दमक/ फागुन २१ नजिकिँदै जाँदा सोमबारदेखि चुनावी माहोलले नयाँ स्वरुप लिएको छ । औपचारिक प्रचार–प्रसार सुरु भएसँगै चोक–चोक, बजार र गाउँ–टोलमा चुनावी गीत घन्किन थालेका छन् । चर्का ध्वनीमा बज्ने पार्टीका गीत, उम्मेद्वारको नाम समेटिएका नारामा लय मिलाउँदै नाच्ने कार्यकर्ताले वातावरण नै चुनावमय बनाएको छ ।
चुनाव लक्षित गीतहरुमा समेत विकासका वाचा, समृद्धिको सपना र परिवर्तनका कुराहरु गरिएको पाईन्छ । मतदाताहरुको ध्यानाकर्षण गराउन चुनावी गीत राजनीतिक दल उम्मेद्वारहरुका सजिला हतियार बनेका छन् । पछिल्लो समयमा ‘एआई’ को प्रयोग गरेर विना खर्च आफुले चाहे जस्तो गीत बनाउन सकिने भएकाले सामािजक सञ्जालमा समेत दल र उम्मेद्वारका बखान गरिएका दर्जनौ गीत भेटिने गरेका छन् । निर्वाचन आयोगले सोमबार देखि दल र उम्मेद्वारहरूले खुला रूपमा सभा, जुलुस, नारा र प्रचार कार्यक्रम सञ्चालनको ढोका खुलाए पछि चुनावी माहोल थप तालिएको हो । यसअघि मतदाता भेटघाट, घरदैलो अभियान र साना छलफलमा सीमित रहेको चुनावी गतिविधि अहिले सार्वजनिक प्रदर्शन र कार्यक्रममार्फत विस्तार भएको छ ।
झापा क्षेत्र नं. ५ मा समेत चुनावी रौनक बढेको छ । यस क्षेत्रमा केपी शर्मा ओली उम्मेद्वारका रूपमा चुनावी मैदानमा छन् । उनी यतिबेला दमक केन्द्रित दोस्रो चरणको मतदाता भेटघाट अभियानमा सक्रिय छन् । विभिन्न वडा र टोलस्तरसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने, विगतका विकास योजनाबारे जानकारी दिने र आगामी योजनाबारे प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । एमालेका स्थानीय नेता–कार्यकर्ताहरू पनि विभिन्न टोल स्तर सम्म संगठित रूपमा प्रचारमा जुटेका छन् ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका बालेन्द्र साह को पार्टी पंक्ति पनि सक्रिय रूपमा प्रचार अभियानमा देखिएको छ । उनले विभिन्न बस्तिमा पुगेर मतदाताहरुसँग कुराकानी गर्दै आफ्ना योजना पनि सुनाएका छन् । यस अघि विभिन्न चरणमा उनले आँफै मतदाताहरुसँग छलफल गरेका छन् भने उनको अनुपस्थितिमा पार्टी पङ्ती घर घरमा पुगेर मतदातालाई भेट र छलफल गर्ने गरेकोे छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार रञ्जित तामाङले आफ्नो ‘भिजन पेपर’ सार्वजनिक गर्दै विकास र रोजगारीका एजेन्डा अघि सारेका छन् । उनले स्थानीय स्तरका आर्थिक गतिविधि विस्तार, पूर्वाधार विकास र सामाजिक सेवामा सुधारलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
नेपाली कांग्रेस की उम्मेद्वार मन्दरा चिमरिया पनि निरन्तर मतदाता भेटघाटमा सक्रिय छिन् । गाउँ–टोलमा प्रत्यक्ष पुगेर स्थानीय समस्या सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रमलाई उनले प्राथमिकता दिएकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी संग्रौला पनि पार्टीका नीति कार्यक्रम बुझाउँदै मतदाताको घर घरमा पुगि रहेका छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीको गतिविधि पनि बाक्लो बनेको छ । यसका उम्मेद्वार समिर औपचारिक…… तामाङलगायत अन्य उम्मेद्वारहरू पनि चुनावी मैदानमा सक्रिय रूपमा देखिएका छन् । विभिन्न राजनीतिक दलहरूले चोक–चोकमा प्रचार सामग्री प्रदर्शन गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, नाचगान र जुलुसमार्फत मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् । औपचारिक प्रचार सुरु भएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक र सघन बन्दै गएको छ । आगामी केही दिनमा ठूला चुनावी सभा, घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम र मतदाता केन्द्रित अन्तरक्रियाहरू अझ बढ्ने अपेक्षा गरिएको छ । चुनाव नजिकिँदै जाँदा दलहरूबीचको प्रतिस्पर्धा मात्र होइन, मतदाताको चासो र सहभागिता पनि उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ । तर चुनावी माहोलसँगै थपिन सक्ने सुरक्षा चुनौती पनि गम्भिर विषयको रुपमा देखिएको छ । झापा क्षेत्र नं. ५ देश भरिकै उच्च सुरक्षा चुनौती र चासो रहेको क्षेत्र मध्येको एक हो ।