अर्थ देश–समाज समाचार स्थानीय

दमकमा विकास निर्माणको निरन्तर अनुगमन

दमक । वर्षायाममा रतुवा खोलाको बाढीबाट हुने जोखिम न्यूनीकरण र नागरिकलाई सुरक्षित बनाउन दमक नगरपालिकाले वडा नं. १० मा रतुवा खोलाको डाइभर्सन निर्माणलाई तीव्रता दिएको छ । एसियाली विकास बैंक (एडीबी) को करिब १९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको तटबन्धन आगामी दिनमा दमकलाई खोलाजन्य विपद्को त्रासबाट मुक्त गराउने अपेक्षा गरिएको छ ।


नगरप्रमुख रामकुमार थापाको नेतृत्वमा बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा डाइभर्सन निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख रहेको जानकारी दिइयो । हाल रतुवा खोलाको किनारमा दुई खण्डमा काम भइरहेको छ । एउटा क्षेत्रमा ८ सय मिटर र धरानटोल दक्षिण पाँचथरे क्षेत्रमा ८ सय ७५ मिटर लामो डाइभर्सन निर्माण भइरहेको छ । नगरप्रमुख थापाले बाँकी संरचनासमेत पूरा भएपछि वर्षेनी बाढीको जोखिम झेल्दै आएका स्थानीयले राहत पाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, वडा नं. १० मा नागरिकको अर्को महत्वपूर्ण आवश्यकताका रूपमा रहेको दाहसंस्कार स्थल निर्माणको काम पनि अघि बढाइएको छ । स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको व्यवस्थित अन्त्येष्टि स्थलको अभावलाई सम्बोधन गर्न नगरपालिकाले आवश्यक पूर्वाधार निर्माण गरिरहेको जनाएको छ । यसले मृतकको अन्तिम संस्कारलाई व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ ।


अनुगमनका क्रममा अन्य विकास निर्माणका कामको पनि निरीक्षण गरिएको थियो । सेतुमारी क्षेत्रको बिहीबारे बजार स्तरोन्नति भईरहेको छ । व्यवस्थित बजारका लागि टहराहरु बनाउने, बाटोमा टाइल लगाउनेलगायतका कामहरु धमाधम भईरहेका छन् । स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त क्षेत्रमा छिटफुट रहेका केही बाटाहरु पनि धमाधम बनाउने काम भईरहेको छ । पिपलचोक– स्वामी चोकसम्मको शान्ति टोेलमा १९ सय मिटर बाटो व्यवस्थित ढंगबाट बनिरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सरकारको ३ करोड बजेटमा निर्माण भईरहेको सो बाटोसहित अन्य धेरै बाटाको निर्माण कार्य आर्थिक मन्दीको कारणले निर्माण व्यवसायीले बन्द गरेको वडा अध्यक्ष भण्डारीले सुनाए । मानिसको मृत्यु भईसकेपछि अन्तिम संस्कार गर्ने ठाउँको अभावलाई पुरा गर्न दाहासंस्कार स्थल निर्माण समेत भईरहेको छ ।


यस्तै कोटेश्र ऐतिहासिक शिव मन्दिर जहाँ मन्दिरको पूर्वपट्टि सामूहिक योगदानको भवन निर्माण भईरहेको छ । सुविधासम्पन्न भवन निर्माणका लागि वडा कार्यालयबाट ५ लाख, मेयरको कोषबाट ५ लाख र पुराण लगाएर उठेको रकम २० गरी ३० लाखको लागतमा भवनको निर्माण भईरहेको टोल विकास संस्थाका अध्यक्ष काजीमान थापाले बताए । सो वडामा अझै धेरै संरचना बनिरहेको र समयअभावले फेरी अर्को कुनै दिन अनुगमन हुने नगरप्रमुख थापाले बताए ।

Author

You may also like