दमक/ जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएर प्रयोगविहीनजस्तै बनेको दमक नगरपालिकाको पूर्वतर्फको मुख्य प्रशासनिक भवन अब नयाँ स्वरूपमा पुनर्निर्माण हुने भएको छ ।
नगरपालिकाले करिब १० करोड रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गरी नयाँ प्रशासनिक भवन निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।
नगरप्रमुख रामकुमार थापाका अनुसार भवनको नयाँ डिजाइन तयार भइसकेको छ भने ठेक्का प्रक्रियासमेत अघि बढाइएको छ । नगरपालिकाले नयाँ भवनलाई आधुनिक, सुरक्षित, प्रविधिमैत्री र नागरिकलाई सहज सेवा उपलब्ध गराउन सक्ने गरी निर्माण गर्ने तयारी गरेको छ । निर्माण सुरु भएपछि करिब दुई वर्षभित्र भवन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भवन नवनिर्माण नभई पुननिर्माण हुने बताए । उनका अनुसार करिब २५ प्रतिशत भाग काम लाग्दै प्राविधिकहरुको निस्कर्ष रहेकोले ७५ प्रतिशत संरचना भत्काएर पुननिर्माण हुने बताए ।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमक नगरपालिकाका विभिन्न भौतिक संरचना तथा सामग्रीमा क्षति पुगेको थियो । नगरपालिकाले गरेको प्रारम्भिक मूल्यांकन अनुसार नगरपालिकाको कुल क्षति करिब २४ करोड रुपैयाँ बराबर रहेको थियो । त्यसमध्ये पूर्वतर्फको मुख्य प्रशासनिक भवनमा भएको क्षति गम्भीर रहेकाले सामान्य मर्मतभन्दा पुनर्निर्माण नै उपयुक्त हुने निष्कर्ष निकालिएको नगरप्रमुख थापाले बताए ।
खण्डहर बनेको भवनको ठाउ“मा नया“ संरचना
आन्दोलनपछि आगजनी र तोडफोडका कारण भवनका विभिन्न भागमा क्षति पुगेको थियो । कार्यालयका सामग्री, फर्निचर तथा अन्य संरचना जलेर वा बिग्रिएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेका थिए। त्यसपछि नगरपालिकाको प्रशासनिक कामकाज वैकल्पिक स्थान तथा उपलब्ध संरचनाबाट सञ्चालन हुँदै आएको छ । नगरपालिकाले अब पुरानो संरचनालाई सामान्य रूपमा मर्मत गरेर सञ्चालन गर्नुको सट्टा दीर्घकालीन आवश्यकता सम्बोधन हुने गरी नयाँ भवन पुननिर्माण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित डिजाइनअनुसार नयाँ भवनमा प्रशासनिक सेवा
सञ्चालनका लागि आवश्यक कार्यालय कक्ष, सेवाग्राहीका लागि सहज आवागमन, प्रविधिको प्रयोग तथा आधुनिक कार्यालय व्यवस्थापनलाई प्राथमिकता दिइएको पनि नगरप्रमुखले बताए । भवन निर्माणसँगै नगरपालिकाका विभिन्न शाखा र सेवाहरूलाई एउटै व्यवस्थित संरचनाभित्रबाट सञ्चालन गर्न सहज हुने अपेक्षा नगरप्रमुख थापाको छ । नयाँ भवन केवल पुरानो संरचनाको विकल्प नभई नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिने प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्य रहेको थापाले बताए ।
दमकको नगर विकासस“ग जोडिएको प्रशासनिक इतिहास
दमकको प्रशासनिक संरचना पछिल्लो समय मात्रै विकसित भएको भने होइन । दमक नगरपालिका स्वयंको इतिहास लामो छ । नगरपालिकाको आधिकारिक विवरणअनुसार दमक वि.सं. २०३९ सालमा तत्कालीन नगर पञ्चायतका रूपमा स्थापना भएको हो । त्यतिबेला नगरको क्षेत्रफल ७५१३ हेक्टर रहेको थियो ।
पछि स्थानीय तह पुनर्संरचनासँगै दमकको प्रशासनिक संरचनामा पनि परिवर्तन भयो । साविकका १९ वटा वडा पुनर्संरचनापछि १० वडामा कायम भएका छन् । नेपाल सरकारले २०७३ फागुन २७ गते गरेको स्थानीय तह पुनर्संरचनापछि अहिले दमक नगरपालिका १० वडामा विभाजित छ । नगरपालिकाको क्षेत्रफल हाल ७५.८५ वर्ग किलोमिटर रहेको आधिकारिक विवरणमा उल्लेख छ । यसरी हेर्दा अहिले पुनर्निर्माण गर्न लागिएको प्रशासनिक भवन केवल एउटा कार्यालय भवन मात्रै होइन, दमकको स्थानीय प्रशासनको लामो यात्रासँग जोडिएको भौतिक संरचना पनि हो ।
पुरानो भवनको मूल्यभन्दा सेवा संरचना महत्वपूर्ण
नगरपालिकाले पुरानो प्रशासनिक भवनलाई पुनर्निर्माणको प्रक्रियामा लैजानुअघि पुरानो संरचनाको व्यवस्थापनसम्बन्धी प्रक्रिया बढाएको थियो । नगरपालिकाले आधिकारिक वेबसाइटमा पुरानो प्रशासनिक भवनका जिन्सी सामानबाहेकको लिलामीसम्बन्धी गरिएका सूचना दस्तावेजीकरण देखिन्छ ।
यसले पुरानो संरचनाबाट नयाँ प्रशासनिक पूर्वाधारतर्फ जाने प्रक्रिया औपचारिक रूपमा अघि बढेको संकेत पनि गरेको छ । तर नयाँ भवन निर्माणसँगै नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती लागत, गुणस्तर र समयसीमा हुनेछ । करिब १० करोड रुपैयाँको लगानीमा निर्माण हुने संरचना निर्धारित समयमै सम्पन्न हुनुका साथै अनुमानित लागतभित्रै गुणस्तरीय निर्माण हुनुपर्ने स्थानीय नागरिकको अपेक्षा छ ।
भवन मात्रै होइन, सेवा प्रवाहको केन्द्र
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले प्रशासनिक भवनलाई केवल कर्मचारी बस्ने कार्यालयका रूपमा हेर्न नहुने स्थानीय सरोकारवालाको धारणा छ । नागरिकले कर तिर्ने, सिफारिस लिने, घटना दर्ता गर्ने, सामाजिक सुरक्षा तथा विभिन्न प्रशासनिक सेवा लिन आउने ठाउँ भएकाले भवनको डिजाइन पनि सेवाग्राहीमैत्री हुनुपर्नेमा नजरपालिका सचेत र सजग रहेको प्रतिक्रिया थापाको छ ।
नयाँ भवनमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सहज हुने पहुँच, डिजिटल सेवा, सूचना तथा सहायता कक्ष, व्यवस्थित प्रतीक्षालय, पार्किङ र सुरक्षित आपत्कालीन निकासजस्ता पक्षलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।
दमक नगरपालिकाले आफूलाई ‘औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर’ बनाउने लक्ष्य अघि सारेको छ । यस्तो लक्ष्य पूरा गर्न आधुनिक र व्यवस्थित प्रशासनिक पूर्वाधार पनि आवश्यक हुन्छ ।
२४ करोडको क्षतिबाट १० करोडको पुनर्निर्माणसम्म
जेनजी आन्दोलनबाट नगरपालिकाले व्यहोरेको करिब २४ करोड रुपैयाँ बराबरको क्षतिको मूल्यांकनमा एउटा भवनको पुनर्निर्माणका लागि मात्रै करिब १० करोड रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ । यसले सार्वजनिक सम्पत्तिमा हुने क्षतिको आर्थिक भार अन्ततः राज्य र नागरिकमै पर्ने तथ्यसमेत उजागर गरेको छ ।
अब बन्ने भवनले विगतको क्षतिको निशान मेटाउने मात्र होइन, भविष्यमा नगरपालिकाको प्रशासनिक आवश्यकता धान्ने दीर्घकालीन संरचना बन्नुपर्ने चुनौती छ ।
अब यसको सफलता भनेको आकर्षक भवन निर्माणमा मात्र सीमित नरही भवन समयमै बन्ने, लागत पारदर्शी हुने, निर्माण गुणस्तरीय हुने र त्यसबाट नागरिकले वास्तवमै छिटो तथा सहज सेवा पाउने अवस्था सिर्जना हुन्छ कि हुँदैन—त्यसैले पुनर्निर्माणको वास्तविक मूल्यांकन गर्नेछ ।