दमक । दमक नगरपालिकाले नसर्ने दीर्घरोगको प्राथमिक तहमा रोकथाम, शीघ्र निदान, उपचार तथा व्यवस्थापनका लागि सञ्चालन गर्दै आएको केएचडिसी कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को उपलब्धि, वडागत अवस्था, चुनौती तथा आगामी रणनीतिमाथि शनिबार दमकको नेपाल रिका होटलमा आयोजित समीक्षा बैठकमा छलफल भएको हो ।
नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. सञ्जीवकुमार शर्मा प्रमुख अतिथि तथा प्रा. डा. अनुप घिमिरेलगायत स्वास्थ्य क्षेत्रका विज्ञ सहभागी थिए । बैठकमा तीन वर्षदेखि सञ्चालनमा रहेको कार्यक्रमले हजारौँ नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याए पनि अझै ठूलो जनसंख्या नियमित परीक्षणको दायराभन्दा बाहिर रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।
दमक नगरपालिका, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र दमक अस्पतालको संयुक्त पहल तथा नगरपालिकाको आर्थिक सहयोगमा केएचडिसी कार्यक्रम दमकका १० वटै वडामा सञ्चालन हुँदै आएको छ । यसको मुख्य उद्देश्य पूर्वी नेपालमा मधुमेह, उच्च रक्तचाप, दीर्घ मिर्गौला तथा मुटुसम्बन्धी रोगबारे जनचेतना बढाउनुका साथै जोखिम पहिचान, समयमै निदान, उपचार र व्यवस्थापन गर्नु हो ।
कार्यक्रमअन्तर्गत बिरामी अस्पताल पुगेपछि मात्र उपचार गर्ने परम्पराभन्दा फरक ढंगले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका समुदायमै पुग्ने गरेका छन् । विशेषगरी ४० वर्षमाथिका नागरिक तथा उच्च जोखिममा रहेका व्यक्तिको परीक्षण गरी रोग वा जोखिम पहिचान गरिन्छ । स्वास्थ्य समस्या देखिए सम्बन्धित वडा स्वास्थ्य केन्द्रमा पठाइन्छ । त्यहाँ सम्भव उपचार र परामर्श दिइन्छ भने थप विशेषज्ञ सेवा आवश्यक परे दमक अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरिएको छ ।
१६ हजारभन्दा बढीको परीक्षण
कार्यक्रमको एकीकृत तथ्यांकअनुसार हालसम्म उच्च जोखिम समूहका १६ हजार ३ सय ९० जनाको परीक्षण गरिएको छ । त्यसमध्ये १५ हजार ७ सय ९४ जना पोजिटिभ देखिएका छन् भने ७ हजार ९ सय ५६ जना चिकित्सकको परामर्शमा पुगेका छन् ।
पहिचान भएकामध्ये २ हजार ५ सय ३६ जनामा उच्च रक्तचाप, १ हजार ७ सय ६ जनामा मधुमेह, १ सय ६५ जनामा कोरोनरी मुटुरोग, ५६ जनामा मस्तिष्कघात तथा २ सय ६ जनामा दीर्घ श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी रोग देखिएको छ ।
नगरपालिकाले प्रत्येक स्वास्थ्य संस्थामा सातामा दुईपटक चिकित्सकबाट पहिचान, परामर्श र उपचारको व्यवस्था गरेको जनाएको छ । पाँच स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण सेवा सञ्चालनमा छन् भने अन्य स्वास्थ्य संस्थामा पनि विस्तार गर्ने तयारी छ ।
कार्यक्रमकै विस्तारका रूपमा नगरका ११ स्थानमा सञ्चालन गरिएको विशेष नसर्ने रोग पहिचान अभियानमा २० वर्षमाथिका १ हजार २ सय ७७ जनाको परीक्षण गरिएको थियो । परीक्षणमा २ सय २ जनामा उच्च रक्तचाप, ४ सय १ जनामा मधुमेह, १ सय १५ जनाको पिसाबमा प्रोटिन र ८ सय ५२ जनामा मोटोपन देखिएको थियो । उनीहरूलाई आवश्यक परामर्श तथा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको थियो ।
वडा ३ मा जोखिम बढी
वडागत तथ्यांकमा वडा नम्बर ३ मा उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या सबैभन्दा बढी देखिएको छ । त्यहाँ ३ सय ९१ उच्च रक्तचाप र २ सय ६७ मधुमेहका बिरामी पहिचान भएका छन् ।
वडा ४ मा ३ सय ४५ उच्च रक्तचाप र २ सय २ मधुमेह, वडा ८ मा ३ सय २३ उच्च रक्तचाप र २ सय ३६ मधुमेह तथा वडा ९ मा ३ सय १४ उच्च रक्तचाप र २ सय २५ मधुमेहका बिरामी छन् ।
वडा १ मा २ सय ३८ उच्च रक्तचाप र १ सय ५६ मधुमेह, वडा २ मा २ सय ८२ र १ सय ४९ तथा वडा ५ मा २ सय ६७ र १ सय ७१ जना छन् । वडा ६ मा ८० उच्च रक्तचाप र ८१ मधुमेह, वडा ७ मा १ सय ५२ र १ सय ४ तथा वडा १० मा १ सय ४४ र १ सय १५ जना पहिचान भएका छन् ।
कार्यक्रमले शारीरिक रोगसँगै मानसिक स्वास्थ्यलाई पनि समेटेको छ । स्वास्थ्यकर्मीलाई तालिम दिएर वडाबाटै मानसिक रोगी पहिचान, उपचार तथा प्रेषण सुरु गरिएको छ । ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गका अपाङ्गता भएका ४ सय २९ जनालाई तीन–तीन महिनामा घरदैलो स्वास्थ्य सेवा दिइँदै आएको छ ।
पहुँच विस्तार मुख्य चुनौती
नेपालमा हुने कुल मृत्युमध्ये करिब ७१ प्रतिशत नसर्ने दीर्घरोगका कारण हुने तथ्यांक छ । मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ श्वासप्रश्वास, क्यान्सर र मधुमेह प्रमुख मृत्युका कारण मानिन्छन् ।
विगतका अनुभवले कार्यक्रम प्रभावकारी देखिए पनि अझै ठूलो जनसंख्या परीक्षणको पहुँचबाहिर रहेकाले आगामी दिनमा सेवा विस्तार गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । भौगोलिक अवस्थाका कारण कतिपय नागरिक स्वास्थ्य संस्थासम्म पुग्न नसकेको भन्दै समुदायमै पुगेर परीक्षण गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने नगरप्रमुख थापाले बताए ।
उनका अनुसार अब कार्यक्रमलाई परिमार्जन गरी सबै वडाका नागरिकलाई परीक्षणको पहुँचमा ल्याउने र आफ्नो स्वास्थ्य अवस्था थाहा पाएर ढुक्कसँग जीवनयापन गर्ने आधार तयार गर्नुपर्ने उनको जिकिर छ ।
समीक्षा बैठकमा कार्यक्रमसँग जोडिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा सञ्चालनका क्रममा देखिएका समस्या, बिरामीको अवस्था र आगामी रणनीतिबारे अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद शाह, वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, सामाजिक विकास शाखा प्रमुख केशव प्रसाई, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था इन्चार्ज तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो । कार्यक्रम स्वास्थ्य शाखाका अग्निप्रसाद चौलागाईले सञ्चालन गरेका थिए ।