(नरेन रिजाल)
देशमा चुनावी माहौल क्रमशः तात्न थालेको छ । यो परिवेश कतिसम्म तातेर सम्पन्न हुन्छ अथवा हुदैन, आउने समयले बताउँला । कोही, जुटेर खेती गर्न थालेका छन् भने कोही फुटेर बाक्लो दाल खादै खेती शुरु गरेका छन् । जुट्नु र फुट्नु नेपाली राजनितिको परम्परा नै हो । व्यक्तिले मात्र नभएर एकले अकोलाई तथानाम गाली, दोष नलगाई खाएको पच्दैन पनि नेपाली राजनितिमा ।
देश विषम परिस्थितिमा छ । भविश्य अन्योलमा छ । प्रजातन्त्र र गणतन्त्रले जनता खुशी र सुखी हुन्छन्, विकास संभव छ भनेर जनतालाई सर्वोपरी मानेर ल्याएको यो तन्त्र असफल सावित भैसकेको छ । जनताको इच्छा, चाहनालाई कुठाराघात गरेर सिमित टाउके नेता भनाउँदाहरुले बाघको छालामा स्यालको रजाई गरेजस्तै विकासको नाममा विनास र स्वार्थ भन्दा माथी देशलाई लान सकेनन् । परिवारवाद र नातावादलाई प्राथमिकता दिनु, देश र जनतालाई प्राथमिकता नदिनु, मुठ्ठी भरका ठूटे नेताको स्वार्थ सिद्धिका लागि राजसी ठाँट देखाउनु, उनीहरुको नियती बन्यो । देशमा रोजगारीको व्यवस्था गर्नुको साटो युवावर्गलाई विदेश निर्यात गर्नु नै उनीहरुले साँचो विकास ठाने । सिमित घेरा भन्दा माथी उनीहरू उठ्न सकेनन् । जसको परिणाम हामी जनताले सधै दुःख पिडामा पिल्सिरहनु परेको छ । जेन्जीको नाममा भएको आन्दोलनले नेताको वर्तमान स्थितिलाई उजागर गयो । उनीहरूको सम्पूर्ण कर्तुत को पर्दाफास भयो तापनि अझै उनीहरूमा घमण्ड, अहंकारले झुक्ने काम गरेको छैन ।
आगामी फाल्गुण २१ गते यो अन्तरिम सरकारले चुनावको घोषणा गरेको छ । निर्वाचन आयोग पनि काममा तल्लिन छ तर देशमा पाक्दै गरेको खिचडी देख्दा तोकिएको समयमा चुनाव हुने कुरामा विभिन्न विद्वानहरूको विचार सुन्दा तोकिएको समयमा सम्पन्न हुन्छ, वा हुँदैन, शंका व्यक्त गरेको पाइन्छ । कोही आन्दोलनमा छन् भने कोही चुनावी माहोलमा छन् । नेपाली जनता भेडाबाखा जस्तै म यो पार्टी र त्यो पार्टी भनेर हिँड्छन् । नेता तात्तिनु पर्छ । जनता हैन । हामी जनता नेताको पुच्छर बन्ने हैन, नेता हाम्रो सेवक हो । जनता सर्वोपरी निर्णय हो, शक्ति हो। त्यसैले हामीले आफ्नो मत स्वविवेकले प्रयोग गर्ने कुरा हो । सार्वजनिक गर्ने वस्तु छैन ।
अहिले हरेक गाउँ, टोल, घरमा युट्युवरको चहल पहल देखिन्छ । यु–ट्युबरहरूले सचेतना जगाउनुको साटो भ्रम फैलाईरहेका देखिन्छन् । हामी जनतालाई तपाईको भोट फलाना कि ढिस्कालाई भनेर सोध्छन् । फलानालाई किन ? र ढिस्कालाई किन ? यो सोध्ने अधिकार उनीहरूको नैतिकता भित्र पर्दैन । न्युज र भ्युजको नाममा जनताको गोप्यमत खोस्न पाइन्छ ? आदरणिय जनताहरु भ्रममा नपर्नु होला । यस्ता युट्युवरहरु विभिन्न पार्टी संस्थाबाट सञ्चालित हुन्छन् र चुनावको घडिमा हामीलाई प्रलोभनमा पारेर किन्न सक्छन् । त्यस–कारण हाम्रा शहर बजार, टोल, गल्लीमा आउने त्यस्ता युट्युवर साथीलाई आफ्ना गोप्य कुराहरु नखोल्नुहोला । मत भनेको हाम्रो स्वतन्त्र र गोप्य अधिकार हो । तपाईं, हामी जनता जुनसुकै भाषा, धर्म, संस्कृति रहनसहन भएपनि आखिर नेपाली हौं । त्यसैले यस्ता ब्यक्तिहरु कहाँ, कोबाट, कसरी सञ्चालित छन् । यसमा हामी अनभिज्ञ छौ । तपाई मोबाइल प्रयोग गर्नु हुन्छ । युट्युव हेर्नु हुन्छ । त्यसबाट थाहा हुन्छ की, को व्यक्ति कस्तो प्रकारको हो । कोही विदेशबाट परिचालित, कोही कुन संस्थाको सदस्य, कोही कुनको एजेन्ट आदी । त्यसैले हामीले हाम्रो देश रहे हामी रहन्छौ । हाम्रो भाषा रहे हामी बोल्न पाउँछौ, हाम्रो धर्म रहे हामी मान्न पाउँछौं भन्ने कुरालाई विर्सनु हुदैन । विश्व मानचित्रमा नेपाल सानो देश भए तापनि भाषा, धर्म, संस्कृतिमा हामी विश्वको ठूला देश बराबर छौ । यसमा हामी कतिपनि विचलित हुनु पर्दैन । चुनाव आउँछ । हामी हाम्रा जनभावना बुझ्ने प्रतिनिधी छानौं । त्यसले हाम्रो लागि काम गरोस् नकि स्वार्थको ।
हामीले छान्ने हाम्रो प्रतिनिधी योग्य, कर्मठ, जुझारू, विद्वान, नैतिक र हाम्रो ठाउँमा भिजेको व्यक्ति हुनु जरुरी हुन्छ । विगत–का प्रतिनिधीहरूबार पाठ सिकिसकिएको छ । सबै राम्रा हुन्छन र हाम्रो ठाउँलाई राम्रो बनाउँछन भन्ने कुरामा शंका नै देखिन्छ । त्यसैले हामी कागको पछाडी दर्गुनु भन्दा हाम्रो कान छाम्नु उत्तम हुन्छ । यसकारण जो कोहिले पनि जनतालाई उसको विवेकमा आँच आउने र मनस्थिति खलबलिने गरी यो वा त्यो प्रश्न नगरी स्वतन्त्र बसिदिनु भएमा विवेकशिल जनतालाई आफ्नो विचार वा मत दिन द्विविधा हुने थिएन ।
हामी जनता, जनता हुनु पर्छ । कुनै पार्टीका कार्यकर्ता हैन । हामीले छान्ने नेता हाम्रो हैन, राम्रो हुनुपर्छ । आफ्नो मनले सोचेको बझेको र योग्य व्यक्ति छान्नु होला । अरुको लहैलहैमा लागेर यदि पछुताउनु भन्दा बेलैमा बुद्धि पु¥याउनु बेश हुन्छ ।
हाम्रो देश प्रकृतिको उपहार हो । प्राकृतिक रूपले सुन्दर छ । त्यो सुन्दरतालाई निजी स्वार्थका लागि विगार्न खोजिदै छ। त्यसकारण यो प्राकृतिक सुन्दरतालाई आँच आउने हैन, यस–लाई अझै फुलबुट्टा भरेर हाम्रा भावी सन्ततीका लागि सुन्दर, शान्त, सभ्य र विकसित राष्ट्रको रूपमा विश्वसामु जोगाउन योग्य शिल्पकारको खाँचो छ । योग्य शिल्पकार छान्ने कर्तब्य र दायित्व हामी जनताको हो । सबैमा चेतना भया ।