देश–समाज समाचार स्थानीय

दमक नगरपालिका र मातहतका कार्यालय आजबाट खुल्ने

दमक । जेन जी समूहको आन्दोलनका कारण भाद्र २३ देखि बन्द रहेको दमक नगरपालिका आजबाट सेवा दिने निर्णय गरेको छ ।
ध्वस्त नगरपालिका परिसरमा नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
बैठकले आन्दोलनको क्रममा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी आन्दोलनको नाममा अवान्छित गतिविधि गर्ने नगरपालिक लगायत सरकारी कार्यालय, पार्टी कार्यालय, व्यक्तिका घरहरुमा तोडफोड, आगजनी र लुटपाट गर्ने जो कोही भएपनि पत्ता लगाई कडा कारवाही गर्न नेपाल सरकारसँग अनुरोध समेत बैठकले गरेको छ ।
आजैबाट नगरपालिका, सबै वडाहरु, स्वास्थ्य केन्द्रहरुबाट सम्भव भएसम्मका सेवाहरु उपलब्ध गराउँदै जाने निर्णय भएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय, बाघखोर चौकी, बेलडाँगीको सशस्त्र प्रहरी क्याम्पलाई चाँडो पुनस्र्थापना गराई नगरबासीलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने, सुरक्षाको लागि पूर्ण व्यवस्था नभएसम्म टोल विकास संस्थाले वडा कार्यालयमा समन्वय गरी गस्तिको प्रबन्ध मिलाउने, संक्रमण अवस्थाको अनुचित फाइदा लिन कालोबजारी, कृतिम अभाव देखाएर महँगी नबढाउन सम्बन्धित सबैलाई अनुरोध गर्दै कहिँ कतै त्यस्तो भएको पाइएमा कानुनी कारवाही हुने जानकारी पनि सो बैठकबाटै गराइएको छ ।
दमक नगरपालिकामा तोडफोड, आगजनी र लुटपाटबाट कति नोक्सानी भयो भन्ने कुरा मूल्यमा अन्दाज गर्न गाह्रो पर्दछ । तीन वटा बिल्डिङ पूर्ण रुपमा क्षति, नगरपालिका परिसरमा रहेको वडा नं. १ को कार्यालय भवन, हाकिमको क्वाटर, क्यान्टिनमा आंशिक क्षति भएको छ ।
सवारी साधनहरुमा मेयरले प्रयोग गर्ने गरेको ल्याण्ड क्रुजर, उपमेयर र कार्यकारी अधिकृतले प्रयोग गर्ने गरेका अलग अलग स्कारपियो गाडी, १७ जनासम्म बोक्न सक्ने हाइस गाडी–१, पिकअप स्कारपियो–१, जे.सि.बि.–१, सब वहान–१, एम्बुलेन्स–१ पूर्ण क्षति भएका छन् । आंशिक क्षति हुनेमा टिपर–२, दमकल–३, ट्याक्टर–३, ल्याण्डरोवर–१ रहेका छन् । यस्तै बाइकहरुमा सरकारी–३, प्राइभेट  
(कर्मचारी)–५, पब्लिकका ३ पूर्ण खरानी भएको सई रुद्र कार्कीले बताए ।
भौतिक संरचनाहरु क्रमिक बन्दै जालान् तर नपामा रहेका विभिन्न रेकर्डहरु न बनाएर बनाउन सकिन्छ न खोजेर भेटिन्छ । २०३९ सालदेखिका घर नक्सा एउटै कोठामा खरानी भए । त्यस्तै अन्य महत्वपूर्ण कागजहरु पनि बाँकी रहेका छैनन ।
पुरानो विल्डिङमा भएका स्टोरका सामान सबै ध्वस्त भएका छन् । कम्प्युटर ल्याब, औषधिको स्टोर, सेनेटरी प्याडको कोठा पुरै ध्वस्त छन् । वडा नं. १ कार्यालयको हलमा रहेका कृषिका औजारहरु विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुमा वितरण गर्नका लागि राखिएका ५० भन्दा बढी कम्प्युटर– ६० इन्चका, स्मार्ट बोर्ड –१४, टिभी–१० र ह्वील चेयरहरु जस्ता धेरै सामान थिए । तर आगलागी भएको छैन त्यहाँ आगलागी नभए पनि लुटेर लगिएको आशंका गरिएको छ ।
कर्मचारीका सबै कोठामा भएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि जस्ता कार्यालयका उपयोगी सामानहरुको कुनै नाम निशान छैन । आगोमा जल्यो या लुटेर लगियो । एउटा टिभी भने सोमबार एकजनाले फिर्ता गरेको छ ।
माथि उल्लेखित प्रारम्भिक तथ्याङ्क हो । डिटेल संकलन गर्ने कार्य भईरहेको छ । त्यसबाट अझै ठूलो नोक्सानी भएको पाइने निश्चित छ ।
आजबाट सञ्चालन हुने कार्यका लागि वडा नं. १ कार्यालयको भवन र शिक्षा कार्यालय रहेका भवनसमेत दुई वटा भवनमा कर्मचारी आफैले सरसफाई गर्ने, भत्के, टुटेकालाई मर्मत गर्ने, रंगरोगन समेत गर्ने जिम्मा कर्मचारीले लिएका छन् । यसका लागि कर्मचारीबाटै रकम संकलन गरिएको र ५ सदस्यीय निर्माण समिति गठन गरिएको इन्जिनियर कमल प्रसाद दाहालले बताएका छन् ।

Author

You may also like