देश–समाज राष्ट्रिय समाचार स्थानीय

चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिष्पर्धामा

दमक/ फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि मंगलबार एकसाथ उम्मेद्वारी दर्ता गराएका छन् । यस क्रममा धेरै नयाँ अनुहार पनि संसदीय निर्वाचनको मैदानमा देखिएका छन् भने केहि पुरानै पनि दोहोरिएका छन् ।
यस पटकको निर्वाचनमा राजनीतिका केहि माहिर खेलाडीहरु भने मैदानमा देखिएका छैनन् । पूर्वप्रधानमन्त्री मध्येमा केहि पुनः संसदीय अभ्यासमा दोहोरिने ईच्छा सहित मैदानमा आए भने केहिले विश्राम लिए । पूर्व प्रधानमन्त्रीहरुमध्ये कांग्रेसका शेरबहादुर देउवा र नेकपाका झलनाथ खनाल फागुन २१ को चुनावबाट पछि हटेका छन् । एमालेका केपी शर्मा ओली र नेकपाका पुष्पकमल दाहाल प्रचण्ड भने फेरि प्रधानमन्त्री बन्ने दावीका साथ चुनावी प्रतिष्पर्धामा होमिएका छन् । अरू दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि उम्मेदवारी दिएका छन् ।
फागुन २१ को चुनावमा सबैको ध्यान झापा–५ मा केन्द्रित छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएपछि यो क्षेत्रले थप चर्चा पाएको हो । ओलीले यसअघि २०६४ मा बाहेक ६ पटक यसै क्षेत्रबाट चुनाव जिते र ४ पटक प्रधानमन्त्री बने । भदौको जेनजी आन्दोलनमा आक्रोशको निशाना बन्नु र आफ्नो ईच्छा विपरीत विशेष महाधिवेशन अनि आफुले सभापति पद गुमाउनु जस्ता कारणले तर कांग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भने ठूलो धक्का दियो । यसअघि सातपटक चुनाव जितेको ठाउँ डडेलधुराबाटै फेरि उम्मेदवार बन्ने देउवाको इच्छा थियो । तर विशेष महाधिवेशनबाट शक्तिशाली बनेका गगन थापाले सभापतिको कुर्सीसँगै टिकट पनि नदिने भएपछि देउवा पछि हटे । देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव उठ्दै र जित्दै आएको क्षेत्र हो । यसपटक उम्मेदवार बन्न नपाएपछि देउवाको फेरि प्रधानमन्त्री बन्ने बाटो रोकिएको छ भने फेरि प्रधानमन्त्री बन्छु भन्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चाहिँ सुरक्षित क्षेत्र खोज्दै रुकुम पुगेका छन् ।
२०६४ सालमा रोल्पा–२ र काठमाण्डौ–१० को दुईवटै क्षेत्रबाट विजयी भएका प्रचण्डलाई २०७० मा काठमाण्डौ–१० फापेन । सिरहा ५ मा पनि मुश्किलको जित भयो । त्यसपछि २०७४ मा चितवन–३ बाट चुनाव जितेका प्रचण्ड २०७९ मा सुरक्षित क्षेत्र खोज्दै गोरखा–२ मा पुगेका थिए । तर प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठले गोरखा छोडेर अन्यत्रै गएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेरि गोरखा–२ फर्किएका छन् । अघिल्लोपटक प्रचण्डलाई ठाउँ छोडेका भट्टराई यसपालि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपामा सहसंयोजक माधव नेपाल आफ्नो पुरानै क्षेत्र रौतहट–१ पुगेका छन् । २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका नेपालले यसपटक पनि आफ्नै गृहजिल्ला रौतहट पुगेका छन् । इलाम–१ बाट लामो समयदेखि उम्मेदवारी दिंदै आएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०५६ र २०७९ मा पराजित भएका थिए । यसपटक पनि इलाम सुरक्षित नदेखेपछि उनी पछाडि हटेका हुन् । यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने केहि वर्ष देखि सक्रिय राजनीति भन्दा टाढा रहेका छन् ।

Author

You may also like