकले । यहाँ सबै प्रतिकुलतासङ्ग राजाले कसरी संघर्ष गर्छ त ? यही कथासार पूर्ण रुपले बोकेको छ, छक्का पन्जा – ५ मा । मसलाका रूपमा कताकता कमेडी मिसाइएको छ, हाँस्यरस बेजोडको छ । पास्वर सङ्गीतको धुन मिलेको छ । अर्को कोडबाट केलाउनै पर्दा माग्ने बुढा (केदार घिमिरे ) ले फिल्मलाई थप रोचक र घोचक बनाएका छन । बिदेशी मोहमा रमाउने युवायुवतीहरुको जोडीको सम्बन्धलाई एउटा अफिसै खोलेर भिसा, पासपोर्ट, आइडी, डीभीको ब्यबस्थापन समेत गरिदिएका छन ।
श्रीमतीको मात्रै कुरा सुन्छु भनेर कागजी सम्झौता गराउदै गरेको लगायत केही फाल्टु दृश्यहरु बाहेक फिल्म अत्यन्तै सुन्दर छ । तर अदालतको बहस र दृश्यहरु भने भद्दा मजाक छन । मुख्य कुरा त डिभोर्सको मुद्दामा अदालतमा न्यायाधीशले सुहाएको छ न त वकिलहरुले बोलेको । एउटा कानुनी निकायमा कालो कोट लगाएर बहस गर्न बसेका वकिलहरुको बोली र व्यबहारका दृश्य भने बेमेलका छन । कहिँ कतै मिलेकै छैन , अदालत भित्रै बोल्ने र देखाउने ब्यबहारै राम्रो देखिन्न । अदालतमा हुने बहसलाई कमेडी बनाउने नाममा अदालतको गरिमालाई अबिस्वस्नीय बनाइएको छ । बाबुको संघर्षसङ्ग भावनात्मक रूपमा जोडिएको छोरा र बाबुबिचको सम्बन्ध फिल्मको भावनात्मक मेरुदण्ड भएकोले यो फिल्म हाम्रै समाजमा देख्एिको बेथिति विरुद्धको कथा हो । यसरीनै यस्ता कथाब्यथा बोकेका चलचित्र बन्दै जानुपर्छ । दीपा – दीपक दुबैलाइ यो कलमीको हार्दिक – हार्दिक धन्यवाद साथै सफलताको शुभकामना अनि हामी दुई सहकारी अभियन्ता मित्र टीकाराज सापकोटा जिलाई यो चलचित्र हेर्न साइत जुराइदिने पुर्वान्चल चलचित्र प्रमुख बितरक मित्र चैतन्य बराल जिलाई हार्दिक नमन साथै आभार व्यक्त गर्दछु ।