अन्तर्राष्ट्रिय देश–समाज समाचार स्थानीय

प्रयागराज महाकुम्भमा भागदौडमा ३० जनाको मृत्यु

प्रयागराज महाकुम्भमा मंगलबार मध्यराति भएको भागदौडपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ। यद्यपि, यो संख्या बढ्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

सरकारले ३० जनाको मृत्यु पुष्टि गरे पनि दैनिक भास्कारका अनुसार ३५ देखि ४० जनाको मृत्यु भएको जनाएको छ। साथै आँकडा बढ्ने क्रममा रहेको छ।

मृतक मध्ये २५ जनाको सनाखत भएको छ भने ९० बढी घाइतेहरुको उपचार भइरहेको छ। बेरिकेड टुटेपछि भागदौड मच्चिएको जनाइएको छ।

भागदौड मंगलबार राती करीब २ बजे तीर संगम तटमा मौनी अमावस्या को अमृत स्नानका लागि पर्खाइ गरिरहेका श्रदालुहरुबीच भएको थियो। अझैपनि यो घटना कसरी र किन भएको थियो भन्ने बारे राज्य सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

भागदौडपछि के–के गरियो?

भारी भिडपछि प्रयागराजमा प्रवेश गर्ने ८ नाकाहरु भदोही, चित्रकुट, कौशांबी, फतेहपुर, प्रतापगढ, जौनपुर, मिजापुर बोर्डर बन्द गरिएको छ।

पुरै मेला क्षेत्रमा अब कुनैपनि प्रकारको सवारी साधन प्रवेश पाउने छैनन्। यसअघि जारी गरीएका सवारी पासहरु रद्द गरिएको छ। अब मेलामा कुनैपनि भिआइपी या कसैको पनि गाडीले प्रवेश पाउने छैन।

त्यस्तै बाटाहरुलाई वान वे गरिएको छ। एक बाटोबाट श्रदालुहरु जान पाउने छन् भने अर्को बाटोबाट निस्कन पाउने छन्।
शहरमा चार पांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। मेला क्षेत्रमा यो व्यवस्था फेब्रुअरी ४ सम्म कायम रहनेछ। भिआइपी आगमन कम गर्ने तथा अमृत स्नान तत्काललाई रोक लगाइएको छ। साथै श्रदालुहरुलाई जुन स्थानमा पायक पर्छ त्यही स्नान गर्नका लागि भनिएको छ।

प्रशासनका अनुसार संगम स्थल सहित ४४ घाटमा बुधबार मध्यरातिसम्ममा ८ देखि १० करोड श्रदालुले डुबुल्की मार्ने अनुमान गरिएको छ। पुरै शरहमा सुरक्षाका लागि ६० हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएको छ।

भागदौडको सभावित कारण के हो

अमृत स्नानका कारण ज्यादातर पाटुन पुल (पानीमा तैरिने अस्थायी पुल, जुन बेलाबेलामा खोल्ने र बन्द गर्ने गरिन्छ) बन्द गरिएको थियो। जसका कारण संगम स्थलमा ठुलो मात्रामा मानिसहरु एकत्रित भएका थिए। यस दौरान श्रदालु रोक्नका लागि राखिएक बेरिकेड्सहरुमा अल्झिएर केही मानिस लडेका थिए। त्यो देखेर मानिसहरु भागदौड गर्न पुगेको हुन सक्ने जनाइएको छ।

त्यस्तै संगम स्थलमा छिर्ने र निस्कने बाटो एउटै भएका कारण मानिसहरु जुनबाटो गए त्यहीबाटो निस्कनु परेको थियो। यस्तोमा भागदौड हुँदा भाग्ने खुल्ला अवसर प्राप्त नहुँदा एक(अर्का माथि मानिसहरु अल्झिन पुग्दा मानिसहरु लड्न पुगे र लडेकाहरुमाथि अरु मानिसहरुले कुल्चिन पुगेका थिए।

Author

You may also like